काठमाडौँ — यस आर्थिक वर्षको अन्त्यसम्म अर्थतन्त्रको आकार कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ६१ खर्ब ७ अर्ब पुग्ने प्रारम्भिक अनुमान गरिएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको यस आर्थिक वर्षको राष्ट्रिय लेखामान तथ्यांकले जीडीपीको आकार करिब ४ खर्ब रुपैयाँले बढ्ने अनुमान गरेको हो ।
गत वर्ष जीडीपीको आकार ५७ खर्ब ४ अर्ब रुपैयाँ कायम रहने प्रारम्भिक अनुमान गरिएपनि त्यसमा सामान्य परिवर्तन भएको ५७ खर्ब ९ अर्ब रुपैयाँ कायम रहेको कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष ०७९/८० मा अर्थतन्त्रको आकार ५३ खर्ब ६७ अर्ब रहने संशोधित अनुमान कार्यालयले गरेको छ ।
यस वर्ष नेपालीको प्रतिव्यक्ति आय १ हजार ५ सय १७ अमेरिकी डलर पुग्ने कार्यालयको अनुमान छ । गत आर्थिक वर्ष प्रतिव्यक्ति राष्ट्रिय कुल आय १ हजार ४ सय ६७ डलर रहने संशोधित अनुमान छ । आर्थिक वर्ष ०७९/८० मा प्रतिव्यक्ति आय १ हजार ४ सय १० अमेरिकी डलर रहेको कार्यालयले जनाएको छ ।
