जलविद्युत्‌मा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई इप्पान अध्यक्ष कार्कीको आग्रह

वैशाख ३१, २०८२

कान्तिपुर संवाददाता

IPPAN President Karki urges French investors to invest in hydropower

काठमाडौँ — स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई आग्रह गरेका छन्।

फ्रान्सको राजधानी पेरिसमा आयोजित फ्रान्स-नेपाल जलविद्युत् लगानी सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष कार्कीले दक्षिण एसियामा बढिरहेको ऊर्जाको माग पूरा गर्न नेपालको जलविद्युत्‌को महत्वपूर्ण भूमिका रहने भएकाले बजारको चिन्ता नगरी नेपालमा लगानी गर्न आग्रह गरेका थिए।

सन् १९९९ अघि नेपालको कुल विद्युत् उत्पादन क्षमता २५० मेगावाट रहेकोमा निजी क्षेत्रको प्रवेशपछि २५ वर्षमै नेपालले ३५ सय मेगावाट विद्युत् उत्पादन क्षमतामा पुर्‍याएको जानकारी उनले गराएका थिए। सो कुल क्षमतामा निजी क्षेत्रको योगदान ८० प्रतिशत अर्थात् २८०० मेगावाट रहेको उल्लेख गरिएको थियो।

नेपालले प्राप्त गरेको सो उपलब्धिमा फ्रान्सको साथ र सहयोग रहेको स्मरण गराउँदै उनले द्विपक्षीय सम्बन्ध, वित्तीय उपकरण, प्राविधिक सहयोग र संस्थागत विकासमा नेपाल र फ्रान्सबीच सहकार्य भइरहेको पनि बताएका थिए।

साझेदारीले दिगो, समावेशी र जलवायु प्रतिरोधी ऊर्जा विकासप्रति नेपाल र फ्रान्सको साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गरिरहेको उल्लेख गरिएको थियो।

त्रिशूली नदीमा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनमा फ्रान्सले दिएको सहयोगको पनि उनले स्मरण गराएका थिए।

सो परियोजनाका लागि फ्रान्सले अन्तर्राष्ट्रिय वित्त निगमसँग मिलेर ४५३ मिलियन अमेरिकी डलर ऋण उपलब्ध गराएको जानकारी दिइएको थियो। सो परियोजनाबाट नेपालको विद्युत् आपूर्तिमा उल्लेखनीय सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

सन् २०२५ मा फ्रेन्च दूतावास, नेपाल विद्युत् प्राधिकरण र ब्लू वाटर इन्टेलिजेन्सबीच सहकार्यमा सुरु गरिएको हाइड्रो नेपाल परियोजनाले आर्टिफिसियल इन्टेलिजेन्समा आधारित उपकरणहरू प्रयोग गरी नदी बेसिनहरूलाई डिजिटल बनाउने र जलवायुगत पूर्वानुमान क्षमतामा सुधार ल्याउने कार्यमा सहयोग गरिरहेको पनि जानकारी दिइएको थियो।

सार्वजनिक–निजी सहकार्य अन्तर्गत सुरु भएको हाइड्रो नेपाल जस्तै मोडलमा कार्बन ट्रेड, सीमापार व्यापार र अनुसन्धान जस्ता क्षेत्रहरूमा पनि काम गर्न सकिने भनिएको छ।

नेपालमा व्यवसाय–देखि–व्यवसाय र सार्वजनिक–निजी साझेदारी मोडलमा काम गर्न अपार सम्भावना रहेको उल्लेख गर्दै यस्ता साझेदारीमार्फत प्रविधि स्थानान्तरण, परामर्श, परियोजना विकास, हरित वित्तपोषण र नवप्रवर्तनका क्षेत्रमा पनि काम गर्न सकिने जानकारी दिइएको थियो।

जलविद्युत् उपकरण, स्मार्ट ग्रिड प्रणाली र इन्जिनियरिङ सेवामा विशेषज्ञता राख्ने फ्रेन्च कम्पनीहरू नेपालको बढ्दो ऊर्जा बजारसँग सहकार्य गर्दा उपयुक्त हुने विश्वास व्यक्त गरिएको छ। यस्ता साझेदारीहरूले रोजगारी सिर्जना, आर्थिक वृद्धि र अत्याधुनिक प्रविधिको हस्तान्तरणमा मद्दत पुग्ने अपेक्षा गरिएको छ।

सन् २०३५ सम्ममा २८ हजार ५ सय मेगावाट ऊर्जा उत्पादन पुर्‍याउने सरकारी लक्ष्यलाई ध्यानमा राख्दै नेपालले ठूला परिमाणमा प्रत्यक्ष विदेशी लगानीलाई स्वागत गर्ने तयारी गरिरहेको जानकारी पनि दिइएको छ। सो लक्ष्यअनुसार १५ हजार मेगावाट भारतमा निर्यात गरिने र बाँकी १३ हजार ५ सय मेगावाट स्वदेशमै उपयोग गरिने उल्लेख गरिएको छ।

यो महत्वाकांक्षी योजनालाई अन्तर्राष्ट्रिय लगानीकर्ताहरूका लागि बीमा, बैंकिङ, निर्माण, शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतका विभिन्न क्षेत्रहरूमा अवसरको रूपमा प्रस्तुत गर्दै इप्पानले सहकार्य र लगानी प्रवर्द्धनमा सहजीकरण गर्ने विश्वास अध्यक्ष कार्कीले दिलाएका छन्।

कान्तिपुर

Link copied successfully