काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार १६.६८ अंकले घटेर २ हजार ७ सय ६.०४ अंकमा ओर्लिएको छ । गत बिहीबारको तुलनामा यो ०.६१ प्रतिशतले कम हो ।
पछिल्ला तीन कारोबार दिन लगातार बढेको नेप्से साताको पहिलो दिन आइतबार दोहोरो अंकले घटेको हो । उक्त दिन कारोबारमा आएकामध्ये ५३ कम्पनीको सेयर मूल्य बढ्यो भने १९२
वटाको घट्यो र एउटा कम्पनीको स्थिर रह्यो । कुल ७४ हजार ४५ पटकको सेयर कारोबारमा २ करोड १३ लाख २३ हजार ९ सय ६७ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ८ अर्ब ४३ करोड ३५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । गत बिहीबारको तुलनामा कारोबार रकम घटेको हो ।
गत बिहीबार १० अर्ब ७९ करोड ७३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये व्यापार र उत्पादन तथा प्रशोधनबाहेक सबैको परिसूचक घटेपछि समग्र नेप्से दोहोरो अंकले घटेको हो । व्यापार ४६.८१ र उत्पादन प्रशोधन ३७.५५ अंकले बढ्यो । घट्ने उपसमूहहरूमा जीवन बिमा, होटल तथा पर्यटन र विकास बैंक अघि रहे ।
