काँक्राको बिउ बेचेरै वार्षिक करिब ४ करोड रुपैयाँ कमाउँछन् पाङराङका किसान
पर्वत — फलेवास नगरपालिका–११ स्थित पाङराङ गाउँ भक्तपुरे लोकल जातको काँक्राको बिउ उत्पादनका लागि देशैभर परिचित छ। यो गाउँबाट वार्षिक ४ करोड रुपैयाँ बढीको काँक्राको बिउ बिक्री हुने गरेको छ। साविकको पाङराङ गाविसमा रहेको सिरकान तल्लो बेल्ट, अमरी, बाँस्कोट र कर्नासमा काँक्राको बिउ बढी उत्पादन हुने गरेको नारायणस्थान बिउ उत्पादक सहकारी संस्थाकी अध्यक्ष मायाकुमारी पाठकले बताइन्।
उनका अनुसार यहाँका किसानको आम्दानीको मुख्य स्रोतनै काँक्राको बिउ भएको छ। उनी अध्यक्ष रहेको सहकारीमा ७२ जना किसान आबद्ध छन्। उनीहरूले करिब २ सय रोपनीमा काँक्राको बिउ उत्पादन गर्दै आएका छन्।
‘सहकारीमा आवद्ध किसानले आ–आफ्नै खेतीयोग्य जमिनमा बिउका लागि काँक्रा फलाएका छन्। गतवर्ष २ करोड बराबरको बिउ हामीले बेच्यौं,’ उनले खेतमा फलाएको हरियो काँक्रा देखाउँदै भनिन् । पाठकले सहकारीमा आबद्धता नभएका बाँकी किसानले पनि आफूहरूकै बराबरीमा बिउ उत्पादन र बिक्री गर्दै आएको सुनाइन्।
‘गतवर्ष बिउलाई राम्रै पैसा परेको भन्नु पर्छ । बेच्नेले केजीको १४ हजारसम्म पार्नुभयो भने कसैले १० हजारमा बेच्नुभयो, यो भनेको निकै राम्रो हो,’ उनले भनिन् । कृषि ज्ञान केन्द्र पर्वतका अनुसार गतवर्ष पाङराङबाट ३५ सय केजी काँक्राको बिउ बिक्री भएको छ । ‘ज्ञान केन्द्रमा उहाँहरू नजोडिनु भएकाले ठ्याक्कै कति उत्पादन भयो यकिन त हुँदैन,’ कृषि ज्ञान केन्द्र पर्वतकी सूचना अधिकारी सोविता सुबेदीले भनिन्, ‘मैले त्यहाँको सहकारी र किसानसँग बुझ्दा ३५ सय केजी उत्पादन भएको भन्ने छ ।’
१२ वर्षदेखि सहकारीकी अध्यक्ष रहेकी पाठक आफू पनि कृषक हुन् । उनले आफ्नो १० रोपनी जमिनमा बिउका लागि काँक्रा फलाएकी छिन् । उनले सबैभन्दा बढी बिउ बेचेको भनेको २०६१ मा हो । त्यतिबेला १ सय ६८ केजी बिउ १५ सय केजीका दरले बिक्री गरेकी थिइन् ।
कृषिमा होमिएर एकै पटकमा २ लाख ५२ हजार रुपैयाँ कमाउँदा उनको खुसीको सीमा थिएन । ‘यस वर्ष १ सय ५० केजी बिउ उत्पादन गर्न लक्ष्य हो । मूल्य कति पर्छ भन्ने नै हुँदैन । पोहोर जस्तो मूल्य पाए त १६/१७ लाखै कमाइन्थ्यो’, उनले भनिन्, ‘पोखरेली जेठोबुढो धानको बिउ पनि उत्पादन गर्छु । छोराछोरी सबै विदेशतिर छन् । घरमा बुढा र म खेतीपाती गर्दै आएका छौं । पैसा त कमाइएकै छ, सबैभन्दा ठूलो आनन्द रहेछ ।’
५८ वर्षका आत्मराम पौडेलले पनि ३ रोपनी आफ्नो जमिनमा बिउ उत्पादनका लागि काँक्रा फलाएका छन् । घरमा आफू र श्रीमतीमात्र रहेका उनले यसवर्ष ४० केजी बिउ निकाल्ने योजनामा छन् । ‘१० हजारमा बेच्न पाएं भने ४ लाख पर्यो, ५ हजारमै बेचें भने पनि २ लाख आयो’, उनले आफ्नै काँक्रा बारीमा गफिँदै भने । उनका अनुसार ३० हजारजती खर्च हुन्छ । अरु चाहिँ नाफा हो । उनले भने, ‘त्यसमा श्रीमती र मेरो श्रमको ज्याला चाहिँ गणना छैन ।’
उनले २०५९ देखि बिउ उत्पादन सुरु गरेका हुन् । ३० वटा जति सर्लक्कको काँक्रा चिरियो भने १ केजी बिउ निकाल्न सकिने पौडेल बताउँछन् । ‘बेर्ना जमाउनेले माघ १५ देखि र सोझै बिउ रोप्नेले फागुनको दोस्रो हप्ताभित्रमै मेट्नु पर्छ,’ उनले भने । उनका अनुसार बोटमै रातो भएर पाकेपछि काँक्रालाई टिपेर एक साता कोठाभित्र शितल बनाएर राख्नु पर्छ । त्यसपछि काँक्रालाई अर्को एक साता चिरा पारेर घाम नपर्ने गरी शितलमै सुकाउनु पर्छ । ‘अन्तिममा एक दिन घाममा सुकाएपछि बिउ बिक्रीका लागि तयार हुन्छ,’ उनले भने ।
