नेप्से परिसूचक र कारोबार दुवै घट्यो

शून्य दशमलव ५३ प्रतिशतले घटेर नेप्से बुधबार २ हजार ६ सय २० दशमलव २७ बिन्दुमा सीमित 

जेष्ठ १, २०८२

कान्तिपुर संवाददाता

Both the NEPSE index and turnover fell

काठमाडौँ — सेयर कारोबारको गिरावटले बुधबार पनि निरन्तरता पाएको छ । यस दिन नेप्से परिसूचक १३.९६ अंकले घटेको छ । शून्य दशमलव ५३ प्रतिशतले घटेर नेप्से २ हजार ६ सय २० दशमलव २७ बिन्दुमा ओर्लिएको छ ।

 निरन्तर चार कारोबार दिनयता नेप्से घटिरहेको छ । नेप्से गत बिहीबार १२.०४, आइतबार १२.५३ र मंगलबार १४.८७ अंकले घटेको थियो ।

बुधबार कुल ६२ कम्पनीको सेयर मूल्य बढ्यो भने १८३ कम्पनीको घट्यो, एक कम्पनीको मूल्य स्थिर रह्यो । कुल १ लाख १२ हजार ५ सय ७७ पटकको सेयर किनबेचबाट ८ अर्ब ७३ करोड ६५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बुधबार कारोबार रकम पनि घटेको छ । मंगलबार भने ९ अर्ब ६३ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

बुधबार कुल १ करोड ८४ लाख ९६ हजार १३८ कित्ता सेयर किनबेच भयो । कुल १३ उपसमूहमध्ये विकास बैंक र अन्य उपसमूहबाहेक सबै उपसमूह घटे । विकास बैंक ६५.०५ र अन्य ५५.१२ अंकले बढेको छ ।

घट्ने उपसमूहहरूमा नै जीवन बिमा, होटल तथा पर्यटन, निर्जीवन बिमा, उत्पादन तथा प्रशोधनलगायत रहे । जीवन बिमा ११६.८४, होटल तथा पर्यटन १०३.३९, निर्जीवन बिमा १७४.८३, उत्पादन तथा प्रशोधन ६६.८८ र जलविद्युत् ६९.५१ अंकले घटेको छ । 

ओम मेगाश्री फर्मास्युटिकल्स ९.९८, पिपुल्स पावरको ७.८८, उपकार लघुवित्तको ६.३१, नेपाल रि–इन्स्योरेन्स कम्पनीको ५.६६ र लुम्बिनी विकास बैंकको ४.१५ प्रतिशतले सेयर मूल्य बढेको छ । 

गुराँस लघुवित्तको ९.९८, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको ९.७१, बाराही हाइड्रोपावरको ९.२६, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको ७.५५ र बुटवल पावर कम्पनीको ६.१२ प्रतिशतले सेयर मूल्य घटेको छ । 

कारोबार रकमका आधारमा राधी विद्युत् कम्पनी, युनिभर्सल पावर कम्पनी, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स, ङादी ग्रुप पावर र लुम्बिनी विकास बैंक अघि रहे । राधी विद्युत् कम्पनीको ५९ करोड ३२ लाख ९५ हजार, युनिभर्सल पावर कम्पनीको ५१ करोड ४९ लाख १६ हजार, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको ५१ करोड ३२ लाख ६८ हजार, ङादी ग्रुप पावरको ४८ करोड ५१ लाख ७७ हजार र लुम्बिनी विकास बैंकको ३५ करोड ४१ लाख ७२ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully