माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

वैशाख २०, २०८२

रासस

In the final stage of construction of the Upper Bolikhola hydropower project

म्याग्दी — म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । 

ठूलोखोला हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको तीन वर्षअघि निर्माण सुरू भएको आयोजनाको भौतिक प्रगति ९० प्रतिशत पुगेको हो । आयोजना प्रमुख लोकबहादुर नायकले बाँध, विद्युत्गृह र पाइपलाइन जडान सकिएको आयोजनाको विद्युत्गृहमा उपकरण जडान र प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको बताए।

'२०८२ को वैशाख महिनासम्म परीक्षण उत्पादन सुरू गर्ने कार्यतालिका बेनीदेखि आयोजना निर्माणस्थल जोड्ने सडक स्तरोन्नतिका कारण अवरूद्ध भएपछि प्रभावित बनेको छ,' उनले भने, 'सडकका कारण भौगोलिक रूपमा विकट क्षेत्रमा अवस्थित विद्युत्गृहका उपकरण ढुवानी रोकिँदा जडान गर्न ढिलाइ भएको हो।'

सुगुरथलामा बाँध, डिसेन्डर (पानी थिग्राउने पोखरी), दुई हजार ९०० मिटर मुख्य पाइपलाइन र ३०० मिटर सर्च साफ्ट पाइपलाइन जडान, फेदीमा विद्युत्गृह निर्माण भएको छ । विद्युत्गृह परिसरमा स्विचयार्ड निर्माण गर्न थालिएको छ । 

फेदीदेखि बन्दीसम्म १४ वटा टावर बनाएर पाँच किलोमिटर लामो १३२ केभी क्षमताको प्रसारण लाइन निर्माणाधीन छ । बन्दीदेखि ठूलोखोला र चिमखोलादेखि चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनासँग सहकार्य गरेर तिल्केनीचौर हुँदै २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनमार्फत आयोजनाको विद्युत् केन्द्रीय प्रणालीमा आबद्ध गराइनेछ । 

देव ऊर्जा कन्ट्रक्सन सिभिल, हाइड्रोमेकानिकल र बिएफएल ब्याङलोर इलेक्ट्रोमेकानिकल ठेकेदार हुन् । तीन अर्ब लागत अनुमान गरिएको आयोजनामा सिटिजन्स र माछापुच्छ्रे बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन् । प्रवर्द्धकको १० प्रतिशत लगानी रहने आयोजनाको २० प्रतिशत लगानी सेयर जारी गरेर सर्वसाधारणमार्फत जुटाइनेछ । 

रासस

Link copied successfully