एउटै कम्पनीविरुद्ध एक अर्ब २१ करोड राजस्व चुहावटको मुद्दा

वैशाख २३, २०८२

ऋषिराम पौड्याल

One billion 21 crore revenue leakage case against the same company

काठमाडौँ — राजस्व अनुसन्धान विभागले एउटै कन्ट्रक्सन कम्पनीले १ अर्ब २१ करोड राजस्व छलेको अभियोगमा सोमबार उच्च अदालत पाटमा अभियोग पत्र दायर गरेको छ । 

विभागले ध्रुव कन्ट्रक्सन प्रालिका सञ्चालक ध्रुव देवविरुद्ध बढीमा तीन वर्ष जेल सजाएसमेतको माग दावीसहित मुद्दा दायर गरेको छ । उक्त कम्पनीविरुद्ध मुख्यतः नक्कली बिलबिजक बनाएर भ्याट तथा आयकर छली गरेको अभियोग लगाइएको छ ।

काठमाडौं महानगरपालिका‐३१ ठेगाना भएको उक्त कम्पनीले ठेक्कापट्टा, कन्सल्टेन्सी सेवा तथा कन्ट्रक्सन सामान खरिद बिक्री शीर्षकमा गरेको कारोबारका क्रममा राजस्व चुहावट सम्बन्धी कसुर गरिएको आरोप लगाइएको छ । 

विभागले चालु वर्षमा यति ठूलो रकम असुल गर्नुपर्ने मागसहित एउटै कम्पनीविरुद्ध अभियोग पत्र दर्ता गरेको सम्भवतः यो पहिलो मुद्दा हो । 

विभागका सूचना अधिकारी नवराज अधिकारीका अनुसार अनुसन्धानका क्रममा वस्तु र सेवा हस्तान्तरण नगरी बिल जारी गरेको, खरिद कारोबार बैंकमार्फत नगरेको, बीजका सिलसिलेबार जारी नगरेको, मालसामान खरिदको स्रोत पुष्टि नभएको, मुल्य अभिवृद्धि र आयकर दाखिला नगरेकोलगायतका गल्ती भेटिएको थियो । 

राजस्व छलीको मनसाय राखेर राज्यलाई घाटा पारेको भन्दै विभागले ध्रुवलाई जेल सजाएँसमेत माग गरेको हो । ध्रुवले मूल्य अभिवृद्धि कर ४५ करोड ८० लाख, ८३ हजार ४ सय ३४ तथा आयकर १४ करोड ६५ लाख ३१ हजार ८ सय २४ समेत ६० करोड ४६ लाख १५ हजार २ सय ५८ विगो असुल गर्नुपर्ने देखिएको हो ।

बिगोको सतप्रतिशत जरिवानसमेत १ अर्ब २० करोड ९२ लाख ३० हजार ५ सय १६ तथा जेल सजाएँ माग गरिएको सूचना अधिकारी नवराजले जानकारी दिए । राजस्व चुहावट(अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा २२ मा राजस्व चुहावट कसूर गर्ने व्यक्तिलाई  विगोको दोब्बरसम्म जरिवाना गरी कसूरको मात्र हेरेर तीन वर्षसम्म कैद गर्न सक्ने व्यवस्था रहेको छ ।

ऋषिराम पौड्याल कान्तिपुरका संवाददाता हुन् । उनी निजामती प्रशासन, संसदीय मामिला, संघीयता र राजस्वसँग सम्बन्धित रिर्पोटिङ गर्छन् ।

Link copied successfully