अघिल्ला ६ दिन लगातार घटेको नेप्से आज सवा ६२ अंकले बढ्यो

वैशाख २४, २०८२

कान्तिपुर संवाददाता

The NEPSE, which fell continuously for the previous 6 days, increased by 62 points today

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार ६२.२५ अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा २.३८ प्रतिशतले बढेपछि समग्र नेप्से २ हजार ६ सय ७३.६९ विन्दुमा उक्लेर बन्द भएको छ । अघिल्ला ६ कारोबार दिन लगातार घटेको नेप्सेमा बुधबार उच्च अंकको वृद्धि भएको हो ।

लगातार नेप्से ओरालो लाग्दा लगानीकर्ता निरुत्साहित भएका थिए । बुधबार नेप्से उच्च अंकले बढ्दा लगानीकर्ता उत्साहित भएको सेयर ब्रोकरहरूले जनाएका छन् ।

अघिल्ला ६ कारोबार दिन लगातार घटेको नेप्से धेरै तल झरिसकेको र घटेको बजारमा लगानीकर्ताले खरिद चाप बढाएपछि समग्र नेप्सेको वृद्धिमा टेवा पुगेको हो ।

सो दिन कारोबारमा आएकामध्ये २२७ कम्पनीको सेयर मूल्य बढ्यो भने १८ वटाको घट्यो भने एउटा कम्पनीको स्थिर रह्यो । 

९९ हजार ३ सय ५ पटकको सेयर कारोबारमा २ करोड ७२ लाख ४५ हजार ४ सय ५९ कित्ता सेयर किनबेच भए । ती किनबेचमा १० अर्ब ५१ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढेको हो । मंगलबार सेयर बजारमा ८ अर्ब ७४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

बुधबार कारोबारमा आएका १३ उपसमूहमध्ये सबैको परिसूचक बढेपछि समग्र नेप्सेको उच्च अंकको वृद्धिमा टेवा पुगेको हो ।

कान्तिपुर

Link copied successfully