मानसरोवर–कैलाश प्रतिबन्ध कायमै, ५ वर्षदेखि सुनसान हिल्सा नाका 

चीन सीमासम्म ९५ किमिको सिमकोट–हिल्सा सडक खुले पनि स्थानीयलाई छैन लाभ

वैशाख १७, २०८२

कृष्णप्रसाद गौतम

Mansarovar-Kailash ban remains, deserted Hilsa route for 5 years

सुर्खेत — नेपाल–चीन सीमास्थित हिल्सा नाका गत वर्ष बैशाख १८ गतेदेखि खुले पनि मानसरोवर दर्शन गर्न जाने तीर्थयात्रीको प्रतिबन्ध कायमै छ । चीनले कोरोना महामारीपछि झण्डै ५ वर्षदेखि कैलाश–मानसरोवरको नाका बन्द गरेको हो । कोरोना महामारी अघिसम्म बर्षेनि झण्डै १५ हजार भारतीय तीर्थयात्री हिल्सा हुँदै मानसरोवर–कैलाश यात्रामा जाने गरेका थिए ।

भारतीय तिर्थयात्रीले बैशाखदेखि असोजसम्म कैलाश मानसरोवर तीर्थयात्रा गर्ने गरेका छन् । भारतीय तीर्थयात्रीले सन् २००६ देखि हिल्सा मार्ग प्रयोग गर्न थालेका थिए । २०७२ सालको भुकम्पपछि तातोपानी नाका बन्द हुँदा हुम्लाको हिल्सा नाका भएर तीर्थयात्रा गर्नेको संख्या ह्वात्तै बढेको थियो ।

कैलाश मानसरोवर तीर्थयात्रा नखुलेपछि गत वर्ष भारतको ‘ट्रिप टु टेम्पल’ र काठमाडौंस्थित ‘पथिल होलिडेज’ ले माउन्टेन फ्लाइटबाटै मानसरोवर–कैलाश दर्शनको व्यवस्था मिलाइएको थियो । तर खर्च धान्न नसकिएपछि र पर्यटकको आकर्षण घटेपछि माउन्टेन फ्लाइट रोकिएको पथिल होलिडेजका प्रबन्ध निर्देशक महेश गौतमले बताए । उनका अनुसार गत वर्ष श्री एयरलाइन्सको माउन्टेन फ्लाइटमार्फत झण्डै ४ सय ४० जना भारतीय तीर्थयात्रीले कैलाश–मानसरोवर दर्शन गरेका थिए । 

उनले भारतीय तीर्थयात्रीहरु मानसरोवर दर्शनका लागि लालायित भए पनि सरकारले बेवास्ता गर्दा समस्या भएको बताए । ‘दैनिकजसो भारतीय तीर्थयात्रीले हामीलाई तीर्थयात्राको व्यवस्थापनका लागि आग्रह गरेर फोन गरिरहेका छन्, तर हामीले गर्न सक्ने केही छैन,’ उनले भने, ‘तीनवटै देशका सरकारबीच यसमा समन्वय हुन जरुरी छ ।’

माउन्टेन फ्लाइटका कारण केही समय नेपालगन्जका होटलहरु भरिभराउ भए पनि अहिले खाली भएको शिद्धार्थ ग्रुप अफ हस्पिटालिटीका क्षेत्रीय निर्देशक केशव न्यौपानेले बताए । ‘कैलाश दर्शनका लागि आउने भारतीय तीर्थयात्रीका लागि नेपालगन्ज ट्रान्जिट हो, जसका कारण नेपालगन्जमा ठूला होटलहरु खुल्ने क्रम बढिरहेको थियो,’ उनले भने, ‘तर नाका नखुल्दा आर्थिक कारोबार घटिरहेको छ, अहिले अधिकांश होटलहरु खाली भएका छन् ।’ 

