कैलालीमा घट्यो गहुँको उत्पादकत्व

वैशाख १७, २०८२

चित्रांग थापा

Wheat productivity decreased in Kailali

धनगढी — कैलालीमा यो वर्ष गहुँ उत्पादन गत वर्षको तुलनामा कम हुने आंकलन गरिएको छ। कृषि ज्ञान केन्द्रले चैत अन्तिम साता गरेको गहुँबालीको औसत उत्पादकत्व परीक्षणको नतिजा अनुसार गत वर्षभन्दा उत्पादन कम हुने देखिएको हो।

यो वर्ष गहुँको औसत उत्पादकत्व प्रतिहेक्टर ३.३५ मेट्रिक टन हुने आंकलन गरिएको कृषि ज्ञान केन्द्र कैलालीका योजना तथा तथ्यांक शाखा प्रमुख मदनराज जोशीले बताए ।

उनका अनुसार गतवर्ष यो वर्षको अनुपातमा केही बढी ३४२ मेट्रिक टन प्रति हेक्टर उत्पादकत्व रहेको थियो । कैलालीका २ स्थानीय तह चुरे र मोहन्याल गाउँपालिकाबाहेक तराई भेगका ११ स्थानीय तहमा गरिएको उत्पादकत्व परीक्षणको आधारमा गहुँ उत्पादनको परिमाण आंकलन गरिएको जोशीले बताए ।

कैलालीको पूर्वीभेगमा गहुँ, धानलगायतका अन्नबालीको उत्पादन बढी नै हुने गरेको तथ्थ्यांक अधिकृत जोशीले बताए । ‘यो वर्ष पनि बर्दगोरीया, जानकी, जोशीपुर, भजनी, गौरीगंगा क्षेत्रमा गहुँ उत्पादन राम्रो छ,’ उनले भने, ‘जिल्ला सदरमुकाम आसपासका क्षेत्र धनगढी, गोदावरी र घोडाघोडी क्षेत्रमा पूर्वी भेगको भन्दा उत्पादकत्व घटेको छ ।’

उनका अनुसार यो वर्ष गहुँको सवैभन्दा बढी उत्पादकत्व बर्दगोरिया गाउँपालिका क्षेत्रमा प्रति हेक्टर ५.३३ मेट्रिक टन रहेको छ भने सवैभन्दा कम गोदावरी नगरपालिका र धनगढी उपमहानगरपालिका आसपासका क्षेत्रमा  प्रति हेक्टरमा २ १३ मेट्रिक टन रहेको छ ।

कृषि ज्ञान केन्द्र कैलालीको तथ्यांक अनुसार गतवर्ष जिल्लामा १ लाख १२ हजार ३१२ मेट्रिक टन गहुँ उत्पादन भएको थियो । यो वर्ष उत्पादकत्वमा केही ह्रास आएर १ लाख १० हजार १४ मेट्रिक टन उत्पादन हुने आंकलन गरिएको छ । जिल्लामा ६८ हजार हजार ९७६ हेक्टरमा गहुँखेती हुने गरेको छ ।

‘गहुँबालीका लागि आवश्यक पर्ने समयमा हिउँदभरी पानी पर्न नसकेको, खेतीयोग्य जमिनको तुलनामा सिँचाई सुविधा कम हुनु तथा उन्नत बिउबिजनको प्रयोग कम भएका कारण उत्पादकत्व घटेको देखिन्छ,’ तथ्यांक शाखा प्रमुख जोशीले भने, ‘४० हजार ३० हेक्टरमा नहर, कुलो र बोरिङबाट बाह्रै महिना सिँचाइ भए पनि २८ हजार ९४६ हेक्टरमा भने मौसमी बर्षाको भरमा खेती हुने गरेको छ ।’ उत्पादकत्वमा कमी आउनुको कारण यो बर्ष हिउँदमा पानी नपर्नु नै प्रमुख रहेको उनले बताए ।

यसरी आँकलन गरिन्छ बाली उत्पादकत्व

जिल्लाको बिभिन्न स्थानीय तहका गाउँबस्तीमा गहुँ फसल तयार भएर भित्र्याउने समयतिर कृषि प्रािवधिकको टोली उत्पादकत्व परीक्षणका लागि खेतमा पुग्ने गर्छन् । १ बर्गमिटरको फलामे रिङ खेतमा राखेर निश्चित क्षेत्रभित्र फलेको बाली काटेर संकलन गरिन्छ ।

‘एक ठाउँबाट एउटै खेतको ५ ठाउँमा १/१ वर्गमिटरको फलामे रिङभित्र पर्ने क्षेत्रबाट बाली कटान गरी संकलन गरिन्छ,’ कृषि ज्ञान केन्द्र कैलालीका प्राविधिक कर्मचारी नृपनाथ योगी भन्छन्, ‘यसरी बिभिन्न भेगबाट संकलन गरिएको गहुँलाई कम्तीमा २/३ घाम सुकाएर चिस्यान हटाएपछि तौलेर निस्केको परिमाणका आधारमा उत्पादकत्व परीक्षण गरिन्छ ।’

उनका अनुसार देशैभरी बाली उत्पादकत्व परीक्षण गर्ने यहीँ प्रविधिका आधारमा कुल खेती योग्य जमिनमा लगाएको बालीको बर्षेनी उत्पादकत्व आँकलन हुँदै आएको छ ।

कृषि ज्ञान केन्द्रले किसानहरुलाई साना सिँचाइ योजना, उन्नत बिउ, यान्त्रीकरण तथा बालीमा लाग्ने बिभिन्न रोग र संक्रमण रोक्न बिषादी उपलव्ध गर्दै आएको छ । तर किसान भने सरकारी सहयोग र अनुदान पर्याप्त नभएको गुनासो गर्दै आएका छन् ।

उनीहरु समयमा रासायनिक मल उपलव्ध नहुँदा सीमावर्ती क्षेत्रका बजारबाट कमसल मल भित्र्याएर खेती गर्नुपर्ने, उन्नत बिउ समयमा उपलव्ध नहुने र अत्यन्त महंगो बीउ किन्नुपर्ने पीडा पोख्ने गरेका छन् । आफुले उत्पादन गरेको अन्नबालीको उचित मूल्य नपाएर आधुनिक कृषि प्रणालीतर्फ किसान् आकर्षित हुन नसक्दा बालीको उत्पादकत्व घट्दै गएको  उनीहरु बताउँछन् ।

चित्रांग थापा कान्तिपुरका सुदूरपश्चिम संवाददाता हुन् ।

Link copied successfully