तीन पटक म्याद थप्दा पनि सकिएन बिजुलीको तार भूमिगत गर्ने काम

भूमिगत तारसम्बन्धी सामग्रीको भन्सार पास गर्न समस्या, सडक विभागबाट अनुमति नपाउने र अन्तरनिकाय समन्वय अभाव हुँदा काममा ढिलाइ

जेष्ठ २, २०८२

कान्तिपुर संवाददाता

Even after extending the deadline three times, the work of undergrounding the electric wires was not completed

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले २०७६ फागुनबाट सुरु गरेको काठमाडौं उपत्यकामा विद्युत् तार भूमिगत गर्ने काम पटकपटक म्याद थप्दा पनि सकिएको छैन । आयोजना निर्माण सक्न पटक–पटक म्याद थप गर्नुपर्ने अवस्था अन्त्य गर्न महालेखा परीक्षकको ६२ औं प्रतिवेदनले सुझाएको छ । म्याद थप्नुपर्ने अवस्थाको अन्त्य गरी निर्धारित समय र लागतमा आयोजना सम्पन्न गर्न महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

काठमाडौं उपत्यका पूर्व तथा दक्षिण वितरण प्रणाली सुदृढीकरण आयोजनाको तीन पटक र काठमाडौं उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाको तीन पटक म्याद थपिएको प्रतिवेदनमा उल्लेख छ । ललितपुर–भक्तपुर वितरण प्रणाली सुदृढीकरण आयोजना र काठमाडौं उपत्यका पश्चिम वितरण प्रणाली सुदृढीकरण आयोजनाको एकएक पटक म्याद थपिएको छ । काठमाडौं उपत्यका पश्चिम वितरण प्रणालीको काम नसकिएपछि दोस्रो पटक म्याद थपको प्रक्रियामा रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

सडक विभागले असार, साउन र भदौमा नयाँ ठाउँमा खन्न नदिने हुँदा बर्खायाममा विद्युत् तार भूमिगत गर्ने कामसमेत गर्न नपाइने प्राधिकरणले जनाएको छ । भूमिगत तारसम्बन्धी सामग्रीको भन्सार पास गर्न समस्या, सडक विभागबाट अनुमति नपाउने र अन्तरनिकाय समन्वय अभाव हुँदा काममा ढिलाइ भएको प्राधिकरणका प्रवक्ता राजभाइ शिल्पकारले बताए । 

Even after extending the deadline three times, the work of undergrounding the electric wires was not completed

काठमाडौं, भक्तपुर, ललितपुरमा मात्रै चारवटा आयोजनामार्फत विद्युत् तार भूमिगत गर्ने काम भइरहेको छ  । कुल ३ अर्ब ५८ करोड ६३ लाख रुपैयाँमा ४ वटा आयोजना ठेक्का लगाइएको छ । २०८१ फागुनसम्म १ अर्ब ७९ करोड ४ लाख रुपैयाँ खर्च भइसकेको महालेखाले जनाएको छ । 

विद्युत् वितरण प्रणालीसँगै इन्टरनेट, टेलिफोन, केबल टेलिभिजन लाइन तथा अप्टिकल फाइबरलगायत संरचनालाई भूमिगत गर्ने काम प्राधिकरणले पाएको छ । यी संरचनालाई अत्याधुनिक र प्रविधिमैत्री बनाएर विद्युत् पोल हटाउने प्राधिकरणको योजना हो । प्राधिकरणले काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत, सुदृढीकरण र स्वचालित बनाउन पहिलो चरणमा काठमाडौंको रत्नपार्क र महाराजगन्ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा काम सुरु गरेको थियो । दोस्रो चरणमा काठमाडौंको बाँकी स्थान, तेस्रो चरणमा ललितपुर तथा भक्तपुरको सहरी क्षेत्रको वितरण प्रणालीलाई भूमिगत, सुदृढीकरण र स्वचालित गर्ने काम सुरु गरेको थियो ।

काठमाडौं उपत्यका पूर्व तथा दक्षिण वितरण प्रणाली सुदृढीकरण आयोजनाको ८१.१२ र काठमाडौं उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाको ७६.३८ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । ललितपुर–भक्तपुर वितरण प्रणाली सुदृढीकरण आयोजना र काठमाडौं उपत्यका पश्चिम वितरण प्रणाली सुदृढीकरण आयोजनाको क्रमशः ४६.५१ र ८०.८८ प्रतिशत भौतिक प्रगति भएको छ । 

प्राधिकरणका अनुसार ३३ तथा ११ हजार भोल्टेज र ४ सय भोल्टेजको भूमिगत लाइन निर्माणका साथै अप्टिकल फाइबर पनि बिछ्याइनेछ । यसबाट विद्युत्, टेलिफोन, इन्टरनेट सेवा प्रदायकको गुजुल्टिएको तारले कुरूप बनेको सहरको कुरूपताको अन्त्य भई सौन्दर्य थपिने प्राधिकरणले बताएको छ । हाल भइरहेको ओभरहेड वितरण प्रणालीभन्दा भूमिगत प्रणाली सुरक्षित हुने र सहरलाई कुरूप बनाइरहेको तारको जालो हटी सौन्दर्य कायम राख्न सकिने प्राधिकरणले जनाएको छ । 

भूमिगत काम गर्दा सडकमा न्यूनतम क्षति हुने प्रविधि प्रयोग गरिएको छ । सडकमा सवारीसाधनको आवागमन र पैदलयात्रीलाई असर नपर्ने गरी राति काम गर्ने व्यवस्था गरिएको छ । सडक खन्दा निक्लिएको धूलोबाट नागरिकलाई असर पर्न नदिन न्यूनीकरणका उचित व्यवस्था गरिएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully