भारतका विद्युत्‌मन्‍त्री खट्टर नेपाल आउँदै

वैशाख ७, २०८२

कान्तिपुर संवाददाता

India's Electricity Minister Khattar is coming to Nepal

काठमाडौँ — भारतका विद्युत् र आभास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर नेपाल आउने भएका छन् ।ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको निमन्‍त्रणमा खट्टर नेपाल आउन लागेका हुन् ।

गत माघ ३० मा भारत भ्रमणका क्रममा मन्त्री खड्काले भारतका विद्युत्‌मन्त्री खट्टरलाई नेपाल भ्रमणको निमन्त्रणा गरेका थिए । आगामी मंगलबार दुई दिने भ्रमणका लागि खट्टर नेपाल आउन लाेगेका हुन्।

ऊर्जामन्त्री खड्कासँगै भारतका विद्युत्‌मन्त्री खट्टरले वैशाख ९ मा भारत सरकारको सहयोगमा निर्माण सम्पन्न भएको कोशी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत ईनरुवा–बसन्तपुर–बानेश्वर–तुम्लिङटार २०० केभी प्रसारण लाइन तथा २२०/१३३/३३ केभी तुम्लिङटार सबस्टेशन, २२०/३३ केभी बानेश्वर सबस्टेशन र २२०/१३३/३३ केभी बसन्तपुर सबस्टेशनको संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम छ । संखुवासभाको तुम्लिङटार सबस्टेशनबाट उद्घाटन गर्ने भएका हुन् । 

उक्त दिन भारतले निर्माण गरेको अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस तथा बाँध क्षेत्रको अवलोकन गर्नेछ । सोही दिन दुई देशले संयुक्त रुपमा निर्माण गर्न लागेको प्रसारण लाइन निर्माणका लागि स्थापना गरिएको कम्पनीको सम्झौतापत्रमा हस्ताक्षर  समेत गरिनेछ । 

वैशाख १० मा भारतका विद्युत्‌मन्त्री खट्टरले मुस्ताङको मुक्तिनाथको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ । प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम तय भएको ऊर्जा मन्त्रालयले जनाएको छ ।

विद्युत्‌मन्त्री खट्टरले बुधबार साँझ पशुपतिनाथको दर्शन गरेर स्वदेश फर्कने कार्यक्रम तय भएको मन्त्रालयले जनाएको छ ।

कान्तिपुर

Link copied successfully