सातामा झन्डै ४१ अर्बको सेयर कारोबार, जलविद्युत्‌को मात्र ४९ प्रतिशत

जलविद्युत् उपसमूहको मात्र २० अर्ब रुपैयाँको सेयर किनबेच, बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको कारोबार भने घट्दो

वैशाख १४, २०८२

कान्तिपुर संवाददाता

41 billion share turnover in the week, only 49 percent of hydropower

काठमाडौँ — गत साता सेयर बजारमा ४० अर्ब ९८ करोड ५४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कुल साप्ताहिक कारोबारमा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको हिस्सा करिब २३ प्रतिशत मात्र छ । गत साता आइतबारदेखि बिहीबारसम्म भएको वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी, लघुवित्त, जीवन बिमा र निर्जीवन बिमा कम्पनी उपसमूहअन्तर्गतका कम्पनीको सेयर कारोबारका आधारमा यस्तो विश्लेषण गरिएको हो ।

यस अवधिको कुल सेयर कारोबारमा जलविद्युत् उपसमूहको हिस्सा मात्र करिब ४९ प्रतिशत छ । उक्त अवधिमा जलविद्युत् उपसमूहको मात्र २० अर्ब रुपैयाँको सेयर किनबेच भएको छ । पछिल्ला सातामा जलविद्युत् उपसमूहमा रहेका कम्पनीको सेयर कारोबार बढ्दो छ । तर बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको कारोबार घट्दो छ । यस्तो प्रवृत्तिले सेयर बजारमा जलविद्युत् कम्पनीको प्रभुत्व बढ्दै गएको देखिन्छ । जलविद्युत् कम्पनीहरूको वित्तीय अवस्था राम्रो, उचित प्रतिफललगायत कारणले सेयर बजारमा कारोबार हिस्सा बढेको तथा उल्लिखित सूचक नराम्रो भएकाले बैंक र बिमाको हिस्सा घटेको पक्कै होइन । 

सेयर बजारमा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूको संख्या घटेको छ । खासगरी मर्जर तथा एक्विजिसनका कारण धेरै बैंक र बिमा कम्पनीको संख्या घटेको छ भने यो क्रम लगातार चलिरहेको छ । यसरी सेयर बजारमा सूचीकृत कम्पनी नै कम भएकाले कुल कारोबारमा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको हिस्सा पनि कम भएको हो । 

पछिल्ला वर्षमा सेयर बजारमा सूचीकृत हुनेमध्ये धेरैजसो जलविद्युत् कम्पनी छन् । कम्पनी नै धेरै भएकाले कुल कारोबारमा जलविद्युत् उपसमूहको हिस्सा पनि बढी देखिएको हो । यो क्रम झनै बढ्ने देखिन्छ । हाल सेयर (आईपीओ) निष्कासनका लागि प्रक्रियामा रहेका कम्पनीमध्ये चार दर्जनभन्दा बढी जलविद्युत् कम्पनी छन् । ती कम्पनी दोस्रो बजारमा सूचीकृत भइसक्दा जलविद्युत् उपसमूहमा कम्पनी संख्या करिब १ सय ५० हुने देखिन्छ । यसकारण आउँदा वर्षमा सेयर बजारमा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको हिस्सा घट्दो तथा जलविद्युत्को बढ्दो हुने निश्चित छ । 

गत साताको कुल कारोबारमा लगानी उपसमूहको हिस्सा १४.८५ प्रतिशत छ । उक्त अवधिमा यो उपसमूहअन्तर्गतका कम्पनीहरूको ६ अर्ब ९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । गत चैत मसान्तसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीको कुल संख्या २ सय ६८ छ । यसमध्ये १३० बैंक तथा वित्तीय संस्था र बिमा कम्पनी छन् । ९१ जलविद्युत् कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् । ०८० चैतमा सूचीकृत कम्पनीको संख्या २७१ थियो । 

सूचीकृत कम्पनीमध्ये बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ५३.२ प्रतिशत छ । जलविद्युत् कम्पनीको हिस्सा १५.७, लगानी कम्पनीको ७.६, उत्पादन तथा प्रशोधन उद्योगको ५.४, व्यापारिक संस्थाको ५.१, होटलको हिस्सा २.६ र अन्य समूहका कम्पनीको हिस्सा १०.४ प्रतिशत रहेको नेप्सेको तथ्यांक छ । 

गत साता पाँचै दिन सेयर बजार खुल्यो, जसमध्ये चार दिन नेप्से घट्यो भने अन्तिम दिन बिहीबार नेप्से सामान्य अंकले बढेर बन्द भयो । अघिल्लो बिहीबार २ हजार ७ सय २२.७३ अंकमा बन्द भएको नेप्से गत बिहीबार २ हजार ६ सय ५८.०२ अंकमा झरेर बन्द भएको छ ।

कान्तिपुर

Link copied successfully