सडक भासिँदा तीन दिनदेखि तातोपानी नाका ठप्प, कन्टेनर बाटोमै अलपत्र

यातायात अवरुद्ध हुँदा करोडौं मूल्यका सामग्री बोकेका सयौं कन्टेनर लिपिङ बजारक्षेत्रमा रोकिए

वैशाख १९, २०८२

अनिश तिवारी

The Tatopani border has been blocked for three days due to the flooding of the road, and the container has been stranded on the road

सिन्धुपाल्चोक — बाह्रबिसे–तातोपानी सडकखण्ड (२६ किलोमिटर) को कोप्लाङ खण्ड भासिँदा तातोपानी नाका ठप्प भएको छ । बुधबार बेलुकीदेखिको वर्षाले भोटेकोशी गाउँपालिका–२ कोप्लाङमा १५ फिट भासिएर अवरुद्ध बनेको नाका जोड्ने कोदारी राजमार्ग शुक्रबारसम्म सञ्चालनमा आउन सकेको छैन ।

यातायात अवरुद्ध हुँदा करोडौं मूल्यका सामग्री बोकेका सयौं कन्टेनर लिपिङ बजारक्षेत्रमा रोकिएका छन् । मितेरी पुलबाट पश्चिम तातोपानी बजारछेउ यस क्षेत्रमा अहिले सडक मर्मत गर्ने कार्य धमाधम चलिरहेको भोटेकोशी–२ का वडाध्यक्ष कुमार श्रेष्ठले जनाए ।

तत्काल साना सवारीसाधन सहज आउजाउ भए पनि ठूला भारका कन्टेनर पार हुने अवस्था नभएकाले नाकाका व्यवसायी हतास बनेको उनले बताए । ‘सडक मर्मत गरेर चलाउन काम भइरहेको छ, तर भासिने क्रम जारी रहेकाले ठूला भारका सवारीसाधन आउजाउ जोखिमपूर्ण देखिन्छ, सडकका कारण नाका ठप्प बनेको छ,’ उनले भने ।

२०७२ को भूकम्प र त्यसपछिको बाढीले क्षतिग्रस्त बनाएको सडक बर्खाअघि प्रतिदिन जीर्ण बनेपछि स्थानीयबीच त्रासपूर्ण अवस्था छ । बाह्रबिसे र काठमाडौं जोड्ने अन्य वैकल्पिक मार्ग छैन । चीनबाट बुधबारदेखि दैनिक १४/१५ मात्रै कन्टेनर लिपिङ र कोदारी बजार आएर रोकिएका छन् । कोदारी भेगछेउमा सडक अवरुद्ध बनेका कारण कन्टेनर अलपत्र पर्दा सामान पुर्‍याएर फर्केका कन्टेनर यही भेगमा अलपत्र बनेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले बताए ।

‘चीनले अनेक बहानामा थोरै कन्टेनर छाडिरहँदा अहिले सडकका कारण कन्टेनर बाटोमा रोकिँदा स्थानीय व्यवसायी थप आजित बनेका छन्, बर्खाअघि यो हुनु साह्रै दुःखद कुरा हो,’ उनले भने । यसअघि बाढीले बेलिब्रिज बगेपछि लिपिङ र लार्चामा कच्ची सडकको जोखिमपूर्ण गर्न बाध्य थिए । अहिले लिपिङमा बेलिब्रिज जोडिएको छ र लार्चामा बेलिब्रिज राख्ने काम अघि बढिसकेको छ ।

सामान ढिलो आउनुमाथि बाढीपहिरोले खासा र तातोपानीको सडक अवरोध हुने कारण व्यापार गर्दार् ढुवानी महँगो हुने समस्या यहाँका व्यापारीले बेहोरिरहेका छन् । यसअघि सडकका कारण लामो समय कन्टेनर बाटोमा थन्किँदा बैंकको ब्याज, गोदाम भाडा र कर्मर्चारी तलबका कारण सयौं व्यवसायी पेसाबाट पलायन भएका थिए । यसबाहेक चीनले खासा र यहाँसम्म पुग्ने करिब ७ किमि सडक र सुरुङ मार्ग निर्मार्ण गरिरहेकाले समयसमयमा कन्टेनर आउजाउमा ढिलाइ हुने गरेको छ ।

भूकम्पको चार वर्षपछि मालवाहक रूपमा एकतर्फी आयात हुने गरी चिनियाँ रुट सिस्टमा सीमित कन्टेनर मात्रै भित्रने गरी नाका खुल्यो । सडकका कारण नाकामा असहज वातावरण बनेको तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका सूचना अधिकारी सूर्य काफ्लेले बताए । ‘जीर्णर् सडकले समस्या बनाएको देखिन्छ, यस आर्थिक वर्षमा २१ अर्ब ८२ करोड राजस्व संकलनको लक्ष्य राखिएकोमा करिब पूरा भएको छ, गएको पुसमा मात्रै एक अर्ब ८४ करोड राजस्व उठेको छ,’ उनले भने ।

२०७८ वैशाख १८ मा निर्यात र त्यसको केही समययता सर्वसाधारणका लागि आउजाउ खुलाइयो । तर, चीनले एकोहोरो कन्टेनरबाट आयात मात्रै गर्न थालेपछि निर्यात स्थानीय थप निराश भए । तर पूर्ण रूपमा खोलिएको नाकामा हालसम्म चिनिँयाले एकोहोरो आफ्नो सामान मात्रै बिक्री गरिरहेका छन् । आयात दिनहुँ बढ्दो छ, निर्यात शून्य छ ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोप्लाङमा १५ फिट बाटो भासिएर अवरुद्ध बनेको सीमा जोड्ने कोदारी राजमार्ग मर्मर्त गरिँदै । तस्बिर : अनिश/कान्तिपुर

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully