साताको सेयर कारोबार : जलविद्युत् उपसमूहको हिस्सा साढे ६३ प्रतिशत

गत साता ४७ अर्ब ८९ करोड ५८ लाख रुपैयाँको सेयर कारोबार भएकामा जलविद्युत्‌को मात्र ३० अर्ब ३९ करोड २४ लाख रुपैयाँ

वैशाख २८, २०८२

कान्तिपुर संवाददाता

Share trading of the week: The share of hydropower sub-group is 63 and a half percent

काठमाडौँ — दोस्रो बजार (नेप्से) मा जलुविद्युत् उपसमूहको प्रभुत्व बढ्दै गएको गत साताको कारोबारमा पनि देखिएको छ । उक्त अवधिको पाँच दिनमा कुल ४७ अर्ब ८९ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यसमध्ये ३० अर्ब ३९ करोड २४ लाख रुपैयाँ बराबरको सेयर कारोबार जलविद्युत् कम्पनीहरूको मात्र भएको नेप्सेको तथ्यांक छ । यो कुल साप्ताहिक कारोबारको ६३.५८ प्रतिशत हो । उल्लिखित तथ्यांकले सेयर बजारमा जलविद्युत् उपसमूहको प्रभुत्व बढ्दै गएको पुष्टि हुन्छ ।

पछिल्ला वर्षहरूमा जलविद्युत् कम्पनीहरूको सूचीकरण निकै बढेको छ । यसअनुसार गत बिहीबारसम्म सेयर बजारमा सूचीकृत जलविद्युत् कम्पनीको संख्या ९१ पुगेको छ । पछिल्ला सातामा सूचीकृत हुने कम्पनीमध्ये पनि धेरैजसो जलविद्युत् कम्पनी नै छन् । कम्पनीको संख्या धेरै भएकाले पनि कुल सेयर कारोबारमा जलविद्युत् उपसमूहको प्रभुत्व बढेको जानकार बताउँछन् । 

नेपाल धितोपत्र बोर्डमा ८९ कम्पनीले ५६ अर्ब ७ करोड ९३ लाख २७ हजार १ सय ३२ रुपैयाँ बराबरको आईपीओ अनुमतिका लागि आवेदन दिएका छन् । 

तीमध्ये सबैभन्दा धेरै जलविद्युत् समूहका ४३ कम्पनी छन् । ती कम्पनीले १९ अर्ब ४४ करोड रुपैयाँ बराबरको १९ करोड ३ लाख कित्ता सेयर निष्कासनको अनुमति मागेका छन् । बोर्डमा आवेदन दिएकामध्ये होटल तथा पर्यटनका ९, लगानी समूहका ३, उत्पादन तथा प्रशोधनका १८, फाइनान्स कम्पनी १, लघुवित्त ३ र अन्य क्षेत्रका १२ कम्पनी छन् । यसले पनि आउँदा दिनमा नेप्सेमा सूचीकृत कम्पनीमध्ये धेरै जलविद्युत् कम्पनी नै हुने भएकाले सो क्षेत्रका कम्पनीको सेयर बजारमा हिस्सा बढ्दै जाने जानकार बताउँछन् । 

गत साता भएको कुल सेयर कारोबारमा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको हिस्सा १७.२३, लगानीको १०.२१, उत्पादन तथा प्रशोधन २.५५, अन्य ३.१८, व्यापार ०.६४, होटल तथा पर्यटनको ०.६४ र संस्थापक सेयरको कारोबार हिस्सा २.१८ प्रतिशत छ । 

नेपाली सेयर बजारमा लामो समयसम्म बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूकै प्रभुत्व थियो । २/४ वर्षअघिसम्म पनि कुल सेयर कारोबारमा बैंक तथा बिमाको औसत हिस्सा ८० प्रतिशतभन्दा बढी थियो । मर्जर र एक्विजिसनका कारण बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूको हिस्सा लगातार घटिरहेको छ । यो हिस्सा घटेसँगै सो बैंक तथा वित्तीय संस्था र बिमा समूहको हिस्सा पनि सेयर बजारमा घट्दो छ । 

बजार पुँजीकरणका हिसाबले भने अहिले पनि बैंक तथा वित्तीय संस्था र बिमा समूहकै हिस्सा सबैभन्दा धेरै छ । मर्जर र एक्विजिसनका कारण वित्तीय संस्था र बिमा कम्पनीको संख्या घटे पनि सूचीकृत सेयर संख्यामा ठूलो असर परेको छैन । दुई वटा संस्था मर्जर भएपछि कम्तीमा एउटा संस्थाको अस्तित्व हराउँछ । 

दुवै संस्था नेप्सेमा सूचीकृत रहेछन् भने एउटा संख्या घट्छ । तर कम्पनी सेयर मिलान अनुपात असमान (सेयर मिलान अनुपात एउटाको निकै धेरै र अर्काको निकै कम रहेको बाहेक) रहेको अवस्थामा बाहेक सूचीकृत सेयर संख्यामा कमी नआउने भएकाले सेयर बजारको आकार (कुल बजार पुँजीकरण) का आधारमा अहिले पनि बैंक तथा वित्तीय संस्थाकै प्रभुत्व धेरै छ ।

गत फागुन मसान्तसम्म सूचीकृत कम्पनीमध्ये बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ५३.२ प्रतिशत छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १५.७, लगानी कम्पनीको ७.६, उत्पादन तथा प्रशोधन उद्योगको ५.४, व्यापारको ५.१, होटलको २.६ र अन्य उपसमूहको हिस्सा १०.४ प्रतिशत रहेको नेप्सेले जनाएको छ ।

गत साताका पाँचै दिन सेयर कारोबार भयो । जसमध्ये दुई दिन (मंगलबार र बुधबार) नेप्से बढ्यो भने तीन दिन (आइतबार, सोमबार र बिहीबार) घट्यो । तीन दिनमा नेप्से २५.४६ अंकले घट्यो भने दुई दिनमा ६३.२८ अंकले बढ्यो । यसरी घट्नेभन्दा बढ्ने अंक धेरै भएपछि साप्ताहिक कारोबारमा नेप्से करिब ३८ अंकले सकारात्मक छ । अघिल्लो बुधबार २ हजार ६ सय २३.८३ अंकमा बन्द भएको नेप्से गत बिहीबार २ हजार ६ सय ६१.६४ अंकमा उक्लेको छ । 

गत साता ४ लाख ३० हजार ५ सय ४७ पटक सेयर कारोबार भयो, जसमा ११ करोड ८९ लाख ३० हजार ५ सय ६७ कित्ता सेयर किनबेच भए । ती किनबेचमा पौने ४८ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले बताएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully