कोहलपुर-सुर्खेत प्रसारणलाइनको विवाद समाधान गर्न ऊर्जामन्त्री खड्काको निर्देशन

वैशाख २३, २०८२

कान्तिपुर संवाददाता

Energy Minister Khadka's directive to resolve the Kohlapur-Surkhet transmission line dispute

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइनअन्तर्गत बाँकेको बानियाभार क्षेत्रमा देखिएको विवाद समाधान गर्न निर्देशन दिएका छन् ।

मन्त्री खड्काले  आयोजना प्रमुख रविकुमार चौधरीलाई मन्त्रालयमा बोलाएर मंगलबार आयोजना विस्तारका क्रममा उक्त क्षेत्रमा देखिएको समस्या तत्काल समाधान गर्न निर्देशन दिएका हुन् । 

बाँकेको बैजनाथ गाउँपालिका -४ बानियाभार क्षेत्रमा स्थानीयको अवरोधका कारण तीन वटा विद्युत टावर निर्माण हुन नसकेपछि मन्त्री खड्काले आयोजना निर्माणको क्रममा भइरहेको ढिलाइको बारेमा समेत चासो राखेका हुन् । 


'स्थानीयवासीले राखेका मागलाई उचित सम्बोधन गरेर आयोजनालाई तत्काल अगाडि बढाउनुहोस्, विकासको कामलाई अगाडि बढाउँदै गर्दा सामान्य मान्छे नमरोस्,' ऊर्जामन्त्री खड्काले भने ।उनले आयोजनाभित्र परेका घरलाई उचित क्षतिपूर्ति दिँदा पीडितहरूको पुनर्वासको सुनिश्चितता गर्नसमेत निर्देशन दिए ।


भेटमा आयोजना प्रमुख चौधरीले स्थानीयवासीको अवरोधका कारण आयोजना अगाडि बढाउन नसकिएको मन्त्रीसमक्ष जानकारी गराएका थिए ।उक्त क्षेत्रमा तीन वटा विद्युत् टावर बन्न बाँकी रहेको उनको भनाइ छ । २‎‎०७७ भदौ ७ मा दुई वर्षभित्र प्रसारण लाइनको निर्माण, डिजाइन, परीक्षण, वितरणदेखि प्लान्टको खरिदसम्मका काम गरिसक्नुपर्ने सम्झौता भए पनि स्थानीय अवरोधका कारण उक्त काम ढिलाइ भएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully