सातामै पौने ५७ अर्ब रुपैयाँले खुम्चियो सेयर बजार

अघिल्लो बिहीबार ४४ खर्ब १९ अर्ब ७० करोड ६९ लाख रुपैयाँ रहेको कुल बजार पुँजीकरण गत बुधबार ४३ खर्ब ६२ अर्ब ८५ करोड ७८ लाख रुपैयाँ कायम

वैशाख २१, २०८२

कान्तिपुर संवाददाता

The stock market fell by 57 billion rupees in a week

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक गत साता ३४.१९ अंकले घट्यो । सो अवधिमा धितोपत्र (सेयर) बजारको आकार कुल बजार पुँजीकरण भने पौने ५७ अर्ब रुपैयाँले खुम्चिएको छ । गत बुधबार बजार बन्द हुँदा कुल बजार पुँजीकरण ४३ खर्ब ६२ अर्ब ८५ करोड ७८ लाख रुपैयाँ कायम भएको छ ।

अघिल्लो बिहीबारको तुलनामा यो ५६ अर्ब ८४ करोड रुपैयाँ कम हो । अघिल्लो बिहीबार कारोबार बन्द हुँदा कुल बजार पुँजीकरण ४४ खर्ब १९ अर्ब ७० करोड ६९ लाख रुपैयाँ थियो । दोस्रो बजारमा सूचीकृत कुल सेयर संख्यालाई सोही दिनको बजार मूल्यले गुणा गरेर कुल बजार पुँजीकरण गणना गरिन्छ । यसकारण कुल बजार पुँजीकरणले एक निश्चित समयमा सेयर बजारको आकार कति छ भन्ने देखाउँछ । समग्रमा सूचीकृत कम्पनी सेयर मूल्य बढ्दा कुल बजार पुँजीकरण पनि बढ्छ भने घट्दा घट्छ । गत साता चार दिन मात्रै कारोबार भएको थियो । गत बिहीबार मजदुर दिवसका अवसरमा सार्वजनिक बिदा भएकाले सेयर कारोबार भएन । 

गत साताको चार कारोबार दिनमा कुल ९ करोड ५२ लाख ६० हजार ७०१ कित्ता सेयर किनबेच हुँदा ३६ अर्ब ७३ करोड ८१ लाख ६३ हजार रुपैयाँको सेयर कारोबार भएको छ । नेप्से परिसूचक घट्दा कारोबार रकम घट्यो । अघिल्लो साताजस्तै गत साता पनि सेयर कारोबारमा जलविद्युत्कै वचस्व रह्यो । वित्तीय संस्था तथा बिमाभन्दा जलविद्युत् समूहको १३ अर्ब ३७ करोड ६४ लाख रुपैयाँले बढी कारोबार भएको नेप्सेले जनाएको छ । 

गत साता जलविद्युत् उपसमूहको मात्रै २० अर्ब ४३ करोड ९५ लाख २२ हजार रुपैयाँको सेयर कारोबार भएको छ । बैंकिङ, डिबेन्चर, विकास बैंक, फाइनान्स, जीवन बिमा, लघुवित्त र निर्जीवन बिमा (वित्तीय संस्था तथा बिमा) उपसमूहको कुल ७ अर्ब ६ करोड ३० लाख ७९ हजार रुपैयाँको कारोबार भएको छ । अघिल्लो साता जलविद्युत्को २० अर्ब १ करोड ४४ लाख रुपैयाँको कारोबार भएको थियो । उक्त साता बैंक तथा वित्तीय संस्था र बिमाको ८ अर्ब ५० करोड ४० लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।

गत साता समग्र नेप्से घटेसँगै अधिकांश उपसमूहको परिसूचक पनि घट्यो । गत साता जलविद्युत्, व्यापार र म्युचअल फन्डको परिसूचक मात्रै बढ्यो । गत साता जलविद्युत् २५.१४ अंकले बढेको छ । अघिल्लो साताको बिहीबार जलविद्युत् उपसमूह ३४८१.७७ विन्दुमा बन्द भएको थियो । गत साताको बुधबार जलविद्युत् उपसमूहको परिसूचक ३५०६.९१ विन्दुमा बन्द भएको हो । जलविद्युत् जस्तै व्यापार ६७ अंक र म्युचअल फन्ड शून्य दशमलव शून्य २ प्रतिशतले बढेको नेप्सेको तथ्यांक छ ।

गत साता बैंकिङ, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधनलगायत उपसमूहका परसूचक घटे । सो अवधिमा बैंकिङ उपसमूहको परिसूचक ३०.७५ अंकले घटेको छ । अघिल्लो बिहीबार १३३४.९६ विन्दुमा बन्द भएको बैंकिङ उपसमूहको परिसूचक गत बुधबार १३०४.२१ विन्दुमा ओर्लेर बन्द भएको छ ।

अवधिमा होटल तथा पर्यटन उपसमूहको परिसूचक ६३.५६, अन्यको ६३.७५, विकास बैंकको १२२.०६, उत्पादन तथा प्रशोधनको ८६.३५, निर्जीवन बिमाको १०७.८९, फाइनान्सको ५२.०६, लुघवित्तको ११४.९३, जीवन बिमाको ११५.०५ र लगानी उपसमूहको १.५७ अंकले घटेको नेप्सेले जनाएको छ ।

कान्तिपुर

Link copied successfully