सौराहामा दुई दिने रत्न बिज समिट हुँदै

वैशाख ९, २०८२

रमेशकुमार पौडेल

A two-day Ratna Biz Summit is being held at Sauraha

चितवन — रत्ननगर जेसिसले यही शुक्रबारदेखि सौराहामा दुई दिने 'रत्न बिज समिट-२.०' गर्ने भएको छ ।

अर्थतन्त्रको अवस्था, व्यवसायी तथा उद्यमीका समस्या र सम्भावनाका बारेमा चर्चा गर्न सम्मेलन गर्न लागिएको हो । सम्मेलनमा अर्थतन्त्र र उद्योगका बारेमा जानकारले अनुभव राख्ने र उद्यम, व्यवसायको समस्या निराकरणका लागि विज्ञले प्रशिक्षण दिने मंगलबार रत्ननगरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

रत्ननगर जेसिसका अध्यक्ष बाबुराम परियारले समिटमा उद्यमी, व्य्यसायी, नवउद्यमी र व्यवसाय सुरू गर्ने योजना बनाएकाहरू सहभागी हुने जानकारी दिए । सुरूको दिन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालको उद्योग व्यवसायको सम्भावनाका बारेमा बोल्ने कार्यक्रम छ । त्यसैगरी पूर्वअर्थसचिव मधुकुमार मरासिनीले देशको अहिलेको अर्थतन्त्रको अवस्था र कसरी अगाडि बढ्न सकिन्छ भन्ने सम्भावनाबारे प्रस्तुति दिनेछन् । दोस्रो दिन चितवन उद्योग संघका पूर्वअध्यक्ष युवा उद्योगी राजु पौडेल र अर्का युवा केरा कृषक विष्णुहरि पन्तले आफ्ना कथाहरू सुनाउने छन् । 

कोकाकोला कम्पनीकी प्रकृति बस्यालले बहुर्राष्ट्रिय कम्पनीका कुरा गर्ने छिन् । व्यवसाय व्यवस्थापनका प्रशिक्षक क्षितिजजंग थापाले सहभागीलाई समस्या निराकरणका विषयमा प्रशिक्षण दिने रत्ननगर जेसिसका अध्यक्ष बाबुराम परियारले बताए ।

त्ननगर जेसिसका महासचिव तथा रत्न बिज समिटका संयेजक सौरभ रिजालले उद्यमी, व्यवसायीलाई उत्प्रेरित गर्न र अर्थतन्त्रलाई सकारात्मक मोड दिन समिट सहयोगी हुने बताए । रत्ननगर जेसिसले गत वर्ष पहिलो विजनेस समिट आयोजना गरेको थियो ।

रमेशकुमार पौडेल पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully