गिरीबन्धु टी–इस्टेटसँग अध्यादेशको साइनो छैन : मन्त्री अधिकारी

वैशाख ९, २०८२

कान्तिपुर संवाददाता

Giribandhu T-Estate does not have ordinance signature: Ministerial official

काठमाडौँ — भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले साइनो नै नभएको गिरीबन्धु टी–इस्टेटलाई जोडेर भूमि अध्यादेश रोकिएको बताएका छन्।नेपाल जग्गा तथा आवास विकास महासंघको तेस्रो स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा भूमीमन्त्री अधिकारीले यस्तो बताएका हुन् ।

‘गिरीबन्धु टी–इस्टेटलाई फाइदा पुग्ने गरी अध्यादेश ल्याइएको भन्ने अपव्याख्या गरियो,’ उनले भने, ‘भूमि अध्यादेशसँग गिरीबन्धु टी–इस्टेटको कुनै सम्बन्ध छैन।’ अपव्याख्याका कारण भूमि अध्यादेश पारित हुन नसकेको मन्त्री अधिकारीको भनाइ छ। प्रतिनिधिसभाबाट पास भए पनि राष्ट्रिय सभाबाट अध्यादेश पारित हुन नसकेको उनले सुनाए।

मन्त्री अधिकारीले पुराना नापी ऐन र भूमि ऐन पुनर्लेखनका लागि समिति गठन भइसकेको जानकारी दिए। ‘२०१९ सालको नापी ऐन र २०२१ को भूमि ऐन नयाँ बनाउन समिति गठन भइसकेको छ,’ उनले भने। साथै, नयाँ नापी ऐनको प्रारूप तयार भइसकेको उनले जनाए।

उनका अनुसार अन्य देशमा उद्योगका रूपमा विकास भइसकेको घरजग्गा कारोबार नेपालमा त्यस्तो नहुनु दु:खद् पक्ष हो। ‘घरजग्गा व्यवसाय गर्ने निकायले देश र जनताको हितमा काम गरिरहेको भन्ने स्थापित भइसकेको छैन,’ उनले भने, ‘अहिलेसम्म त आफूलाई मात्र फाइदा हुने गरी काम गरेको आम बुझाइ छ।’

उनले आर्थिक उपार्जनको नाममा सरकारी नियम उल्लंघन गरेर अघि बढ्नेलाई नियमन गर्नु आवश्यक रहेको बताए। ‘आर्थिक लाभ उठाउने नाममा कानुन मिचेर हिँडिएको छ कि? त्यो हेर्न जरुरी छ,’ मन्त्री अधिकारीले भने ।

महासंघका संस्थापक अध्यक्ष मिनमान श्रेष्ठले विगत तीन आर्थिक वर्षदेखि विदेशीलाई अपार्टमेन्ट बेच्न दिने नीति आए पनि कार्यान्वयन नहुनुमा कार्यविधिको अभाव रहेको बताए। ‘बजेटमा व्यवस्था आए पनि कार्यविधि नआएकोले कार्यान्वयन हुन सकेको छैन,’  उनले भने ।

श्रेष्ठले विदेशीलाई जमिनको स्वामित्व नदिई अपार्टमेन्ट खरिद गर्न दिने व्यवस्था लामो समयसम्म टिक्ने गरी ल्याउनुपर्नेमा जोड दिए। ‘आगामी बजेटमा पनि यस व्यवस्थालाई निरन्तरता दिई कार्यान्वयन होस्,’ उनले भने।

उनले बजार मूल्य र सरकारी मूल्यांकनबीच अत्यधिक अन्तर रहेको उल्लेख गरे। ‘बजार मूल्य र सरकारी मूल्यांकनमा १० गुणाभन्दा बढी अन्तर छ,’ श्रेष्ठले भने, ‘त्यसैले सरकारी मूल्यांकन बढाउनु जरुरी छ।’ उनले बजार मूल्य र सरकारी मूल्यांकनमा २५ प्रतिशतभन्दा बढी अन्तर नरहने गरी नीति ल्याउनुपर्ने सुझाव पनि दिए।

कान्तिपुर

Link copied successfully