कर्णालीको पर्यटन विकासका लागि मानसरोवर–कैलाश रुट तुरुन्त खोल्न जरुरी रहेको हुम्लाका पर्यटन व्यवसायी विजय लामाले बताए । उनका अनुसार भारतीय पर्यटकलाई लक्षित गरी हुम्ला सदरमुकाम सिमकोटमा झण्डै एक दर्जन ठूलो लगानीका होटलहरु खुलेका छन् । ‘भारतीय पर्यटकले मानसरोवर दर्शनका लागि हुम्लाको बाटो प्रयोग गर्न थालेपछि ठूलो लगानीका होटल धमाधम खुले, १/२ वर्ष त पर्यटकको चाप र व्यवसाय ठिकै थियो, तर पछि कोरोना महामारीका कारण चीनले नाका बन्द गरेपछि पूरै व्यवसाय ठप्प छ,’ उनले भने, ‘अब व्यवसाय प्रवर्द्धनका लागि भए पनि सरकारले कुटनितिक पहल गर्न जरुरी छ ।’ 

उनले पटकपटक जिल्ला प्रशासन कार्यालयमार्फत परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा ध्यानाकर्षण गराइए पनि बेवास्ता भइरहेको बताए । उनका अनुसार कोरोना महामारीअघि २०७६ चैत अघिसम्म बर्सेनि झण्डै १५ हजार भारतीय पर्यटकहरु मानसरोवर दर्शनका लागि आउने गरेका थिए ।

चीनले–कैलाश मानसरोवर तीर्थयात्रा बन्द गरेपछि झण्डै २ वर्ष नेपाली भूमि नाम्खा गाउॅपालिका–६ लाप्चाबाट कैलाश दर्शनको व्यवस्था मिलाइएको थियो । नाम्खा गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाका अनुसार लाप्चाबाट झण्डै ७ सय ८१ जना भारतीय तीर्थयात्री र ४ सय ८९ जना विदेशी पर्यटकले मानसरोवर–कैलाशको दर्शन गरेका थिए । 

‘भारतीय तीर्थयात्री मानसरोवर नै जान चाहन्छन्,’ उनले भने, ‘त्यसैले नेपाली भूमिबाट दूरदर्शन गर्न पनि भारतीय पर्यटक इच्छुक देखिएनन् ।’  जिल्ला समन्वय समिति हुम्लाका प्रमुख शिवराज शर्माले कैलाश–मानसरोवर तीर्थयात्रा नखुल्दा जिल्लाको पर्यटन व्यवसाय शून्यमा झरेको बताए ।

‘चीनले हिल्सा नाका त खोल्यो, तर मानसरोवर अझै खुलेन,’ उनले भने, ‘यहाँका होटेलहरु सुनसान छन्, स्थानीय उत्पादनले बजार पाएको छैन, पर्यटन व्यवसायीको लगानी डुबेको छ ।’ उनका अनुसार अहिले सदरमुकाम सिमकोटदेखि चिनियाँ नाका हिल्सासम्म ९५ किलोमिटर सडक खुलेको छ । सडक खुले पनि नेपालले कुनै फाइदा गर्न नसकेको उनको भनाइ छ । ‘हिल्सापारि अर्कै संसार छ, यता अर्कै, उता पूर्वाधार र विकास निर्माणले फड्को मारेको छ,’ उनले भने, ‘यता होटलहरु सुनसान, न भन्सार न सरकारी कर्मचारी, नाका खुलाउन संघीय सरकारले कुटनीतिक पहल थाल्न जरुरी छ ।’ 

उनका अनुसार कोरोना महामारीअघि भारतीय तीर्थयात्रीले हुम्लाबाट सिमी, ओखर, स्याउलगायत उत्पादन कोसेलीको रुपमा लैजाने गरेका थिए । अहिले नाका नखुल्दा स्थानीय उत्पादनले पनि बजार नपाएको उनको भनाइ छ ।

कोरोना महामारीअघि भारतीय तीर्थयात्री ओसार्न तारा, सीता र समिट एयरलाइन्सले नेपालगन्जदेखि सिमकोटसम्म दैनिक ४० वटासम्म उडान गरेको हुम्ला विमानस्थलको तथ्यांक छ । कर्णालीको समग्र पर्यटन चलायमान बनाउन पनि कैलाश–मानसरोवर तीर्थयात्रा खोल्न जरुरी रहेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए । ‘अहिले त चीन सीमाको हिल्सासम्मै सडक जोडिएकाले तीर्थयात्रीका लागि सजिलो भएको छ, कोरोना महामारीअघि १० दिनसम्म पैदल हिँडेर पनि भारतीय तीर्थयात्री कैलाश दर्शनका लागि जाने गरेका थिए,’ उनले भने, ‘चीन सीमासम्मै सडक खुले पनि केही उपभोग नै भएन, अब मानसरोवर नाका खुले तीर्थयात्री सडक मार्गबाटै मानसरोवरसम्म पुग्न सक्छन् ।’ 

