काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक लगातार दोस्रो कारोबार दिन (सोमार र मंगलबार) पनि दोहोरो अंकले घटेको छ । सोमबार १४.५३ अंकले घटेको नेप्से मंगलबार १५.०८ अंकले घटेको हो । अघिल्लो दिनको तुलनामा ०.५७ प्रतिशतले घटेपछि मंगलबार समग्र नेप्से २ हजार ६ सय ३१.९८ बिन्दुमा ओर्लेको छ ।
सो दिन कारोबारमा आएकामध्ये ५७ कम्पनीको सेयर मूल्य बढ्यो भने १८८ वटाको घट्यो । मंगलबार कुल ६६ हजार २ सय ६५ पटकको सेयर कारोबारमा १ करोड ८४ लाख ९१ हजार ९ सय ४१ कित्ता सेयर किनबेच भए । नेप्से परिसूचकसँगै कारोबार रकम पनि निरन्तर घट्न थालेको छ ।
सोमबार सेयर बजारमा ८ अर्ब ९१ करोड २८ लाख रुपैयाँको सेयर किनबेच हुँदा मंगलबार ७ अर्ब ५७ करोड ५२ लाख ६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये सामूहिक लगानी कोषमा झिनो सुधार देखिए पनि बाँकी सबैको परिसूचक उच्च अंकले घट्यो । १२ वटै उपसमूहको परिसूचक उच्च अंकले घट्दा समग्र नेप्सेमा दोहोरो अंकको गिरावट आएको हो । सो दिन सबैभन्दा बढी जीवन बिमा उपसमूहको परिसूचक ७०.९३ अंकले घटेको छ । विकास बैंकको ४८.६५, होटल तथा पर्यटनको ४०.७४, निर्जीवन बिमाको ३९.९७ र लघुवित्तको ३६.४३ अंकले घटेको नेप्सेको तथ्यांक छ ।
नेप्से परिसूचक घट्दा धितोपत्र (सेयर) बजारको आकार (कुल बजार पुँजीकरण) भने एकै दिन २५ अर्ब रुपैयाँले खुम्चिएको छ । मंगलबार कारोबार बन्द हुँदा कुल बजार पुँजीकरण ४३ खर्ब ७६ अर्ब ३९ करोड ७५ लाख रुपैयाँ कायम भएको छ ।
आइतबार कारोबार बन्द हुँदा यस्तो पुँजीकरण ४४ खर्ब १ अर्ब ४८ करोड ८२ लाख रुपैयाँ थियो । यसले मंगलबार मात्रै कुल बजार पुँजीकरण २५ अर्ब ९ करोड रुपैयाँले खुम्चिएको देखिन्छ । दोस्रो बजारमा सूचीकृत कुल सेयर संख्यालाई सोही दिनको बजार मूल्यले गुणा गरेर कुल बजार पुँजीकरण गणना गरिन्छ ।
मंगलबार क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट ब्रेकरमार्फत कारोबार नियन्त्रण गरियो ।
सो दिन नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ९.९९, भूगोल इनर्जी डेभलपमेन्टको ९.०१, राधी विद्युत् कम्पनीको ७ र कर्पोरेट विकास बैंकको ६.६३ प्रतिशतले बढेको नेप्सेको तथ्यांक छ । तर, मध्य भोटेकोशी जलविद्युत्को सेयर मूल्य ९.८८, ग्रिन विकास बैंकको ७.७६, सिन्धु विकास बैंकको ६.६३, ग्रिनलाइफ हाइड्रोपावरको ४.५९ र हिमालयन हाइड्रोपावरको ४.०६ प्रतिशतले घटे ।
