विद्युत् प्राधिकरणले जारी गर्‍यो श्वेतपत्र

वैशाख १९, २०८२

कान्तिपुर संवाददाता

The Electricity Authority issued a white paper

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले संरचनागत आर्थिक, प्रशासनिकलगायत संस्थाको वर्तमान अवस्थाबारे श्वेतपत्र जारी गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले शुक्रबार पत्रकार सम्मेलन गर्दै श्वेतपत्र जारी गरेका हुन् ।

प्राधिकरणले हालसम्मको उपलब्धि र वर्तमान अवस्थासहित यसको अवसर र चुनौती विश्लेषण गरी भावी योजना तय गर्न श्वेतपत्र जारी गरेको जनाएको छ । यसअघि गत मंगलबार सार्वजनिक गर्ने तय भए पनि प्राविधिक कारण देखाउँदै प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले स्थगित गरेका थिए ।

श्वेतपत्र सार्वजनिक गर्दै शाक्यले विद्युत् महसुल समायोजन  गर्ने बताए । तीन वर्षदेखि महसुल समायोजन नभएको भन्दै शाक्यले महसुल वृद्धि गर्ने सुनाए । ‘३ वर्षदेखि विद्युत् महसुल समायोजन नभएकाले समयानुकुल महसुल समायोजन गर्न गरिनेछ,’ श्वेतपत्रमा उल्लेख छ ।

प्राधिकरणको विद्युत् पहुँच ९७.५ प्रतिशत पालिकामा र ९५ वडाहरूमा पुगेको श्वेतपत्रमा उल्लेख छ । घर संरचनाका आधारमा ९१.४१ प्रतिशत र परिवार संख्याका आधारमा ८४.६२ प्रतिशत विद्युतीकरण भएको प्राधिकरणले जनाएको छ । यसअघि प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक कुलमान घिसिङले गत साउनमा ९९ प्रतिशत विद्युतीकरण पुगेको जनाएका थिए ।

०८१ माघसम्म प्राधिकरणको कुल ग्राहक संख्या ५५ लाख ८६ हजार पुगेको श्वेतपत्रमा उल्लेख छ । घिसिङले प्राधिकरण र सामुदायिकसहित ५९ लाख ३५ हजार ग्राहक संख्या पुगेको बताएका थिए । ०८१ माघसम्म प्रसारण प्रणालीमा ३.३८ प्रतिशत र वितरण प्रणालीमा ९.२१ प्रतिशत चुहावट रहेको प्राधिकरणको श्वेतपत्रमा उल्लेख छ ।

आर्थिक वर्ष ०८२/८३ मा वर्षयाममा २६ सय ४८ मेगावाट र आर्थिक वर्ष ०८३/८४ मा ३३ सय १६ मेगावाटसम्म विद्युत् निर्यात गर्नुपर्ने प्राधिकरणको प्रक्षेपण छ । साथै आर्थिक वर्ष ०८२/८३ मा सुख्खायाममा ७९१ मेगावाट र आर्थिक वर्ष ०८३/८४ मा ७२८ मेवावाट बिजुली आयात गर्नुपर्ने समेत प्राधिकरणद्धारा जारी श्वेतपत्रमा उल्लेख छ ।

प्राधिकरणको ०८०/८१ सम्म कुल सम्पत्ति ६ खर्ब ४४ अर्ब रुपैयाँ छ । स्थिर सम्पत्ति २ खर्ब ३५ अर्ब र २ खर्ब २० अर्ब रुपैयाँ बराबरको आयोजनाहरु निर्माणाधिन रहेको श्वेतपत्रमा उल्लेख छ । चालु आर्थिक वर्षको फागुनसम्म ठेक्कापट्टाअन्तर्गत ११ अर्ब ६१ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको शाक्यले बताए । जुन नगद अभाव हुँदा दिन नसकेको समेत शाक्यले प्रस्ट्याए । ‘दिनहुँ भुक्तानीका लागि बिलहरु आइरहेका छन्, नतिर्दा ब्याज, जरिवाना ठोक्छु भन्छन्,’ उनले भने, ‘प्राधिरणको खातामा नगद नै छैन । त्यसैले अल्पकालिन ऋण लिने प्रक्रिया अघि बढाएको छु ।’ उनले १० अर्ब रूपैयाँ अल्पकालीन ऋण लिन प्रक्रिया अघि बढाएको समेत जनाए ।

वित्तीय स्रोतको सुनिश्चितता नगरी आयोजनाहरु अघि बढाउँदा अहिले प्राधिकरणका नगद समस्या देखिएको समेत शाक्यले दाबी गरे ।

प्राधिकरणले ऊर्जा सुरक्षाको अवस्थालाई सुदृढ गर्दै विश्वसनीय विद्युत् उपलब्ध गराउनु नै अहिलेको आवश्यकता रहेको जनाएको छ । विश्वसनीय विद्युत्को लागि ऊर्जा सुरक्षाको बन्दोबस्ती र विद्युतीय संजाललको सुदृढीकरण गर्नुपर्ने शाक्यले बताए ।

प्राधिकरण आँफै वा सहायक कम्पनीमार्फत १०६३ मेगावाटको माथिल्लो अरुण, ८२८ मेगावाटको उत्तरगंगा, ६७० मेगावाटको दुधकोशी, ६८३ मेगावाटको सुनकोशी–३, ७०.३७ मेगावाटको जावा तिला जलाशययुक्त आयोजना निर्माण गर्ने श्वेतपत्रमा उल्लेख छ ।

उत्पादन, प्रसारण र वितरण प्रणालीका विस्तारका लागि आगामी पाँच वर्षमा निर्माणाधिन आयोजना सहिति करिब ६ खर्बको बजेट आवश्यक हुने प्रक्षेपण हुने अनुमान गरेको छ । त्यसमध्ये ४ खर्ब वैदेशिक र २ खर्ब आन्तरिक स्रोतबाट जुटाइने शाक्यले बताए । चैत १२ को बोर्ड बैठकले श्वेतपत्र जारी गर्ने निर्णय गरेको थियो भने वैशाख १५ को बैठकले श्वेतपत्र स्विकृत गरेको थियो । यसअघि प्राधिकरणले ०६३ सालमा श्वेतपत्र जारी गरेको थियो ।

कान्तिपुर

Link copied successfully