सुन खरिद सिफारिस दिँदा शुल्क नलिन निर्देशन

सुनचाँदी व्यवसायी महासंघ, रत्न तथा आभूषण व्यवसायी महासंघ, हस्तकला महासंघ र रत्न आभूषण संघ, सुनचाँदी कला व्यवसायी संघ र सुनचाँदी व्यवसायी संघ (केन्द्र) ले व्यवसायीलाई सुन खरिदका लागि सिफारिस दिँदै आएका छन्

वैशाख १७, २०८२

कान्तिपुर संवाददाता

Instructions not to charge for recommending gold purchase

काठमाडौँ — सुन खरिदको सिफारिस दिँदा सुन व्यवसायसम्बन्धी संघ/महासंघले व्यवसायीहरूबाट शुल्क लिन नपाउने भएका छन् । यसअघि सुन व्यवसायसम्बन्धी संघ/महासंघले व्यवसायीलाई सुन खरिदको सिफारिस दिँदा मनपरी शुल्क लिएको भन्ने गुनासोका आधारमा नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले मंगलबार सो निर्देशन जारी गरेको हो । 

नयाँ व्यवस्थाअनुसार अब सुन व्यवसायसम्बन्धी संघ/महासंघले व्यवसायीलाई निःशुल्क रूपमा सुन खरिदका लागि सिफारिस दिनुपर्नेछ । ‘सुन व्यवसायसम्बन्धी संघ/महासंघले वाणिज्य बैंकबाट सुन खरिद गर्ने व्यवसायीलाई सिफारिस गर्दा कुनै पनि प्रकारको सिफारिस दस्तुर वा शुल्क लिन नपाइने व्यवस्था रहेको हुँदा सोहीअनुसार गर्नू/गराउनू हुन सूचना जारी गरिएको छ,’ निर्देशनमा भनिएको छ । 

नेपालमा वाणिज्य बैंकहरूले मात्र सुन आयात गर्न पाउँछन् । व्यवसायीहरूले वाणिज्य बैंकहरूबाट किन्नुपर्छ । बैंकबाट सुन किन्नका लागि व्यवसायसँग सम्बन्धित संघ वा महासंघको सिफारिस चाहिन्छ । यसरी व्यवसायीलाई सुन खरिदको सिफारिस दिँदा संघ/महासंघले प्रतिकिलो ६ हजार रुपैयाँसम्म शुल्क लिँदै आएका थिए । यही गुनासो राष्ट्र बैंकमा पुगेपछि अहिले त्यस्तो सिफारिस शुल्क लिन नपाइने व्यवस्था गरिएको हो । 

सुन आयात तथा बिक्री वितरणसम्बन्धी कार्यविधि २०६८ मा संघ/महासंघले सुन खरिदको सिफारिस दिँदा व्यवसायीबाट शुल्क लिन नपाइने व्यवस्था छ । तर, सो व्यवस्थाविपरीत संघ/महासंघले सिफारिस शुल्क लिइरहेको गुनासो तथा उजुरी आएपछि त्यसलाई रोक्न निर्देशन जारी गरिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले बताए ।

‘विद्यमान कानुनमा संघ/महासंघले सिफारिस दिँदा व्यवसायीबाट कुनै पनि शुल्क लिन नपाउने व्यवस्था छ । तर संघ/संस्थाले व्यवसायीबाट शुल्क उठाउँदै आएका रहेछन्,’ प्रवक्ता पौडेलले भने, ‘त्यो विकृति रोक्न राष्ट्र बैंकले निर्देशन जारी गरेको हो ।’ 

हाल नेपाल सुनचाँदी व्यवसायी महासंघ, रत्न तथा आभूषण व्यवसायी महासंघ, हस्तकला महासंघ र रत्न आभूषण संघ, सुनचाँदी कला व्यवसायी संघ र नेपाल सुनचाँदी व्यवसायी संघ (केन्द्र)ले व्यवसायीहरूलाई सुन खरिदका लागि सिफारिस दिँदै आएका छन् । उल्लिखित महासंघ तथा संघले मनपरी ढंगले सिफारिस शुल्क उठाउँदै आएको व्यवसायीहरूको गुनासो छ । सिफारिस शुल्कमा मनपरी भएकाले विकृति बढेको भन्दै व्यवसायीहरूले राष्ट्र बैंक, वाणिज्य मन्त्रालयलगायत विभिन्न निकायमा उजुरी गरेका थिए । 

राष्ट्र बैंकले शुल्क नलिन निर्देशन जारी गरे पनि अटेर गर्ने व्यवसायीलाई कारबाही गर्न सक्दैन । किनकि सुनचाँदी व्यवसायी संघ/महासंघ र व्यवसायीहरू राष्ट्र बैंकको नियमनभन्दा बाहिर हुन्छन् । तर, निर्देशन जारी गरेपछि पनि अटेर गर्ने संघ/महासंघ तथा व्यवसायीलाई सुन नदिनु भनेर राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई निर्देशन दिन सक्छ । यसकारण पनि सुनचाँदी व्यवसायी, संघ तथा महासंघले राष्ट्र बैंकको निर्देशन पालना गर्नैपर्ने जानकारहरू बताउँछन् ।

कान्तिपुर

Link copied successfully