नेपाल बैंकका सञ्चालक अधिकारी राष्ट्र बैंकको कारबाहीमा

ऋणीसँग कमिसन लिएको पुष्टि, राष्ट्र बैंकद्वारा ५ लाख जरिवाना

वैशाख ९, २०८२

कान्तिपुर संवाददाता

Managing Officer of Nepal Bank in action of Rashtra Bank

काठमाडौँ — नेपाल बैंकका सञ्चालक चन्द्रबहादुर अधिकारीलाई नेपाल राष्ट्र बैंकले ५ लाख रुपैयाँ जरिवानासहित कारबाही गरेको छ । सस्तो ब्याजमा ऋण मिलाइदिने भन्दै बैंकका ऋणीबाट कमिसन (घूस) लिएको, कमिसन रकम चालकको बैंक खातामा जम्मा गरेको, सवारीसाधनको दुरुपयोग गरेको लगायत आरोपमा राष्ट्र बैंकले अधिकारीलाई कारबाही गर्ने निर्णय गरेको हो । अधिकारीलाई कारबाही गरिएको पत्र नेपाल बैंकलाई पठाइसकिएको छ ।

‘नेपाल बैंकका सञ्चालक चन्द्रबहादुर अधिकारीले ऐनविपरीत काम गरेको, सञ्चालकको अनुशासन पालना नगरेको लगायत कसुरमा ५ लाख रुपैयाँ जरिवानासहित कारबाही गरिएको छ । उक्त जानकारी सम्बन्धित बैंकलाई पठाइसकिएको छ,’ राष्ट्र बैंक स्रोतले भन्यो । सञ्चालक अधिकारीलाई कारबाही गरिएको राष्ट्र बैंकको पत्र प्राप्त भइसकेको पनि नेपाल बैंक स्रोतको भनाइ छ । उक्त पत्र आगामी सञ्चालक समितिको बैठकमा पेस गरिने र समितिको निर्णयका आधारमा सञ्चालक अधिकारीलाई मात्र नगद जरिवाना तथा पदमुक्त गरिने बताइएको छ । 

अधिकारीलाई सरकारले नेपाल बैंकको अध्यक्षमा २०८० असोज पहिलो साता ४ वर्षका लागि नियुक्त गरेको थियो । 

उनी नियुक्त भएको केही महिनापछि नै ऋणीलाई कर्जा मिलाइदिन्छु भन्दै कमिसन माग्ने गरेको पाइएको छ । ‘ऋण प्रक्रिया पूरा नहुँदै अधिकारीले केही ऋणीबाट कमिसन उठाइसकेका रहेछन्, तर पछि उनको सिफारिसमा आएका केही ऋण मागको आवेदनलाई बैंक व्यवस्थापनले ऋण दिएन । 

त्यसपछि ऋणीले आफूहरूले बैंक अध्यक्षलाई कमिसन दिएको गुनासो राष्ट्र बैंकमा टिपाए,’ स्रोतले भन्यो, ‘त्यसपछि राष्ट्र बैंकको सुपरिभिजन विभागको टोलीले बैंकमा स्थलगत निरीक्षण गर्दा ऋणीबाट कमिसन लिएको, सञ्चालकको मर्यादाविपरीत काम गरेको, सवारीसाधनको दुरुपयोग गरेको लगायत थुप्रै कसुर भेटिए ।’ 

यस विषयमा राष्ट्र बैंकले अधिकारीलाई स्पष्टीकरण सोधेको थियो । तर स्पष्टीकरण चित्तबुझ्दो नभएपछि राष्ट्र बैंक सञ्चालक समितिले अधिकारीलाई कारबाही गर्ने निर्णय गरेको हो । तत्कालीन अध्यक्षका विषयमा राष्ट्र बैंकले छानबिन गरिरहेकै कारण उनी बैंकमा आउन सकेका थिएनन् । बोर्ड बैठक बस्न नपाउँदा बैंकले गत पुसभित्रै साधारणसभा गर्न सकेको थिएन । राष्ट्र बैंकमा उजुरी परेलगत्तै उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले अधिकारीलाई अध्यक्ष पदबाट हटाएर बैंक सञ्चालक मात्र बनाएका थिए । हाल बैंक सञ्चालक समिति अध्यक्षको जिम्मा थानप्रसाद पंगेनीलाई दिइएको छ । 

ऋणीबाट घूस लिएको आरोपमा अधिकारीमाथि अधिकारीमाथि अनुसन्धान अघि बढाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । राष्ट्र बैंकसँगै अख्तियारमा पनि अधिकारीविरुद्ध उजुरी परेको थियो । सोही उजुरीका आधारमा अनुसन्धान सुरु गरिएको अख्तियारको भनाइ छ । 

अधिकारीले यसअघि सञ्चालकै रूपमा कृषि विकास बैंकमा ४ वर्ष (एक कार्यकाल) काम गरिसकेका छन् । अर्थशास्त्रमा विद्यावारिधि गरेको अधिकारीले त्रिभुवन विश्वविद्यालयमा साढे २ दशक बढी अध्यापन गरेका थिए । 

कान्तिपुर

Link copied successfully