नेप्से ६२ अंकले बढ्यो, साढे १० अर्बको सेयर किनबेच

कारोबारमा आएकामध्ये २२७ कम्पनीको सेयर मूल्य बढ्यो, १८ वटाको घट्यो, एउटा कम्पनीको स्थिर

वैशाख २५, २०८२

कान्तिपुर संवाददाता

NEPSE increased by 62 points, 10.5 billion shares were bought and sold

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार ६२.२५ अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा २.३८ प्रतिशतले बढेपछि समग्र नेप्से २ हजार ६ सय ७३.६९ विन्दुमा उक्लेर बन्द भएको छ । अघिल्ला ६ करोबार दिन लगातार घटेको नेप्सेमा बुधबार उच्च अंकको वृद्धि भएको हो ।

लगातार नेप्से ओरालो लाग्दा लगानीकर्ता निरुत्साहित भएका थिए । बुधबार नेप्से उच्च अंकले बढ्दा लगानीकर्ता उत्साहित भएको सेयर ब्रोकरहरूले जनाएका छन् । 

अघिल्ला ६ कारोबार दिन लगातार घटेको नेप्से धेरै तल झरिसकेको र घटेको बजारमा लगानीकर्ताले खरिद चाप बढाएपछि समग्र नेप्सेको वृद्धिमा टेवा पुगेको हो । साप्ताहिक रूपमा विश्लेषण गर्दा निकै कम दिन मात्र नेप्से बढ्ने गरेको छ भने धरैजसो दिन घट्ने गरेको छ । नेप्से घट्दा धेरैले घट्ने र बढ्दा थोरैले मात्र बढ्ने गरेकाले औसतमा नेप्से घट्दै आएको छ ।

बजारमा ६ खर्ब बढी ऋण दिन मिल्ने रकम थुप्रिएको, ब्याजदर एकल अंकमा झरेको, घरजग्गालगायत लगानीका अन्य क्षेत्र अपेक्षित रूपमा सुधार हुन नसकेको लगायत कारण बैंक तथा वित्तीय संस्थाले सेयर कर्जालाई प्राथमिकतामा राखेका छन्, जसअनुसार सेयर कर्जा बढेको पनि छ । तर त्यसको सकारात्मक असर सेयर बजारमा पर्न नसकेको जानकार बताउँछन् ।

सेयर कर्जा बढिरहे पनि नेप्से बढ्न नसक्नुलाई विश्लेषकहरूले आश्चर्यका रूपमा हेरेका छन् । राजनीतिक अस्थिरता, गभर्नर नियुक्तिमा ढिलाइ, सडक आन्दोलनलगायत विभिन्न कारणले लगानीमैत्री वातावरण नबन्दा लगानीकर्ताको आत्मविश्वासमा कमी आएकाले उनीहरूले थप लगानी विस्तारको निर्णय गर्न नसकेको जानकारको भनाइ छ । बुधबार कारोबारमा आएकामध्ये २२७ कम्पनीको सेयर मूल्य बढ्यो भने १८ वटाको घट्यो भने एउटा कम्पनीको स्थिर रह्यो । 

९९ हजार ३ सय ५ पटकको सेयर कारोबारमा २ करोड ७२ लाख ४५ हजार ४ सय ५९ कित्ता सेयर किनबेच भए । ती किनबेचमा १० अर्ब ५१ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढेको हो । मंगलबार सेयर बजारमा ८ अर्ब ७४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । 

कान्तिपुर संवाददाता

Link copied successfully