काठमाडौँ — सेयर बजारको घट्ने क्रम आइतबार पनि थामिएन । अघिल्ला तीन कारोबार दिन लगातार ओरालो लागेको नेप्सेले आइतबार पनि सोही प्रवृत्ति पछ्यायो । यसअनुसार सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार ३.४४ अंकले घटेर २ हजार ६ सय २०.३९ बिन्दुमा ओर्लिएको छ ।
गत बुधबारको तुलनामा आइतबार नेप्से परिसूचक शून्य दशमलव १३ प्रतिशतले घटेको हो । पछिल्ला चार कारोबार दिनयता नेप्से लगातार घटिरहेको छ । गत सोमबार १४.५३, मंगलबार १५.०८, बुधबार ८.१४ अंकले घटेको थियो । राष्ट्रिय तथ्यांक कार्यालयले गत साता सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्यांकले यस वर्ष अर्थतन्त्रका १८ वटै क्षेत्रमा सकारात्मक वृद्धि हुने अनुमान गरेको छ । साताको पहिलो दिन आइतबार कुल ११८ कम्पनीको सेयर मूल्य बढ्यो भने १२८ कम्पनीको घट्यो । यस दिन ८१ हजार ९ सय ८५ पटकको किनबेचबाट ९ अर्ब २४ करोड ५५ लाख ८३ हजार रुपैयाँको सेयर खरिदबिक्री भए । आइतबार २ करोड १९ लाख ५ हजार ३ सय ११ कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ । यस दिन १३ उपसमूहमध्ये बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र निर्जीवन बिमाका परिसूचक बढे । बाँकी सबै उपसमूहको परिसूचक घटे ।
सो दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सबैभन्दा बढी ४४.१३ र निर्जीवन बिमाको २८.५९ अंकले बढे । तर विकास बैंक, होटल तथा पर्यटन र बैंकिङ उपसमूहको परिसूचक सामान्य अंकले सकारात्मक रहे । तर आइतबार व्यापार, जीवन बिमा, फाइनान्स, लघुवित्त, जलविद्युत्, सामूहिक लगानी कोष र लगानी उपसमूहका परिसूचक घटेको नेप्सेको तथ्यांक छ । आइतबार धितोपत्र (सेयर) बजारको आकार कुल बजार पुँजीकरण ३ अर्ब ९४ करोड ३० लाख रुपैयाँले खुम्चिएको छ ।
