बजेटका निजी क्षेत्रसम्बद्ध ६३ बुँदामध्ये १२.७ प्रतिशत मात्र कार्यान्वयन

बजेट कार्यान्वयनको प्रभावकारिता बढाउन सरोकारवालाको सुझाव

वैशाख ७, २०८२

कान्तिपुर संवाददाता

Only 12.7 percent of the 63 items related to the private sector of the budget have been implemented

काठमाडौँ — चालु आर्थिक वर्षको बजेटमा निजी क्षेत्रसँग सम्बन्धित ६३ बुँदामध्ये दोस्रो त्रैमाससम्म १२.७ प्रतिशत मात्र पूर्ण कार्यान्वयन भएको पाइएको छ । दोस्रो त्रैमाससम्म समग्र कानुनी सुधार उत्साहजनक रूपमा रहे पनि पुँजीगत खर्च र ठूला आयोजना निर्माण ज्यादै सुस्त रहेको एक अध्ययनले देखाएको छ ।

नेपाल उद्योग परिसंघले नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको सहकार्यमा आयोजना गरेको ‘औद्योगिक विकासमा केन्द्रित बजेट वाच’ कार्यक्रममा सरकारले घोषणा गर्ने वार्षिक बजेट र त्यसको कार्यान्वयनबीच बढ्दो दूरीले समग्र आर्थिक गतिविधिलाई नै प्रभाव पारिरहेको विज्ञहरूको राय छ । बजेट तर्जुमाका क्रममा निजी क्षेत्रबाट दिइएका सुझाव समावेश हुनु सकारात्मक भए पनि कार्यान्वयनको तहमा पुग्दा निराशा बढ्ने परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बताए । 

सरकारले बजेटमार्फत नयाँ–नयाँ योजना अघि सारे पनि कार्यान्वयन चरणमा आइपुग्दा निराशा बढ्ने उनको भनाइ छ । चालु आर्थिक वर्षको बजेटमा समावेश गण्डकी आर्थिक त्रिभुज, औद्योगिक इकोसिस्टम निर्माण, स्टार्टअप बोर्ड गठनजस्ता योजनाको उदाहरण दिँदै सरोकारवालाले बजेट कार्यान्वयनमा हुने कमजोरीप्रति चिन्ता व्यक्त गरे । 

६ महिनासम्म ६३ बुँदामध्ये २७ मा शून्य प्रगति देखिएको बजेट वाच पुस्तिकाको तथ्यांक छ । गण्डकी आर्थिक त्रिभुज, स्टार्टअप बोर्ड गठन, प्रदेशगत आर्थिक हबलगायतमा कामै सुरु नभएको पुस्तिकाले देखाएको छ । बजेटमा कोशीलाई उद्योग, मधेशलाई कृषि, बागमतीलाई सूचना प्रविधि, गण्डकीलाई पर्यटन, लुम्बिनीलाई साना तथा मझौला उद्यम, कर्णालीलाई जडीबुटी र सुदूरपश्चिमलाई धार्मिक पर्यटनको केन्द्र बनाउने योजना अघि सारिएको थियो । तर आर्थिक वर्ष सकिन तीन महिना मात्रै बाँकी छँदा यसमा कुनै पहल भएको छैन । स्टार्टअप, नवप्रवर्तन र युवा उद्यमशीलता प्रवर्द्धनजस्ता विषयलाई प्राथमिकतामा राखेर यस वर्ष स्टार्टअप बोर्ड गठन गर्ने भनिए पनि प्रगति शून्य देखिएको छ ।

पूर्वउद्योग सचिव कृष्ण ज्ञवालीले यसलाई सरकारी संयन्त्रमा बजेटका योजनाप्रति स्वामित्वको भावना अभाव र अन्तर–निकाय संवादको कमजोरीसँग जोडे । ‘अन्तर–निकाय स्वामित्व भाव नदेखिनु र अन्तर निकाय संवाद र परामर्शको अभावले पनि बजेट कार्यान्वयनमा कमजोरी भएको हो,’ उनले भने । सार्वजनिक–निजी साझेदारीका योजनाहरूमा निजी क्षेत्र पनि आफ्नो भूमिकामा जवाफदेही बन्नुपर्ने ज्ञवालीले औंल्याए । 

स्टार्टअप र नवप्रवर्तन क्षेत्रमा उल्लेख्य काम भएको उद्योग सचिव कृष्णबहादुर राउतको दाबी छ । ‘स्टार्टअप नीति स्वीकृत भइसकेको छ, स्टार्टअप बोर्ड गठन प्रक्रियामा छ, यस्तो अवस्थामा ‘शून्य प्रगति’ भन्न मिल्दैन,’ उनको भनाइ छ । ‘इज अफ डुइङ बिजनेस’ का लागि व्यावहारिक सुधार चाहिएको सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारुले बताए । ‘प्रक्रियागत जटिलता यति छ, खानीसम्बन्धी अनुमतिपत्र लिन कम्तीमा ५ वर्ष लाग्छ,’ उनले भने, ‘हामी व्यवसायीहरू दिनभर निकायहरूमै घुमेको घुम्यै हुन्छौँ ।’ 

बजेट कार्यान्वयनको मूल्यांकन गर्न ‘एक्जिक्युसन म्याट्रिक्स’ आवश्यक भएको राष्ट्रिय योजना आयोगका सदस्य प्रकाशकुमार श्रेष्ठको धारणा छ । ‘बजेट कार्यान्वयन ट्र्याक गर्ने संयन्त्र आवश्यक भएको छ,’ उनले भने, ‘बजेटमा हाइपोथेटिकल कुरा पनि लेखिने भएकाले कार्यान्वयन नभएका हुन् । हरेक वर्ष नौला विषयवस्तु समावेश गर्न खोज्ने तर त्यसबारे अवधारणागत स्पष्टता नहुँदा ती यत्तिकै थन्किरहेका छन् ।’

चालु आर्थिक वर्षको पुँजीगत बजेट ३ खर्ब ५२ अर्ब रुपैयाँमध्ये हालसम्म जम्मा २९ प्रतिशत मात्र खर्च भएको छ । बजेटमा आशा जगाउने योजना राखिए पनि ती कार्यान्वयनमै अड्किने प्रवृत्ति यसपालि मात्रै नभएर हरेक वर्ष दोहोरिँदै आएकामा यस्तो प्रवृत्ति कम गर्न सरकार गम्भीर हुनुपर्ने सहभागीहरूको सुझाव छ ।

कान्तिपुर

Link copied successfully