चैतसम्म २० वाणिज्य बैंकको कुल नाफा ४१ अर्ब २५ करोड
काठमाडौँ — आर्थिक गतिविधि चलायमान हुन नसक्नुको प्रत्यक्ष असर बैंक तथा वित्तीय संस्थाको तेस्रो त्रैमासको वित्तीय विवरणमा देखिएको छ । धेरैजसो बैंक तथा वित्तीय संस्थाको नाफा घट्नु, कर्जा विस्तार बढ्न नसक्नु, खराब कर्जा बढ्नु, खुद ब्याज आय घट्नु, सम्पत्तिमाथिको प्रतिफल (आरओई) मा कमी आउनुलगायत सूचकले त्रैमासिक वित्तीय विवरणमा पनि शिथिल अर्थतन्त्रको असर परेको पुष्टि हुने जानकार बताउँछन् ।
सञ्चालनमा रहेका २० वाणिज्य बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय प्रतिवेदनले बैंकहरूको खराब कर्जा औसत ४.८३ प्रतिशत छ । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमास र गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा बैंकहरूको खराब कर्जा सामान्य बढेको हो । गत पुससम्म बैंकहरूको खराब कर्जा औसत ४.४९ प्रतिशत र गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ३.६५ प्रतिशत थियो ।
गत पुससम्म बैंकहरूको औसत खराब कर्जामा ठूलो बढोत्तरी नदेखिए पनि व्यक्तिगत रूपमा धेरै बैंकको खराब कर्जा ५ प्रतिशतभन्दा माथि छ । राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूले औसत खराब कर्जा ५ प्रतिशतभित्रै राख्नुपर्ने व्यवस्था छ । यद्यपि पछिल्ला त्रैमासमा लगातार खराब कर्जा बढ्न थाले पनि बैंकहरूले पाँच प्रतिशतभन्दा बढी प्रकाशन गर्दा राष्ट्र बैंकले आँखा चिम्लेको देखिन्छ ।
बैंकहरूको वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ९ को खराब कर्जा ५ प्रतिशतभन्दा बढी छ । १७ वटा बैंकको खराब कर्जा ४ प्रतिशतभन्दा बढी छ भने एभरेस्ट बैंकको सबैभन्दा कम ०.६४ प्रतिशत मात्र छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकको खराब कर्जा १.४४ र सानिमा बैंकको ३.४२ प्रतिशत छ । हिमालयन बैंकको खराब कर्जा सबभन्दा धेरै ७.६८ प्रतिशत छ भने सिटिजन्स, कुमारी, लक्ष्मी सनराइज, नेपाल, इन्भेस्टमेन्ट मेगा, एनआईसी एसिया, प्रभु र प्राइम बैंकले पाँच प्रतिशतभन्दा बढी खराब कर्जा प्रकाशन गरेका छन् ।
समग्रमा १७ वटा बैंकको खराब कर्जा उच्च दरले विस्तार भए पनि तीन वटा बैंक (स्ट्यान्डर्ड चार्टर्ड, एभरेस्ट र सानिमा) को खराब कर्जा निकै कम रहेकाले औसतमा कम देखिएको हो ।
‘यो त देखाइएको खराब कर्जा मात्र हो, बैंकहरूले धेरै खराब कर्जा लुकाएका (असल देखाइएको) हुन्छन्,’ एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले भने, ‘यसकारण बैंकहरू साँच्चै डरलाग्दो अवस्थामा छन् । आउँदा केही महिनामा पनि कर्जा असुलीमा सुधार नहुने हो भने धेरै बैंकलाई अप्ठ्यारो पर्ने देखिन्छ ।’
खराब कर्जा बढेपछि र व्यवसायको मुख्य आधार खुद ब्याज आम्दानी घटेपछि बैंकहरूको नाफा पनि प्रभावित भएको हो । गत आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको खुद नाफा औसत १.४० प्रतिशतले मात्र बढेको छ । गत चैतसम्म २० वटा वाणिज्य बैंकहरूले कुल ४१ अर्ब २५ करोड शुद्ध नाफा (कर तिरेपछिको नाफा) कमाएका छन् ।
गत वर्षको तेस्रो त्रैमासमा बैंकहरूको कुल नाफा ४० अर्ब ६८ करोड रुपैयाँ थियो । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म भने कुमारी, सिटिजन्स, एनआईसी एसिया, हिमालयन, स्ट्यान्डर्ड चार्टर्ड, सिद्धार्थ, प्राइम कमर्सियल र कृषि विकास बैंकको नाफा घटेको छ । यस अवधिमा सबैभन्दा धेरैले नाफा बढ्नेमा नेपाल बैंक छ । यसअघिको खराब कर्जाबापतको नोक्सानी व्यवस्थाको रकम फर्किएको (राइटब्याक) भएकाले नेपाल बैंकको नाफा वृद्धिदर उच्च देखिएको हो ।
बैंकहरू अहिले पनि निकै दबाबमा रहेको नेपाल बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले बताए । ‘अघिल्ला महिनाको तुलनामा बैंकहरूको खराब कर्जा धेरैले बढेको छ भने त्यसबापतको नोक्सानी व्यवस्थाका लागि बैंकले धेरै रकम छुट्याउनुपरेको छ,’ उनले भने, ‘कर्जा वृद्धिको तुलनामा नाफा बढ्न सकेको छैन ।’ शिथिल अर्थतन्त्रको असर बैंकिङ क्षेत्रमा परेकाले बैंकहरूमाथिको दबाब झनै बढ्दो क्रममा रहेको उनको भनाइ छ ।
गत चैतसम्म बैंकहरूको खुद ब्याज आम्दानी गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा २.५८ प्रतिशतले घटेर एक खर्ब ३९ अर्बमा सीमित भएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकहरूको खुद ब्याज आय एक खर्ब ४३ अर्ब रुपैयाँ थियो ।
गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा बैंकहरूको खराबकर्जा बापतको नोक्सानी व्यवस्था बढेको छ । औसत प्रतिसेयर आम्दानी पनि सामान्य घटेको वित्तीय विवरणमा उल्लेख छ । यस आर्थिक वर्षको तेस्रो त्रैमाससम्म निकै कम बैंकले मात्र लाभांश विवरण गर्न सक्ने अवस्थामा छन् ।
गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा बैंकहरूको कर्जा वृद्धिदर औसत ७.०३ प्रतिशत छ । गएको ९ महिनामा ३ वटा बैंकको कर्जा गत वर्षको तुलनामा घटेको छ भने बाँकी १७ वटाको बढेको छ । उक्त अवधिमा बैंकहरूको निक्षेप संकलन १२.४२ प्रतिशतले बढेको देखिन्छ । यसअनुसार एउटा बैंकको मात्र निक्षेप वृद्धिदर ऋणात्मक छ भने बाँकी १९ वटाको बढेको छ ।
