प्राविधिक समस्याले हिजो बिजुली अवरुद्ध भयो, फेरि लोडसेडिङ हुँदैन : प्राधिकरण

जेष्ठ २, २०८२

कान्तिपुर संवाददाता

Power outage yesterday due to technical problem, no load shedding again: Authority

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले ४ सय केभी ढल्केबर–मुजफ्‌फरपुर प्रसारणलाइनको दुवै सर्किटमा समस्या आउँदा बिहीबार साँझ बिजुली अवरुद्ध भए पनि लोडसेडिङ सुरु नभएको जनाएको छ । प्राधिकरणले शुक्रबार विद्युत् प्रणाली सञ्‍चालन विभागमा पत्रकार सम्मेलन गरेर प्राविधिक कारण भएको र नेपालमा पुनः लोडसेडिङ सुरु नहुने जनाएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले इन्भर्टर र मैनबत्तीको दिन आए भन्दै सामाजिक सञ्जालमा अभिव्यक्त भनाइमा कत्ति पनि सत्यता नरहेको बताए ।

‘मौसमजन्य गतिविधिका कारण विद्युतीय संरचनामा भएको क्षति तथा विविध प्राविधिक समस्याका कारण सिर्जना भएको प्रतिकूल अवस्थालाई लोडसेडिङसँग जोडी ‘अब इन्भर्टर र मैनबत्तीको दिन आए’ भन्दै सामाजिक सञ्‍जालमा अभिव्यक्त भनाइमा कत्ति पनि सत्यता नरहेको र अब नेपालमा पुनः लोडसेडिङ सुरु हुने दिन आउँदै नआउने व्यहोरा आम उपभोक्तालाई जानकारी गराउँदछौँ,’ विज्ञप्तिमा उल्लेख छ ।प्रधिकरणका अनुसार बिहीबार साँझ ५ः३५ देखि ८ बजेसम्म देशको अधिकांश स्थानको विद्युत् आपूर्तिमा समस्या भएको थियो । हावाहुरीका कारण ढल्केबर–मुजफ‍‍्‌फरपुर ४०० केभी डबल सर्किट लाइनको दुवै सर्किटमा एक साथ समस्या आउँदा नेपालमा उक्त लाइनमार्फत आपूर्ति हुँदै आएको विद्युत् अवरुद्ध हुन पुगेको प्राधिकरणले जनाएको छ ।

‘दुवै सर्किटमा आएको समस्या तत्काल समाधान नभएकोले नेपालको मात्र प्रणाली सञ्चालन गरि विद्युत आपूर्ति व्यवस्था मिलाउन प्रयास गरिएको तर बेलुकाको समयमा बढेर आएको विद्युत् लोडको कारण स्थिर आपूर्ति व्यवस्था मिलाउने प्रयास असफल भएको थियो,’ विज्ञप्तिमा उल्लेख छ ।

रक्सौल– परवानीपुर, मनैया– सम्पतिया, कुशहवा– कटैया १३२ केभी प्रसारलाइनमार्फत नेपालतर्फको विद्युत् गृहहरु सञ्चालन गरि आपुर्ति व्यवस्था मिलाउन प्रयास गरिएको प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले बताए । ‘बेलुकाको समयमा अत्यधिक माग रहेको तर त्यसको तुलनामा नेपाल तर्फ न्यून उत्पादनका कारण सिस्टम स्टेबल नभई बिजुली ट्रिपिङ भइरहँदा विद्युत् प्रणाली सञ्चालन गर्न सकिएन,’ शाक्यले भने ।

बेलुका ८ बजेर ८ मिनेटमा मा ढल्केवर–मुजफ्‌फरपुर ४०० केभी लाइनको समस्या समाधान भएको र लाइनको सर्किट–२ सञ्चालनमा आएपछि क्रमिक रूपमा देशभर विद्युत् आपूर्ति सहज भएको प्राधिकरणले जनाएको छ । ‘ढल्केवर पश्चिमको १३२ तथा अन्य १३२, ३३ र ११ केभी लाइनहरूमा समेत रुखहरू ढली पोल तथा कन्डक्टरमा क्षति पुर्‍याएको कारण सबै क्षेत्रमा एकै समयमा विद्युत् आपूर्ति गर्न सकिएको थिएन,’ विज्ञप्तिमा उल्लेख छ ।

विद्युत् प्रणालीमा समय समयमा देखिने प्राविधिक समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न प्राधिकरण प्रतिबद्ध रहेको जनाएको छ । आगामी दिनमा यस्ता समस्या नदोहोरिन तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाई काम गरिने समेत प्राधिकरणले जनाएको छ ।

कान्तिपुर

Link copied successfully