नेपालको पहिलो विश्व जैविक विविधता संरक्षित क्षेत्रका रूपमा सूचीकरणका लागि पहल भइरहेको युनेस्कोको भनाइ
काठमाडौँ — विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा अझै पनि अपेक्षित रूपमा प्रवर्द्धन हुन नसकेको भन्दै यस क्षेत्रलाई स्थानीय सहभागिता, दिगो पर्यटन र जैविक विविधताको संरक्षणसँग जोडेर विश्वमञ्चमा स्थापित गर्नुपर्नेमा जानकारले जोड दिएका छन् । कञ्चनजंघा आरोहणको ७०औं वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा कञ्चनजंघालाई स्थानीय सहभागिता र दिगो विकासको मोडलमा प्रवर्द्धन गरिनुपर्ने आवाज उठ्यो ।
काठमाडौंस्थित बेलायती दूतावासले समृद्ध पहाडसँगको सहकार्यमा आयोजना गरेको कार्यक्रममा कञ्चनजंघा क्षेत्रको संरक्षण, पर्यटन प्रवर्द्धन र ऐतिहासिक महत्त्वलाई विश्व मञ्चमा उजागर गर्ने पहलबारे जानकारी पनि दिइयो । कञ्चनजंघालाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याउँदै बेलायती राजदूत रब फेनले यस क्षेत्रको मौलिकता, जैविक विविधता र सांस्कृतिक सम्पदाको संरक्षण अनिवार्य रहेको बताए । कञ्चनजंघा क्षेत्रमा पर्यटकको संख्या पछिल्लो वर्षमा ६०० बाट ८०० मात्रै पुगेको उल्लेख गर्दै उनले यसलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न थुप्रै काम बाँकी रहेको औंल्याए ।
कञ्चनजंघाको ऐतिहासिक पृष्ठभूमि सम्झँदै उनले सन् १९५२ सम्म यसलाई विश्वकै सबैभन्दा अग्लो हिमाल मानिने गरेको स्मरण गरे । ड्युक अफ एडिनबरा अवार्ड कार्यक्रमअन्तर्गत बेलायती र नेपाली युवालाई कञ्चनजंघा क्षेत्रमा साहसिक पर्यटकीय यात्रामा सहभागी गराउने प्रयास भइरहेको पनि उनले अवगत गराए । हालै मात्र नेपाल भ्रमणबाट फर्किएका राजकुमार एडवार्ड र राजकुमारी डचेस अफ एडिनबरा सोफी पनि कञ्चनजंघा प्रवर्द्धन अभियानमा जोडिएको राजदूत फेनको भनाइ छ ।
कञ्चनजंघाको ऐतिहासिक महत्त्वलाई थप उजागर गर्न पोखराको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा पहिलो आरोहणका तस्बिर र भिडियो राख्न नेपाल पर्वतारोहण संघका निमादोर्जे शेर्पाले प्रस्ताव गरे । सन् १९५५ को मे २५ मा बेलायती आरोही जो ब्राउन र जर्ज ब्यान्डले पहिलो पटक कञ्चनजंघा सफलतापूर्वक आरोहण गरेको उनले स्मरण गरे । उनीहरूले चुचुरोभन्दा १० मिटर तल रोकिएर हिमालप्रतिको सम्मान प्रकट गरेको प्रसंग पनि कार्यक्रममा प्रस्तुत गरियो ।
संरक्षण र पर्यटन विकास सँगसँगै लैजानुपर्ने आवश्यकता रहेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन समितिका खगेन्द्र फेमु लिम्बूको भनाइ छ । हिमाल आरोही मिङ्मा डेभिड शेर्पाले ताप्लेजुङमा हुर्किंदाको अनुभव सुनाउँदै स्थानीयको क्षमतामा आधारित पर्यटन विकासले समृद्धि ल्याउने विश्वास व्यक्त गरे । कार्यक्रममा युनेस्कोका प्रतिनिधिले कञ्चनजंघालाई नेपालको पहिलो विश्व जैविक विविधता संरक्षित क्षेत्रका रूपमा सूचीकरणका लागि पहल भइरहेको जनाए ।
आसन्न सगरमाथा संवाद जस्ता पहलले नेपालको हिमाली मुद्दालाई विश्वस्तर पुर्याउने अवसर सिर्जना गरिरहेको राजदूत फेनले बताए । ‘सगरमाथा विश्वको प्रतीक भए जस्तै कञ्चनजंघालाई पनि उचित योजना र स्थानीयको हित हुने गरी विकास गर्न आवश्यक छ,’ उनले भने । सगरमाथा संवादमा बेलायतको सक्रिय सहभागिता सुनिश्चित गर्ने तयारी भइरहेको पनि उनको भनाइ छ । बेलायतबाट वातावरण मन्त्रालयका मन्त्रीलाई सहभागी गराउने प्रयास भइरहेको उनले जनाए ।
