चितवन — देशका विभिन्न ठाउँहरूमा होटेल रिसोर्ट सञ्चालन गरेको ल्यान्डमार्कले भरतपुरमा पनि सेवा विस्तार गरेको छ । भरतपुर हाइट (उकालो)को होटेल रोयल सेन्चुरी अब ल्यान्डमार्क नारायणीका नामले सञ्चालन हुने छ । योसँगै सेन्चुरीकै सञ्चालकले सञ्चालन गरेको तनहुँ देवघाट भुवनटारको फार्म हाउस पनि ल्यान्डमार्कले नै व्यवस्थापन गर्ने भएको छ ।
सोमबार भरतपुरमा आयोजना भएको पत्रकार सम्मेलनमा ल्यान्डमार्क होटेल एन्ड रिसोर्टका कर्पोरेट अपरेसन निर्देशक सम्राट् पाण्डेले यी दुई संरचनाहरू लिजमा लिएर ल्यान्डमार्कले सञ्चालन गर्न लागेको जानकारी दिए । भरतपुरको ल्यान्डमार्क नारायणीमा ७० कोठाको होटेलका साथै बिहे भोज, व्यावसायिक बैठक र गोष्ठीका लागि हलहरू पनि रहेका छन् । स्वीमिङपुल थप्ने योजना रहेको निर्देशक पाण्डेले बताए ।
देवघाट भुवनटारको फार्म हाउस चितवनको दासढुंगापारी त्रिशूली नदी किनारमा रहेको छ । चार एकडमा फैलिएको फार्म हाउसमा रुमहरूका साथै कटेज, ट्री हाउस, स्वीमिङपुल जस्ता सुविधाहरू रहेका छन् । फार्म टू टेबल डाइनिङ अवधारणाअनुसार ताजा र स्थानीय उत्पादनका भोजनहरु यहाँ उपलब्ध हुने पाण्डेको भनाइ छ । पुल साइड पार्टी स्पेस, बार र रेस्टुरेन्टको सुविधा पनि त्यहाँ रहेको उनले बताए ।
‘भरतपुरको सहरी सौन्दर्य र देवघाटको प्राकृतिक शान्तिको संयोजनले अतिथिहरुलाई आराम, मनोरञ्जन र प्राकृतिक आनन्दको अनुभुति दिने हाम्रो उद्देश्य हो’ निर्देशक पाण्डेले पत्रकार सम्मेलनमा भने । ल्यान्डमार्कले सन् २००७ मा पोखराबाट होटेल व्यवसाय सुरु गरेको हो । हाल काठमाडौं र भैरहवाका साथै चितवनकै पनि सौराहामा ल्यान्डमार्कका होटेल तथा रिसोर्ट सञ्चालनमा छन् ।
‘हामीले लामो समयदेखि पोखरा, काठमाडौं, चितवनको सौराहा र भैरहवामा पनि होटेल तथा रिसोर्टको व्यवस्थापन सम्हालेका छौं । यो अनुभवका आधारमा हामीले विशेष सेवा दिँदै अतिथिहरूलाई सन्तुष्ट पार्ने हाम्रो चाहना हो,’ निर्देशक पाण्डेले भने । ल्यान्डमार्क नारायणीले चारतारे स्तरको सेवा सुविधा उपलब्ध गराउने निर्देशक पाण्डेले बताए ।
