मोरङका उद्योगी व्यवसायी भन्छन्- 'राजनीतिक अस्थिरता र अनिश्चित नीतिले आर्थिक वृद्धिमा बाधा'

जेष्ठ २, २०८२

कान्तिपुर संवाददाता

Morang's businessmen say - 'Political instability and uncertain policies hinder economic growth'

विराटनगर — नेपालमा उद्योग र व्यवसाय क्षेत्र अझै पनि संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको मोरङका उद्योगी व्यवसायीहरूले बताएका छन् । पछिल्ला समय निजी क्षेत्रको मनोबल अझै बढ्न नसकेको र राजनीतिक अस्थिरता तथा अनिश्चित नीतिले आर्थिक वृद्धिमा बाधा पुर्‍याएको उनीहरुको भनाइ छ ।

विराटनगरकै पुरानो मोरङ उद्योग व्यापार संघको ६८औं वार्षिक साधारण सभा शुक्रबार विराटनगरमा बोल्दै उद्योगी व्यवसायीले  बारम्बार सरकार परिवर्तन भइरहने उपक्रमले नीतिगत निरन्तरता कायम हुन सकेको बताए । ‘एउटा सरकारले बजेट विनियोजन गरे पनि कार्यान्वयनको समयमा अर्को सरकारले पदभार सम्हाल्ने परिपाटीले नीति कार्यान्वयन प्रभावकारी हुन सकेको छैन,’ मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले भने । 

राठीका अनुसार पछिल्ला तीन दशकमा सुशासनको अभाव मुलुकको प्रमुख समस्याका रूपमा देखापरेको छ । उनले थपे, ‘नेपालमा आजकाल जलवायुभन्दा बढी ‘भ्रष्टवायु’ को अनुभूति हुन्छ ।’ विद्युत आपूर्ति अनियमित र अपर्याप्त हुँदा धेरै उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन नसकेका उनीहरुको साझा दुखेसो थियो । 

खुला सिमानाबाट भइरहेको अवैध कारोबारले पनि नेपालको अर्थतन्त्र कमजोर बनाएको उद्योगीहरू बताएका छन् । भारतको सीमावर्ती बजारमा दैनिक उपभोग्य वस्तुमा शून्यदेखि १२ प्रतिशतसम्म मात्र कर लाग्ने भए पनि नेपालमा त्यस्ता वस्तुमा भ्याटसहित ३० प्रतिशतभन्दा बढी कर लाग्ने गरेको व्यवसायीहरूको गुनासो छ । उनीहरूले नेपाल सरकारलाई कर दर पुनरावलोकन गरी अवैध कारोबार निरुत्साहित गर्ने नीति ल्याउन आग्रह गरेका छन् ।

नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष पवन कुमार शारडाले भने, ‘सीमापारिको बजार गुल्जार र नेपाली बजार सुनसान हुनु राज्यको असफलता हो ।’ 

संघका अध्यक्ष राकेश सुरानाले विद्युत् आपूर्ति अभावले उद्योग चलाउन मुस्किल भएको बताए । ‘डिमान्ड शुल्कको नाममा ठगी भइरहेको छ, आपूर्ति गर्न नसकिएको अवस्था विद्यमान छ,’ उनले चेतावनी दिए, ‘विद्युतको समस्या सुधार नभए आन्दोलनमा उत्रन बाध्य हुनेछौं ।’

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोकुल श्रेष्ठ, नेपाल उद्योग परिसंघका उपाध्यक्ष भीम घिमिरे, उद्योगी नवीन रिजाललगायत उद्योगी व्यवसायीहरूले पनि निर्यात प्रवर्द्धन, कर प्रणाली सुधार, स्वदेशी पुँजी लगानीको वातावरण निर्माण लगायत विषयमा सुझाव प्रस्तुत गरे । 

कान्तिपुर

Link copied successfully