शिलान्यासको वर्ष दिनसम्म फिल्डमा काम सुरु हुनु परको कुरा, डिजाइनसमेत सकिएन
चितवन — नारायणीमा ‘सिग्नेचर ब्रिज’ (पुल) बन्ने चर्चाका बीच शिलान्यास नै भएको एक वर्ष पुग्दै छ । तर नदी किनारमा पुल बनाउने सुरसार भने देखिँदैन । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले गत वर्षको वैशाख ३१ मा ठूलो तामझामसाथ नारायणगढस्थित नारायणी नदी किनारमा पुलको शिलान्यास गरेका थिए । तर पुल निर्माणको काम अझै सुरु भएको छैन ।
पुलको डिजाइन अन्तिम गर्ने प्रक्रिया चलिरहेको भरतपुरको डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले बताए । डिजाइनका लागि हालै मात्रै चिनियाँ विज्ञ आएर स्थलगत निरीक्षण गरेर फर्किएका छन् । त्यसबाहेक फिल्डमा अरू काम केही सुरु नभएको उनले जनाए । तुँदी कन्स्ट्रक्सन प्रालिले पुल निर्माणको जिम्मा पाएको छ । पुलको डिजाइन नै निर्माण कम्पनीले तयार गर्ने गरी ठेक्का सम्झौता भएको थियो ।
पुल डिजाइनको काम नसकिएका कारण चालु आर्थिक वर्षमा निर्माण सुरु हुने सम्भावना कमै रहेको सडक विभागको पुल महाशाखाका प्रमुख ललिजन खनाल बताउँछन् । ‘निर्माण कम्पनीले नै डिजाइनको काम सकेको छैन । अब चाँडै डिजाइनको काम सकिएला भन्ने आशा छ । डिजाइनको काम सकिए पनि बर्खा सुरु हुने भएका कारण चालु आर्थिक वर्षमा फिल्डको काम सुरु गर्न गाह्रो छ,’ खनालले भने ।
बर्खा सकिएपछि आउँदो असोज–कात्तिकबाट पुल निर्माण सुरु हुने सम्भावना रहेको खनालको भनाइ छ । नारायणी नदीमा नारायणगढ र गैंडाकोट जोड्ने गरेर २०३८ सालमा पहिलो पटक पुलको शिलान्यास भएको थियो । जुन चार वर्षपछि सम्पन्न भएको थियो । त्यसको ४३ वर्षपछि गत वर्ष नारायणीमा बल्ल अर्को पुल शिलान्यास भएको हो । चार वर्षमा पुल तयार गर्ने गरेर निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।
पुलको शिलान्यास गत वर्ष भए पनि सम्झौता त्यसको झन्डै एक वर्षअघि सन् २०२३ को जुन २ मा भएको थियो । सम्झौताका दुई वर्ष बित्न लाग्दासम्म पनि निर्माणको काम सुरु नै हुन सकेको छैन । नारायणीमा पुरानो पुलकै आडबाट नयाँ पुल बन्दै छ । पुरानो पुलभन्दा फरक डिजाइन र आकर्षक हुने भएका कारण यसलाई सिग्नेचर ब्रिज भनेर प्रचार गरिँदै आएको छ । नयाँ पुल बने पनि पुरानो पुल कायमै रहनेछ ।
नयाँ पुल साढे सात मिटर फराकिलो दुई लेनको हुने छ, जसमा साढे तीन मिटरको फुटपाथ हुनेछ । पुलको कुल लागत १ अर्ब ६८ करोड रुपैयाँ छ । पुरानो पुलजस्तै ४२० मिटर लम्बाइको नयाँ पुलमा मुख्य पिलर भने दुईवटा रहनेछन् । ती दुई पिलरबीच २१० मिटर फराकिलो दूरी हुनेछ । जसमा जल यातायात सञ्चालन सहज हुने पुल महाशाखाका अधिकारीले जनाएका थिए ।
‘मेन पाइलन (पिलर) दुई र छेउछेउमा पनि गरेर यस्ता पाइलन ६ वटा हुन्छन्,’ शिलान्यास कार्यक्रममा पुल महाशाखाका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर कृष्णराज अधिकारीले भनेका थिए । मुख्य दुई पाइलन र केबल सपोर्ट रहने यस्तो पुल नेपालकै पहिलो भएको उनले बताएका थिए । कर्णाली नदीको चिसापानीमा बनेको पुल केबल सपोर्ट रहेको सिंगल पाइलनको पुल भएको उनले जनाएका थिए ।
यसलाई ‘सिग्नेचर ब्रिज’ बनाइने भएका कारण स्थानीय पहिचान झल्कने फिचर राखेर पुलको आकर्षक बाह्य रूप तयार गरिने शिलान्यास कार्यक्रममा घोषणा गरिएको थियो ।
