यस वर्ष अनुमान गरिएको मानव विकासको वृद्धिदर सन् १९९० यताकै सबैभन्दा न्यून रहेको दाबी
काठमाडौँ — कोभिड महामारीपछि सुस्त हुँदै गएको मानव विकास सूचकांक अझै माथि उठ्न नसकिरहेका बेला आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगले यसमा सुधार ल्याउन सघाउने संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले बताएको छ । यस वर्ष अनुमान गरिएको मानव विकासको वृद्धिदर सन् १९९० यताकै सबैभन्दा न्यून रहेको यूएनडीपीले हालै सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
यूएनडीपीले सार्वजनिक गरेको मानव विकास प्रतिवेदन ‘अ म्याटर अफ च्वाइस ः पिपल एन्ड पसिबिलिटिज इन दि एज अफ आर्टिफिसियल इन्टेलिजेन्स’ मा एआईलाई विद्युतीय ऊर्जासँग तुलना गर्दै यसलाई मानव जीवनशैलीको पछिल्लो सबैभन्दा महत्त्वपूर्ण पक्षमध्ये एक मानिएको छ । कोभिड महामारी जस्ता विश्वव्यापी संकटपछि केही हदसम्म बाहिर निस्किए पनि मानव प्रगतिमा अपेक्षित सुधार नदेखिएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनअनुसार एआईलाई लिएर विश्वभरका नागरिक आशावादी छन् । नेपालसहित २१ देशका २१ हजारभन्दा बढी व्यक्तिमाझ गरिएको सर्वेक्षणमा ५० प्रतिशत सहभागीले आफ्नो रोजगारी एआईद्वारा स्वचालित हुने सम्भावना रहेको बताएका छन् । त्यसभन्दा धेरै ६० प्रतिशतले एआईप्रति सकारात्मक हुँदै यसले नयाँ रोजगारीका अवसर सिर्जना गर्ने आशा व्यक्त गरेका छन् । अहिले अस्तित्वमा नरहेका रोजगारी भविष्यमा सिर्जना हुने उनीहरूको अपेक्षा छ । सर्वेक्षणमा १३ प्रतिशतले मात्रै एआईका कारण रोजगारी गुम्ने डर व्यक्त गरेका छन् ।
न्यून र मध्यम मानव विकास सूचकांक भएका देशका सहभागीमध्ये ७० प्रतिशतले आफ्नो कार्यक्षमता वृद्धि गर्न एआई महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन् । करिब दुईतिहाइले आउँदो वर्षभित्रै शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा एआई प्रयोग गर्ने योजना बनाएको प्रतिक्रिया दिएका छन् । प्रतिवेदनअनुसार हाल भारतमा एआईसम्बन्धी सीप भएका विश्वमै सबैभन्दा धेरै जनसंख्या छन् । ‘डेटा, कम्प्युटिङ पूर्वाधार र संस्थागत सहयोग र कमजोर संरचनाजस्ता समस्या भएका ठाउँका दक्ष जनशक्ति उच्च आय भएका देशतिर पलायन भइरहेका छन्,’ प्रतिवेदनमा भनिएको छ ।
भारतले एआई अनुसन्धानकर्ता र स्टार्टअपलाई सघाउन कम्प्युटिङ फेसिलिटीहरू बनाउने योजना अघि सारेको छ । यसबाहेक भारतमा किसानले स्थानीय भाषामै बिमा र अनुदानसम्बन्धी जानकारी तथा सहयोग प्राप्त गर्न एआईको उपयोग गरिरहेको प्रतिवेदनमा औंल्याइएको छ ।
सन् २०३० सम्ममा अत्यन्तै उच्च मानव विकासको लक्ष्यतर्फ अग्रसर भए पनि अहिलेको सुस्त गतिले विश्वव्यापी प्रगतिमा चुनौती सिर्जना गरिरहेको यूएनडीपीका प्रशासक अचिम स्टाइनरले बताएका छन् । ‘सन् २०२४ को यो सुस्त प्रगति यथावत् रहे सन् २०३० को लक्ष्य पूरा गर्न दशकौं लाग्नेछ,’ उनले भनेका छन्, ‘यसले विश्वलाई थप असुरक्षित, विभाजित र आर्थिक तथा पारिस्थितिकीय संकटप्रति संवेदनशील बनाउनेछ ।’ मानव विकासलाई अघि बढाउन नयाँ उपाय खोजिनुपर्ने र त्यसमा एआई समावेश हुन सक्ने उनको धारणा छ ।
एआईको तीव्र विकासबीच मानवको सहायताबेगर नै चल्ने आर्टिफिसियल जनरल इन्टेलिजेन्स (एजीआई) का जोखिमबारे पनि आशंका उब्जिएका छन् । प्रतिवेदनले मानव केन्द्रित दृष्टिकोणबाट एआईको विकास गरिनुपर्नेमा जोड दिएको छ । एआईलाई सबैको पहुँचमा पुर्याउन विद्युत् र इन्टरनेटको सुनिश्चितता महत्त्वपूर्ण रहेको र एआईका विषयमा सरकारहरूले स्पष्ट नीति र दिगोपनमा ध्यान दिनु आवश्यक रहेको प्रतिवेदनले औंल्याएको छ ।
