सोमबार ७८ वटा कम्पनीको सेयर मूल्य बढ्दा १६७ वटाको घट्यो, मूल्य बढ्नेभन्दा घट्ने कम्पनी धेरै र गिरावटको दर पनि बढी
काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार करिब साढे १४ अंकले घट्दा धितोपत्र (सेयर) बजारको आकार (कुल बजार पुँजीकरण) भने २४ अर्बले खुम्चिएको छ । सोमबार कारोबार बन्द हुँदा कुल बजार पुँजीकरण ४४ खर्ब १ अर्ब ४८ करोड ८२ लाख रुपैयाँ कायम भएको छ ।
आइतबार कारोबार बन्द हुँदा यस्तो पुँजीकरण ४४ खर्ब २५ अर्ब ६५ करोड ९७ लाख रुपैयाँ थियो । यसले सोमबार मात्रै कुल बजार पुँजीकरण करिब २४ अर्ब १७ करोड रुपैयाँले खुम्चिएको देखिन्छ । दोस्रो बजारमा सूचीकृत कुल सेयर संख्यालाई सोही दिनको बजार मूल्यले गुणा गरेर कुल बजार पुँजीकरण गणना गरिन्छ ।
सोमबार कारोबारमा आएका कुल कम्पनीमध्ये ७८ वटाको मात्र सेयर मूल्य बढेको छ भने १६७ वटाको घटेको छ । सेयर मूल्य बढ्नेभन्दा घट्ने कम्पनी धेरै र गिरावटको दर पनि बढिरहेकाले एकै दिन कुल बजार पुँजीकरणमा २४ अर्ब १७ करोड रुपैयाँले कमी आएको हो ।
सोमबार नेप्से परिसूचक १४.५३ अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा ०.५४ प्रतिशतले घटेर समग्र नेप्से २ हजार ६ सय ४७.०७ बिन्दुमा ओर्लेको हो । गत बिहीबार पनि सामान्य अंकले बढेको नेप्से आइतबार साढे ३ अंकले बढेर बन्द भएको थियो । तर, नेप्सेको वृद्धि सोमबारसम्म पनि टिकेन ।
मुलुकमा राजनीतिक स्थिरता नदेखिएको, सरकार कति दिन टिक्छ भन्ने अन्योल बढ्दै गएकाले लगानीकर्तामा आत्मविश्वास बढ्न नसकेको एक धितोपत्र ब्रोकरले बताए । लगानीका लागि चाहिने मुख्य कुरा आत्मविश्वास हो र अहिले त्यसकै खडेरी रहेकाले लगानीकर्ताले थप लगानी विस्तार गर्न नसकेको ती अधिकारीले बताए ।
सोमबार कुल ७६ हजार ९ सय ९८ पटकको सेयर कारोबारमा २ करोड ३६ लाख ८९ हजार ७१ कित्ता सेयर किनबेच भए । सो दिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको हो । ती सेयर खरिदबिक्रीबाट ८ अर्ब ९१ करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार १० अर्ब ८७ करोड ५९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
कुल १३ उपसमूहमध्ये वित्त कम्पनी र व्यापारबाहेक सबैको परिसूचक घटेपछि समग्र नेप्सेमा दोहोरो अंकको गिरावट आएको हो । सो दिन वित्त कम्पनीे ३४ र व्यापार १९.२४ अंकले बढेको । घट्ने उपसमूहमा उत्पादन तथा प्रशोधन, लघुवित्त, जलविद्युत्, सामूहिक लगानी कोष, जीवन बिमा, निर्जीवन बिमालगायत रहे ।
उत्पादन तथा प्रशोधन ३९.०८, लघुवित्त ३५.७८, जलविद्युत् २६.५३, जीवन बिमा १८.३५ र निर्जीवन बिमा ३.४४ अंकले घटेको नेप्सेले जनाएको छ । सोमबार नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेदा सर्किट ब्रेकरमार्फत कारोबार नियन्त्रण गर्नुपरेको थियो । सो दिन क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको ९.९९, मध्य भोटेकोशी जलविद्युत्को ७.६२, ग्रिन डेभलपमेन्टको ६.९७ र एनआईएमबी डेबेञ्चर २०९० को ५.९१ प्रतिशतले सेयर मूल्य बढे । तर, सप्तकोशी विकास बैंकको सेयर मूल्य ८.४५, युनिभर्सल पावर कम्पनीको ४.८०, त्रिशूली जलविद्युत् कम्पनीको ४.७९, मन्दाकिनी हाइड्रोपावरको ४.३३ र श्वेतगंगा हाइड्रोपावर एन्ड कस्ट्रक्सनको ४.२५ प्रतिशतले घटे ।
कारोबार रकमका आधारमा ङादी ग्रुप पावर, राधी विद्युत् कम्पनी, युनिभर्सल पावर कम्पनी, हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी प्रमोटर र सानिमा माई हाइड्रोपावर कम्पनी अग्र पक्तिमा रहे । जसअनुसार ङादी ग्रुप पावरको ७० करोड ९४ लाख ७१ हजार, राधी विद्युत् कम्पनीको ४५ करोड १० लाख, युनिभर्सल पावर कम्पनीको ३८ करोड १३ लाख, हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी प्रमोटरको ३५ करोड ३६ लाख र सानिमा माई हाइड्रोपावरको ३३ करोड ७५ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ ।
