सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ९ सय, बजारमा गहनाको मूल्य २ लाख २७ हजार ५ सय
काठमाडौँ — पहेंलो धातुका रूपमा परिचित सुनको मूल्यले नेपाली बजारमा पनि फेरि नयाँ कीर्तिमानी बनाएको छ । अन्तर्राष्ट्रिय बजारमा देखिएको राजनीतिक र व्यापारिक उतारचढावले विश्व बजारसँगै नेपाली बजारमा पनि कीर्तिमानी बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार मूल्य निर्धारण गर्दा अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य ३ हजार ४ सय ८५ अमेरिकी डलर थियो । यसका आधारमा महासंघले घरेलु बजारमा सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ९ सय रुपैयाँ निर्धारण गर्यो । यो मूल्य सोमबारको तुलनामा प्रतितोला ६ हजार ९ सय रुपैयाँले बढी हो ।
महासंघले सोमबार प्रतितोला सुनको मूल्य १ लाख ९१ हजार रुपैयाँ तोकेको थियो । ‘अन्तर्राष्ट्रिय बजारमा सोमबार र मंगलबारकै तुलनामा प्रतिऔंस १ सय १४ अमेरिकी डलरले सुनको मूल्य बढेको छ । सोमबार प्रतिऔंस ३ हजार ३ सय ७१ डलरमा कारोबार भएको सुन मंगलबार बढेर ३ हजार ४ सय ८५ रुपैयाँ पुग्यो,’ गहनाविज्ञ तेजरत्न शाक्यले भने, ‘यही कारण पनि स्थानीय बजारमा सुनको मूल्य एकै दिन धेरैले बढेको हो ।’
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्नुको मुख्य कारक भने अमेरिकी राष्ट्रपति ट्रम्पकै नीति रहेको उनले जनाए । ‘अमेरिकाकै नीतिले सबैतिर महँगी बढेको छ । सेयर बजार ओरालो लागेको छ । कच्चा तेलको मूल्य घटेको छ । विभिन्न मुलुकबीच द्वन्द्वले सुरक्षित लगानीका लागि सुनमा आकर्षण बढेपछि भाउ महँगो भएको हो,’ उनले भने ।
यी बाहेक मंगलबार मूल्य बढ्नुको कारण भने अमेरिकी राष्ट्रपति ट्रम्प र अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ बैंक) मा देखिएको मतभेद रहेको जनाइएको छ । ‘ट्रम्पले बैंकको ब्याजदर घटाउने नीति लिएका छन् । तर आर्थिक अवस्था थप बिग्रन सक्ने भन्दै त्यहाँको केन्द्रीय बैंक तत्काल नघटाउने अडानमा देखिन्छ,’ शाक्यले भने, ‘ट्रम्प र केन्द्रीय बैंकबीचको धारणा नमिलेको कुरा बाहिर आएपछि सुनको मूल्य ह्वात्तै बढेको देखिन्छ । यसको मतलब लगानीकर्ताले सुरक्षित लगानी खोजेका छन् ।’ यी विविध कारण ८ दिनयता सुनको भाउ तोलामै १३ हजार ६ सय रुपैयाँले बढिसकेको छ ।
महासंघको तथ्यांकअनुसार वैशाख २ मा प्रतितोला सुनको मूल्य १ लाख ८४ हजार ३ सय रुपैयाँ थियो । मंगलबारसम्म आइपुग्दा प्रतितोला १३ हजार ६ सय रुपैयाँ बढेर १ लाख ९७ हजार ९ सयमा कारोबार भएको हो । यो उपभोक्ता मूल्य भने होइन । सर्वसाधारण उपभोक्ताले गहना खरिद गर्दा अझै बढी तिर्नुपर्छ ।
नेपालमा अन्तर्राष्ट्रिय बजार र भारतको बजारलाई आधार मानेर मूल्य निर्धारण गरिन्छ । अन्तर्राष्ट्रिय बजारको हकमा ७५ र भारतीय बजारलाई २५ प्रतिशत आधार मानेर यहाँ मूल्य निर्धारण गर्ने चलन छ । त्यसमा १० प्रतिशत भन्सार शुल्क लाग्छ । सर्वसाधारणले सुन खरिद गर्दा व्यवसायीले जर्ती, ज्याला, मुनाफालगायत शीर्षक जोडर बिक्री गर्छन् ।
यसकारण औसत १५ प्रतिशतको हिसाबले सर्वसाधारणले प्रतितोलामा थप २९ हजार ६ सय ८५ रुपैयाँ तिर्नुपर्छ । अर्थात् एक तोला गहनाको उपभोक्ता मूल्य २ लाख साढे २७ हजार रुपैयाँसम्म पर्छ । तर महँगी बढेकै कारण सुन बिक्री नभएको व्यवसायीहरूले बताउँदै आएका छन् ।
उनीहरूका अनुसार वैशाखमा बिहेको लगन भए पनि बजार सुनसान छ । सर्वसाधारणहरू गहना खरिदभन्दा बिक्री गर्न आउने गरेको व्यवसायीहरू बताउँछन् ।
