नेपाल विद्युत् प्राधिकरण र भारतको पावर ग्रिड कर्पोरेसनमातहत संयुक्त कम्पनी स्थापना हुने । यो सहकार्यले दुवै देशको दिगो विकासमा टेवा पुग्ने ।
काठमाडौँ — नेपाल र भारतबीच चार सय केभीको दोदोधारा (लम्की)–बरेली र इनरूवा–न्यू पूर्णिया अन्तरदेशीय प्रसारणलाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापना गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
नेपालका ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्का र भारतका विद्युत्, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टरको संयुक्त उपस्थितिमा मंगलबार काठमाडौंमा उक्त समझदारी पत्रमा हस्ताक्षर भएको भएको हो ।
साझदारीपत्रमा नेपालको विद्युत् प्राधिकरणकातर्फबाट निर्देशक कमल आचार्य र भारतको तर्फबाट पावर ग्रिडका निर्देशक यतिन्द्र द्विवेदीले हस्ताक्षर गरेका छन् ।
समझदारी पत्रमा हस्ताक्षर भएसँगै नेपालको विद्युत् प्राधिकरण र भारतको पावर ग्रिड कर्पोरेसनमातहत संयुक्त कम्पनी खडा हुने भएको हो ।
कार्यक्रममा भारतका ऊर्जामन्त्री खट्टरले ऊर्जा क्षेत्रमा भएको सहकार्यले दुवै देशको दिगा विकासका लागि सहयोग पुग्ने उनले बताए ।
संयुक्त उत्पादन, सीमापार पूर्वाधार र विद्युत् व्यापारमा उल्लेखनीय प्रगति भईरहेको खट्टरको भनाइ थियो । भारतले नेपालबाट १ हजार मेगावाट बिजुली खरिद गरिररहेको भन्दै बंगलादेशमा पनि भारत हुँदै बिजुली गईरहेको खट्टरले जानकारी दिए ।
उनले गोरखपुर–बुटवल प्रसारण लाइन निर्माण सुरु भएसँगै नयाँ परियोजनाले द्विपक्षीय ऊर्जा सुरक्षालाई थप बलियो बनाउने विश्वास व्यक्त गरे ।
मंगलबार नै अरूण–३ जलविद्युत् आयोजनाको भ्रमण गरेको र उक्त आयोजनासँग सम्बन्धित समस्यासम्बन्धमा समेत छलफल भएको उनले जानकारी दिए । अरूण–३ जलविद्युत् आयोजनाको समस्याहरू समेत नेपाल सरकारले समयसापेक्ष समाधान गर्नेमा उनी आशावादी थिए ।
ऊर्जामन्त्री दीपक खड्काले नेपाल–भारत ऊर्जा सहकार्यलाई ‘साझा समृद्धिको प्रतीक’को रूपमा व्याख्या गर्दै इनरुवा–न्यु पूर्णिया र दोदोधारा–बरेली प्रसारण लाइनलाई केवल संरचना नभई आपसी विश्वास र दीगो विकासतर्फको साझा यात्रा भएको दाबी गरे ।
ऊर्जामन्त्री खड्काले अरुण–३, तल्लो अरुण, अरुण–४, फुकोट कर्णाली, अपर कर्णाली, सेती नदी–६, र पश्चिम सेतीजस्ता ठूला जलविद्युत् परियोजनामा भारतको निरन्तर सहयोग रहेकोमा आभार प्रकट गरे ।
ऊर्जा सचिव सुरेश आचार्यले ऊर्जा क्षेत्रमा अन्तरदेशिय लगानीले दुई देशको विकासका लागि महत्वपूर्ण काम भएको बताए । ऊर्जा क्षेत्रमा गरिने लगानीले दुई देशमा ऊर्जा सूरक्षाका लागि समेत काम गर्ने उनको भनाई छ ।
गत माघ ९ मा बसेको नेपाल–भारत सचिवस्तरीय संयुक्त निर्देशक समितिको १२औं बैठकले चार सय केभीको इनरुवा–न्यु पुर्णिया र दोदोधरा (लम्की)–बरेली प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापनासम्बन्धी काम एक महिनाभित्र सुरु गर्ने सहमति गरेको थियो । नेपालतर्फको प्रसारण लाइन निर्माण गर्न नेपाल विद्युत् प्राधिकरणको ५१ प्रतिशत र भारतको पावर ग्रिडको ४९ प्रतिशत तथा भारततर्फको प्रसारण लाइन निर्माण गर्न ५१ प्रतिशत पावर ग्रिड र ४९ प्रतिशत नेपाल विद्युत् प्राधिकरणको स्वपुाजी रहने गरी संयुक्त उपक्रमको मोडालिटीमा गर्ने सहमति भएको थियो ।
४०० केभी दोदोधारा–बरेली प्रसारण लाइनमा भारततर्फ १५० किलोमिटर र नेपालतर्फ करिब ३५ किलोमिटर दूरी हुनेछ । इनरूवा–न्यू पूर्णियामा नेपालतर्फ २५ किलोमिटर र भारततर्फ १०० किलोमिटर दूरी हुनेछ । लगानी मोडालिटी तय भएसँगै इनरूवा–न्यू पूर्णिया सन् २०२८/२९ र दोधरा–बरेली सन् २०२९/३० मा सम्पन्न गर्ने लक्ष्य राखेर निर्माण थालिने भएको छ ।