पाङराङले काँक्राको बिउ उत्पादनमा ख्याती कमाएको २५ वर्षजति भयो । त्यसअघि व्यवसायिक बिउ उत्पादनको सोँच गाउँलेमा थिएन । निर्वाहमूखि खेतीमा आश्रित रहेका पाङराङका किसान अहिलेको अवस्थासम्म आइपुग्नुमा रोचक घटना जोडिएको छ । यस ठाउँका पुराना कृषक खगेश्वर भट्टराई जो अहिले काठमाडौंमा हिमालयन एग्रो रिसर्च सेन्टर (हार्क) नामक कम्पनी सञ्चालन गर्दै आएका छन् । उनी २०६२ मा पाङराङबाट काठमाडौं पुगेका थिए ।
‘कृषिमा काम गर्ने बागलुङ कार्यालय रहेको थ्रीएसपी प्रोजेक्टका प्रमुख डाक्टर श्याम चन्दसहितको समूह भोक्सिङ हुँदै बाच्छाबाट पाङराङ आउनु भयो । २०५७ को कुरा हो । त्यो बेला मोटरबाटो थिएन । हिँडेरै यात्रा गर्नुपर्थ्यो’, उनले भने, ‘हामी चोकमा चिया पिउँदै थियौं । उहाँहरूको समूह पनि त्यहीं आइपुग्यो । भक्तपुरे काँक्राको बिउ, चालिस दिने मुला, टमाटरको बिउ छ, तपाईहरू लगाउने हो भनेर सोधे ।’
पुराना कृषक भट्टराईले पाङराङमा त्यसदिन श्याम चन्दको समूहलाई नभेटेको भए पाङराङको पहिचान आजको जस्तो नहुने बताउँछन् । ‘हामी त्यस रातसँगै बस्यौं । कात्तिकको महिना थियो, भोलिपल्ट बिहानीको घाममै बसेर नारायणस्थान बीउ उत्पादक समूह गठन गरियो । त्यसको अध्यक्षमा सूर्यबहादुर कुँवर र म सचिव भए,’ उनले भने, ‘पहिलो वर्ष तीन रोपनी जमिनमा १५ सय बिरुवा काँक्रो, चम्चुर ४५ किलो, २२ सय ग्राम बिएलजातको टमाटर लगाएका थियौं । त्योबेला भित्तामा छ्यापेर काँक्राको बिउ राखिन्थ्यो ।’
उनले सञ्चालन गरेको हिमालयन एग्रो रिसर्च सेन्टर (हार्क) काठमाडौंले पाङराङको बिउलाई खरिद गरेर ब्राण्डिङ गर्ने काम गर्छ । ‘पहिले त्यहाँको सबै बिउ हामीले एकमुष्ट ल्याउथ्यौं । अहिले किसानले विभिन्न ब्यापारीमार्फत आफ्नो तरिकाले बेच्ने गर्छन्’, उनले भने, ‘अहिले पर्वतकै धाइरिङ, म्याग्दीबाट काँक्रा, टमाटर र आलुको बिउहरू खरिद गरेर आफ्नो कम्पनीको नाम र लोगो राखेर बजारमा पठाउने गर्छौं ।’ यहाँ उत्पादित बिउ खरिद गर्ने अर्को कम्पनी हो, नेपाल बहुउद्देश्यीय सहकारी संस्था (निमाकोल) ।
किसानले खाद्यबालीमा भन्दा ज्यादा बिउ उत्पादनमा जोड दिनु उनीहरूको बाध्यता पनि हो । आम्दानीको हिसाबमा बिउ बिक्रीको तुलनामा हरियो काँक्रो बेच्दा किसानले बढी नाफा लिन सक्छन् । तर उनीहरूको समस्या चाहिँ बजार हो । ‘कुश्मामा काँक्रा खपत हुँदैन । पोखरा पुर्याउँदा ढुवानी खर्चले मूल्य पनि बढीमा बेच्नुपर्ने हुन्छ’, सहकारीकी अध्यक्ष पाठकले भनिन्, ‘घरघरै डुलाउँदै हिँडायो, त्यतिकै ल्याएजस्तो गर्छन् । दागी, बाङ्गो, महँगो, नमिठो भनेर बचन लगाउँछन् ।’
बिउ खरिदका लागि व्यापारी गाउँमा आउने भएपछि यहाँका किसानलाई बजारको समस्या छैन । अहिले पोहोरको तुलनामा दोब्बरै उत्पादन हुने अनुमान सहकारीकी अध्यक्ष पाठकको छ । ‘उत्पादन बढी भयो आम्दानी बढ्ने भयो भन्ने हुँदैन’, उनले भनिन्, ‘उत्पादन बढी हुने बित्तिकै पोहोरको मूल्यको आधा पनि पर्दैन । सालाखाला बराबरै हुन्छ । अहिले केजीको ४ हजार मूल्य पाउन पनि कठिन हुने देखिकी छु ।’
