पोखरा — हवाई क्षेत्रमा वन्यजन्तुले निम्त्याउने जोखिम र त्यस्तो समस्याको समाधानका उपायबारे छलफल गर्न एसिया प्रशान्त क्षेत्रका हवाइ तथा नागरिक उड्डयन विशेषज्ञ पोखरामा भेला भएका छन् । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को आयोजनामा सोमबारदेखि हवाइ क्षेत्रमा वन्यजन्तु जोखिम व्यवस्थापन सम्बन्धी कार्यशाला तथा वन्यजन्तुजन्य जोखिम व्यवस्थापन कार्यदलको सातौं बैठक सुरु भएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणसँगको सहकार्यमा सुरु भएको कार्यशाला तथा बैठक वैशाख २७ सम्म चल्ने छ । बैठकमा एसिया प्रशान्त क्षेत्रमा उड्डयन क्षेत्रले भोगिरहेको वन्यजन्तुजन्य जोखिमको अवस्था, त्यसको न्यूनीकरण तथा समाधान र उड्डयन क्षेत्रलाई सुरक्षित बनाउने उपायबारे छलफल हुने विज्ञले बताएका छन् ।
बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले सुरक्षित हवाई यात्राको सुनिश्चितताका लागि विद्यमान जोखिमको निदानमा जोड दिए । यात्रुलाई सुरक्षित रूपमा गन्तव्यमा पुर्याउने र प्रविधिमैत्री, सुविधायुक्त र सुरक्षित पूर्वाधार निर्माण गर्ने कार्यमा नेपाल सरकार प्रतिबद्ध रहेको उनले बताए ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उड्डयन क्षेत्रको संवेदनशीलता प्रति आफूहरू सचेत रहेको बताए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपूर्व नजिकै रहेको ल्यान्डफिल साइट स्थानान्तरण गरी विमानस्थल सञ्चालनमा महानगरपालिकाले सहज वातावरण तयार गरेको उनले स्मरण गरे । ‘ल्यान्डफिल साइटको स्थानान्तरण सजिलो थिएन तर आवश्यक थियो । कयौं अप्ठेराको बीचबाट हामीले त्यसको व्यवस्थापन गर्यौं,’ उनले भने, ‘विमानस्थलको संवेदनशीलता बुझेर हामीले तुरुन्त निर्णय गर्यौं र एक महिनाभित्रै उक्त ल्यान्डफिललाई सुरक्षित दूरीमा सार्यौं । यो संवेदनशीलताले पनि पुष्टि गर्दछ कि हवाई सुरक्षामा स्थानीय सरकारको भूमिका कति महत्त्वपूर्ण हुन्छ ।’ हवाई सेवालाई सुरक्षित बनाउन स्थानीय तहको सक्रियता र नेतृत्व उत्तिकै आवश्यक र प्रभावकारी हुने उनको भनाइ थियो ।
राम्रो नीति, बलियो स्थानीय नेतृत्व र क्षेत्रीय सहकार्यबाट मात्रै हाम्रो आकाशलाई अझ सुरक्षित बनाउन सकिने उनले बताए । ‘हामी एक भू–परिवेष्टित देशका नागरिक हौं, बदलिँदो विश्व परिवेशमा आन्तरिक र अन्तर्राष्ट्रिय हवाई सम्पर्क नागरिकको मौलिक अधिकारसँग जोडिएको विषय बनिसक्यो,’ उनले भने, ‘तसर्थ हामी हाम्रो सहरलाई हवाई सेवा मार्फत विश्वभर जोड्न चाहन्छौं ।’ पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई एसिया प्यासिफिक क्षेत्रका देशसँग जोड्न सकिने सम्भावनाको खोजी गर्न समेत उनले आग्रह गरे ।
प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र आइकाओ एसिया प्यासिफिकका क्षेत्रीय उपनिर्देशक मन्जित सिंह लगायतले हवाई सेवालाई सबैको पहुँचमा पुर्याउँदै यसका विद्यमान जोखिमको समाधानमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए । बैठकमा एसिया प्रशान्त क्षेत्रका हवाई तथा नागरिक उड्डयन विशेषज्ञ सहित सरकारी अधिकारीे सहभागी छन् ।