मानसरोवर हिन्दू र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र हो । चीन सरकारले प्रत्येक वर्षको अप्रिलदेखि सेप्टेम्बरसम्म तीर्थयात्रीको सुविधाका लागि तीर्थयात्रा खोल्ने गरेको भए पनि कोरोना महामारीका कारण २०७६ चैतदेखि बन्द छ । गत वर्ष बैशाखदेखि सरकारले नेपाल–चीन सीमाको हिल्सा नाका भने खुला गरेको थियो । हिल्सामा दुई दर्जन पर्यटकीयसहित झण्डै ३५ वटा होटलहरु छन् । नाका खुले पनि पर्यटकीय आवागमन नहुँदा हिल्साका होटेलहरु लामो समयदेखि सुनसान रहेको होटल व्यवसायी नाम्देल लामाले बताए । 

‘मानसरोवर कैलाश दर्शन गर्न जाने प्रमुख रुट यही हो, चीनले नाका खोले पनि भारतीय दर्शनार्थीका लागि मानसरोवर प्रवेशको अनुमति दिएको छैन,’ उनले भने, ‘अन्य देशका पर्यटक पनि आएका छैनन्, हुम्लाका स्थानीयहरु पनि चीनतिर जान नपाउँदा होटल चल्नै पाएका छैनन् ।’ 

उनका अनुसार हिल्साका होटलहरुमा व्यवसायीले झण्डै १० लाखदेखि २ करोडसम्म लगानी गरेका छन् । अर्का व्यवसायी कर्मा लामाका अनुसार कोरोनाअघि हिल्सा नाकामा पर्यटक र स्थानीयको निकै चहलपहल हुने गरेको थियो । ‘कोरोनाअघि बजारमा पर्यटक, भरिया र स्थानीयको बिहान सबेरैदेखि राति १० बजेसम्म चहलपहल हुन्थ्यो, कोरोनाको कारण नाका बन्द हुँदा ठूलो नोक्सानी व्यहोर्‍यौं,’ उनले भने, ‘मानसरोवर कैलाश दर्शनको समयमा १० वटा हेलिकोप्टरले दैनिक झण्डै डेढ सय वटासम्म उडान भर्ने गरेका थिए, अहिले त होटल खोलेर पनि के गर्ने मानवीय आवागमन शून्यजस्तै छ ।’ 

अहिले हिल्सा आसपासका क्षेत्रमा हिउँ जमेकाले पनि आवागमनमा केही समस्या भएको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए । उनका अनुसार हिमपात नभएको समयमा सदरमुकाम सिमकोटबाट हिल्सासम्म यात्रुबाहक गाडीहरु आउजाउ गर्ने गरेका छन् । चिनियाँ सहर ताक्लाकोटमा मजदुरी गर्न जानेहरुले हिल्सा नाका प्रयोग गर्दै आइरहेका छन् । ताक्लाकोट जानका लागि झण्डै ७ हजार जनाले अस्थायी अनुमति पत्र बनाएको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए । 

उनका अनुसार चीनबाट फर्कदा स्थानीयले एक पोका (बोरा) मात्र सामान ल्याउन पाउँछन् । ‘नेपालीहरुले चाहिनेजति सामान ल्याउन पाउनेगरी चिनियाँ अधिकारीसँग कुराकानी भइरहेको छ,’ उनले भने, ‘सरकारी ढुवानी अनुदानको चामल र नुन भने हिमपात नभएको समयमा केरुङ नाका हुँदै हुम्लामा आइरहेको छ ।’ उनले यो वर्ष चिनियाँ काउण्टर पार्ट र जनप्रतिनिधिसहित पहिलोपल्ट, दोस्रोपल्ट अध्यागमन विभागका महानिर्देशकसहित र दुवै देशका सुरक्षा अधिकारीसहित गरी ३ पल्ट बैठक बसेको बताए । 

कृष्णप्रसाद गौतम गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully