करोडौंको सामान बोकेका कन्टेनर र विद्युतीय सवारी साधन बाटोमै अलपत्र
सिन्धुपाल्चोक — डेढ साताअघिको वर्षाले भासिएको बाह्रबिसे–तातोपानी सडकको कोप्लाङ खण्ड मर्मत गर्न तातोपानी नाका एक साता बन्द गरिने भएको छ । वर्षातका कारण भोटेकोशी गाउँपालिका–२ कोप्लाङमा १५ फिट सडक भासिएर अवरुद्ध बनेको सीमा जोड्ने कोदारी राजमार्ग अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन ।
सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख अमित श्रेष्ठका अनुसार सडक मर्मतका लागि आइतबारदेखि आउँदो जेठ ३ गतेसम्म नाका बन्द गर्ने निर्णय भएको छ । ‘अहिले सडकमूनि भोटेकोशी नदीबाट प्लम ढलानको काम भइरहेको छ,’ उनले भने ।
शिव खिम्ती र टिपिएस जेभीले मर्मतको काम गरिरहेको उनले जनाए । उता भन्सार जाने वैकल्पिक मार्ग नभएपछि करोडौं मूल्यका सामग्री बोकेका सयौं कन्टेनर लिपिङ बजारक्षेत्र र खासामा थन्किएका छन् । जसमा स्याउ र लसुन बोकेका ४० कन्टेनर छन् भने चार सयभन्दा बढी विद्युतीय सवारी साधन छन् ।
भूकम्प र बाढीले क्षतिग्रस्त बनाएको सडक बर्खाअघि प्रतिदिन जीर्ण बनेपछि स्थानीय बीच त्रासपूर्ण अवस्था छ । तातोपानीबाट बाह्रबिसे जोड्ने अन्य वैकल्पिक मार्ग नभएकाले नाका बन्द गरेर सडक मर्मत गर्नुपरेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए ।
गत साता जोखिमपूर्ण सडकबाट जबर्जस्ती पार गर्न खोज्दा एक विद्युतीय कार नदीमा खसेर चालक घाइते भएका थिए । चीनबाट सामान बोकेका दैनिक १४/१५ मात्रै कन्टेनर भित्रने गरेका थिए भने कोदारी भेगछेउमा सडक अवरुद्ध बनेका कारण सामान पुर्याएर फर्केका कन्टेनर पनि अलपत्र बनेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष तथा व्यवसायी बुद्धराज बस्नेतले बताए । ‘बर्खा नलाग्दै बाटोको हालत यस्तो हुनु दुखद् कुरा हो । अहिले सडकका कारण कन्टेनर बाटोमा रोकिँदा व्यवसायी थप आजित बनेका छन्,’ उनले भने । उनकाअनुसार पर्स्यौर्ली–वीरगन्ज १५२ केभीको ट्रान्समिसन लाइनका लागि चीनबाट आयात गरिएको पाँच लाख २६ हजार डलर बराबरको सामान पनि बाटोमै रोकिएको छ ।
यसअघि बाढीले बेलिब्रिज बगेपछि लिपिङ र लार्चामा कच्ची सडकको जोखिमपूर्ण गर्न बाध्य थिए । अहिले लिपिङमा बेलिब्रिज जोडिएको छ र लार्चामा बेलिब्रिज राख्ने काम भइरहेको छ । चीनबाट सामान ढिलो आउने समस्यासँगै बाढीपहिरोले बेलाबेला खासा र तातोपानीको सडक अवरोध भइरहँखदा ढुवानी खर्च महँगो हुने समस्या व्यहोरिरहेको व्यापारीको गुनासो छ । व्यवसायीले निजी रकम खर्चर् गरेर बैकल्पिक सडक बनाउने प्रस्ताव सडक डिभिजनले नमानेको सीमाका व्यवसायीले गुनासो गर्दै आएका छन् ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोप्लाङमा भासिएको १५ फिट सडक मर्मत गर्न बन्द गरिएपछि लिपिङक्षेत्रमा थन्किएका विद्युतीय सवारी साधन । तस्बिर : अनिश तिवारी/कान्तिपुर
तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका सूचना अधिकारी सूर्य काफ्लेले नाका बन्द भए पनि कोदारीस्थित अध्यागमन कार्यालय, भन्सार र अन्य सरकारी निकायले गर्नेर् नियमित काम नरोकिने बताए । ‘कोप्लाङयता पास भएका वस्तु र विद्युतीय सवारी साधनको नियमित जाँचपास त भइरहेको छ । जीर्ण सडकका कारण नाकामा असहज वातावरण बनेको छ,’ उनले भने ।
यसअघि सडकका कारण लामो समय कन्टेनर बाटोमा थन्किँदा बैकको ब्याज, गोदाम भाडा र कर्मर्चारी तलबका कारण सयौं व्यवसायी पेशाबाट पलायन भएको अध्यक्ष बस्नेतले बताए । यसबाहेक चीनले खासा र यहाँसम्म पुग्ने करिब ७ किमी सडक र सुरुङमार्ग निर्मार्ण गरिरहेकाले समयसमयमा कन्टेनर आउजाउमा ढिलाइ हुने गरेको छ । भूकम्पको चार वर्षपछि मालवाहक रुपमा सीमित कन्टेनर मात्रै भित्रिने गरी तातोपानी नाका एकतर्फी रुपमा संचालनमा आएको थियो । त्यसयता पनि वर्षात्का कारण समयसमयमा सडक अवरुद्ध भएर समस्या हुँदै आएको छ ।
