यसअघि प्रधानमन्त्री हुँदा अहिलेको जस्तो पैसाको हाहाकार थिएन : प्रधानमन्त्री
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले देशको ढुकुटी रित्तो रहेको बताएका छन्। मंगलबार बालुवाटारमा सिनेपा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
यसअघि आफू प्रधानमन्त्री हुँदा देशको ढुकुटीमा धेरै पैसा रहेको उल्लेख गर्दै अहिले पैसा नहुँदा 'यो काम गर्छु' भन्न पनि डराउनुपर्ने अवस्था आएको बताएका थिए।
प्रधानमन्त्री ओलीले अघिल्लो कार्यकालमा धेरै पैसा रहेकाले जे गर्नुपर्छ भनेर काम थालेको उल्लेख गर्दै सबै पालिकामा स्वास्थ्य केन्द्रको उद्घाटन गरेको जानकारी दिए। त्यसै क्रममा सुरु भएका ६० भन्दा बढी स्वास्थ्य केन्द्रहरू अहिले सञ्चालनमा रहेको पनि बताए। उनले एक रुपैयाँ चन्दा उठाएर नेकपा एमालेको पार्टी कार्यालय बनाइदिनेसम्मका कुरा गरिएको तर भन्न र गर्नमा फरक हुने पनि उल्लेख गरे।
उनले भने, 'एक-दुई वटा साना कामहरूमा साथीभाइहरू धेरै हौसिन्छन्। हामी छौँ भन्छन्, चन्दा उठाउँछन्। अस्ति हाम्रो पार्टी अफिस एक-एक रुपैयाँमा बनाउँछौँ भन्ने पनि निस्किए। चन्दा एक-एक रुपैयाँ कहाँ साटेर ल्याउने? दिँदैन त्यो पनि। यो भन्ने एउटा कुरा हो। तर रियालिटी अर्को कुरा हो।'
प्रधानमन्त्री ओलीले आफू तीन वर्षको अन्तरालमा प्रधानमन्त्री हुँदा विकासको काम आफूले छोडेकै ठाउँमा रोकिएको बताएका छन्। पैसाको कमीकै कारण पहिले जस्तो “यो पनि गर्छु, त्यो पनि गर्छु” भन्ने आँट गर्न नसकेको उल्लेख गर्दै उनले अर्थतन्त्र अब ओरालो नलाग्ने दाबी गरेका छन्।
