पीईसीमार्फत भारतबाट ५० मेगावाट मात्र बिजुली आयात
काठमाडौँ — इन्डियन प्रिमियर लिग (आईपीएल), बढ्दो तापक्रमलगायत विभिन्न कारणले भारतमै माग उच्च हुँदा नेपालले चाहे जति बिजुली किन्न नपाउँदा औद्योगिक क्षेत्रमा बिजुली कटौती गरिएको नेपाल विद्युत् प्राधिकरणले बताएको छ । विद्युत् व्यवस्थापनमा कठिनाइ भएकाले औद्योगिक क्षेत्रमा केही समय आंशिक लोड दिइने प्राधिकरणले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विद्युत् विनिमय समिति (पावर एक्सचेन्ज कमिटी–पीईसी) मार्फत भारतबाट ५० मेगावाट मात्र बिजुली आयात भइरहेको प्राधिकरणले जनाएको छ । अहिले आन्तरिक उत्पादन औसत १ हजार १ सय ७५ मेगावाट रहेको प्राधिकरणको भनाइ छ ।
बिजुलीको उच्च माग (पिक लोड) २ हजार ७७ मेगावाट पुगे पनि उक्त समयमा अधिकतम उत्पादन १ हजार ५९३ मेगावाट रहेको प्राधिकरणले जनाएको छ । सुक्खायाममा अपुग बिजुली बर्सेनि भारतबाट आयात गरेर पुर्याउने गरिएको छ । गर्मीयाम सुरु भएसँगै भारतमा अत्यधिक बढेको विद्युत् मागका कारण नेपालले चाहे जति विद्युत् किन्न नपाएको प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पीईसीमार्फत बेलुका ६ देखि बिहान ६ बजेसम्म अधिकतम ३५० मेगावाट बिजुली आयात गर्ने अनुमति पाएको छ । तर १३२ केभी सम्पतिया–मनैया प्रसारण लाइनबाट बिहान २ देखि ६ र बेलुका ६ देखि ७ बजेसम्म ५० मेगावाट मात्र विद्युत् आपूर्ति भइरहेको प्राधिकरणले जनाएको छ ।
‘भारतमा आईपीएल जारी रहँदा माग बढेकाले इन्डियन एक्सचेन्ज मार्केट (आईएक्स) को दररेट पीईसीको दररेटभन्दा बढी भएकाले बिहारसँग जोडिएका १३२ केभी लाइनबाट अधिकतम प्रयास गर्दासमेत विद्युत् प्राप्त हुन सकेको छैन,’ विज्ञप्तिमा भनिएको छ । गत फागुनमा भारतमा भएको पीईसीको १६औं बैठकले १३२ केभी प्रसारण लाइनबाट आयात–निर्यात हुने बिजुलीको प्रतियुनिट दर ८.१ भारु (१२ रुपैयाँ ९६ पैसा) तय गरेको छ । ३३ केभी प्रसारण लाइनमार्फत हुने बिजुली प्रतियुनिट दर ८.७८ भारु (१४ रुपैयाँ ०४ पैसा) र ११ केभी प्रसारण लाइनमार्फत आयात–निर्यात हुने विद्युत्को प्रतियुनिट दर ९.४१ भारु (१५.०५ रुपैयाँ) तोकेको छ । नेपालले चाहेका बेला बिजुली लिने गरी नयाँ दर तोकिएको र यो भारततर्फ निर्यात गर्दा पनि लागू हुने प्राधिकरणले जनाएको छ ।
भारतको प्रतिस्पर्धी बजार (आईएक्स) बाट बिहान ६ देखि बेलुका ५ बजेसम्म र राति ११ देखि बिहान ४ बजेसम्म विद्युत् खरिद गर्ने अनुमति छ । ‘राति ११ देखि बिहान ४ बजेसम्म तोकिएको अधिकतम मूल्यमा बोलकबोल गरी खरिद गर्न खोज्दासमेत नेपाललाई ‘प्रो राटा’ आधारमा सप्लाई दिइने गरिएकाले मागको तुलनामा अत्यन्तै कम मात्र विद्युत् प्राप्त हुन सकेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
कुल उत्पादन र खरिदको मागलाई हेरेर भारतले खरिदकर्तालाई आनुपातिकका आधारमा बिजुली बेच्ने गरेको प्राधिकरणका प्रवक्ता राजभाइ शिल्पकारले बताए ।
प्राधिकरणले बोलकबोल गरेको प्रतियुनिट बिजुलीको मूल्यभन्दा प्रतिस्पर्धी बजारमा मूल्य बढी हुँदा खरिद गर्न सकेको छैन । प्राधिकरण स्रोतका अनुसार प्रतियुनिट बिजुलीको मूल्य १० भारुभन्दा बढी मूल्यमा बोलकबोल गर्न मिल्दैन । प्रतिस्पर्धी बजारमा प्रतियुनिट बिजुलीको मूल्य १० भारुभन्दा बढी भएकाले खरिद गर्न सकेको छैन ।
मागको तुलनामा अत्यन्तै कम मात्रामा विद्युत् आयात हुँदा विद्युत् व्यवस्थापनमा कठिनाइ भएको प्राधिकरणले जनाएको छ । ‘विद्युत् व्यवस्थापनमा कठिनाइ देखिएको र औद्योगिक क्षेत्रमा केही समय आंशिक लोड दिइने गरेको भए तापनि माग र आपूर्तिको व्यवस्थापनमा अधिकतम प्रयास गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
औद्योगिक क्षेत्रमा उच्च माग (पिक आवर) भएका बेलामा र राति बिजुली दिन नसकेको शिल्पकारले बताए । ‘उद्योगहरूमा पनि त्यसको क्षमता हेरेर बिजुली दिइरहेका छौं,’ उनले भने । नेपालका नदीनालामा बहाव छिट्टै बढ्ने र भारतबाट पनि विद्युत् आपूर्ति बढ्ने अवस्था रहेकाले हाल देखिएको समस्या शीघ्र समाधान हुनेसमेत प्राधिकरणको भनाइ छ ।
