काठमाडौँ — महालेखा परीक्षकको कार्यालयले वैदेशिक रोजगार कल्याणकारी कोष ऐनविपरीत सवारीसाधन खरिद, भ्रमण खर्च, मेला तथा नियोगहरूमा कर्मचारी नियुक्त गरी ४ करोड १२ लाख ९ हजार रुपैयाँ खर्च गरेको जनाएको छ । यो कोष श्रमिक र म्यानपावर व्यवसायीको रकम जम्मा हुन्छ ।
आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षकको प्रतिवेदनअनुसार नियमावलीमा व्यवस्था गरेको शीर्षक बाहिर गई खर्च गरेको प्रतिवेदनमा औंल्याइएको छ ।
प्रतिवेदनअनुसार कोषको रकमबाट नेपाली राजदूतावास अबुधाबीलाई वैदेशिक रोजगार मेला व्यवस्थापन र वैदेशिक रोजगार व्यवसायी तथा संघ संगठनका प्रतिनिधिहरूको भ्रमण खर्चसमेतका लागि ३३ लाख १६ हजार, रोजगार मेलामा सहभागी पदाधिकारी / कर्मचारीको भ्रमण खर्चमा १८ लाख २७ हजार, दुई थान विद्युतीय कार खरिद गर्न ७९ लाख ४० हजार, तीन दूतावासका सवारीसाधन मर्मतमा २३ लाख ९८ हजार तथा नियोगमा कर्मचारी नियुक्त गरी २ करोड ५७ लाख २८ हजार रुपैयाँ खर्च गरेको छ । यसलाई ऐनविपरीत खर्च गरेको भनिएको छ ।
त्यस्तै वैदेशिक रोजगार व्यवसाय कोषबाट नियमावलीविपरीत गई साधन खरिदमा ५२ लाख ९९ हजार, मन्त्रालयको विविध खर्चमा १२ लाख १३ हजार र ७ कर्मचारीको वैदेशिक भ्रमणमा २२ लाख ८८ हजार खर्च गरेको प्रतिवेदनमा उल्लेख छ । यो कोष म्यानपावर कम्पनीको धरौटी रकमको नब्बे प्रतिशत मुद्दती खातामा लगानी गरी प्राप्त हुने ब्याजको २५ प्रतिशत रकम जम्मा हुन्छ । जुन वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार व्यवसाय कोषमा जम्मा गरिरहेको छ ।
प्रतिवेदनले ब्यवसाय कोषबाट म्यानपावर कम्पनीको क्षमता व्यावसायिक अभिवृद्धि तथा कल्याणकारी कार्य वा वैदेशिक रोजगार सम्बन्धी अध्ययन अनुसन्धानको काममा उपयोग गर्नुपर्ने जनाएको छ । यो कोषमा ५ करोड १५ लाख ८७ हजार जम्मा गरेको छ ।
