अमेरिका-चीन व्यापार युद्ध : एनभिडिया प्रमुख हुआङ चीनमा, बजार सुनिश्चितताको प्रयासमा प्रविधि कम्पनी 

वैशाख ६, २०८२

कान्तिपुर संवाददाता

US-China trade war: Nvidia chief Huang in China, the technology company in an effort to secure the market

काठमाडौँ — विश्व बजारकै अग्रणी चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख जेनसेन हुआङ हाल अप्रत्याशित चीन भ्रमणमा छन् । अमेरिकी सरकारले एनभिडियाका एआई चिप निर्यातमा कडाइ गरेको खबर सार्वजनिक भइरहेका बेला हुआङ बिहीबार बेइजिङ आएका हुन् ।

उनले स्थानीय राजनीतिक नेतृत्व र व्यवसायीसँग भेट गर्दै अमेरिकी प्रतिबन्धबीच पनि चीनसँग व्यापारिक सहकार्यको सम्भावना खोज्ने प्रयास गरेको चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीले जनाएको छ । 

एनभिडियाले यसै साता मंगलबार अमेरिकी धितोपत्र नियामक निकायलाई बुझाएको विवरणमा कम्पनीले आफ्नो एच२० नामक एआई चिप चीन निर्यात गर्नुअघि अनिवार्य अनुमति लिनुपर्ने नयाँ नियमबारे उल्लेख गरेको थियो । उक्त विषय बाहिरिएको दुई दिनपछि नै हुआङले चिनियाँ उपप्रधानमन्त्री हि लिफेङ र एआई स्टार्टअप डिपसिकका संस्थापकसँग भेट गर्दै चिनियाँ बजार एनभिडियाका लागि महत्त्वपूर्ण रहेको अभिव्यक्ति दिएका हुन् ।

हुआङले एआई चिपको बिक्रीमाथि अमेरिकी नियन्त्रणले कम्पनीको व्यवसायमा गम्भीर असर पार्ने बताएको सीसीटीभीले बताएको छ । समाचारअनुसार एनभिडियाले ‘नियमसम्मत रूपमा आफ्ना प्रडक्ट बनाउन कुनै कसर बाँकी नराख्ने’ र ‘दृढतासाथ चिनियाँ बजारमा सेवा जारी राख्ने’ उनको प्रतिबद्धता छ । 

सोमबार मात्रै एनभिडियाले अमेरिकाको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) पूर्वाधारमा ५ सय अर्ब डलर लगानी गर्ने बताएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यसको प्रशंसा गरेका थिए । 

त्यसको भोलिपल्ट नै एआई चिप निर्यातमा अनुमति चाहिने विषय सार्वजनिक भएपछि कम्पनीले यसबाट चीनमा बिक्रीका लागि तयार गरिएका चिपबापत ५.५ अर्ब डलरको नोक्सानी हुने जनाएको छ । बुधबार अमेरिकी संसद्मा गठित एक विशेष समिति ‘हाउस सेलेक्ट कमिटी अन द चाइनिज कम्युनिस्ट पार्टी’ ले एनभिडियाले एसियाभर बिक्री गरेको चिपका विषयमा अनुसन्धान भइरहेको बताएको छ ।

समितिले विशेषगरी ‘डिपसिक’ लाई चिप बिक्री गर्दा एनभिडियाले अमेरिकी नियमको नियोजित रूपमै उल्लंघन गरेको हो कि होइन भन्नेबारे पत्ता लगाउने प्रयास गरिरहेको न्युयोर्क टाइम्सको भनाइ छ ।  

सन् २०२२ मै जो बाइडेन प्रशासनले एनभिडियाका उन्नत चिप चीन निर्यातमा प्रतिबन्ध लगाए पनि कम्पनीले एच२० नामक एआई चिपलाई अमेरिकी थ्रेसहोल्डमा नपर्ने गरी परिमार्जन गर्दै निर्यात गर्दै आएको न्युयोर्क टाइम्सले जनाएको छ । ‘अहिले ट्रम्पले चिप निर्यातमा थप कडाइ गरेपछि एनभिडियालाई चीनमा व्यापार गर्न समस्या भइरहेको छ,’ टाइम्सको समाचारमा भनिएको छ, ‘बर्नस्टाइन रिसर्चका अनुसार गत आर्थिक वर्ष एनभिडियाले चीनबाट १५ अर्ब डलरको आम्दानी संकलन गरेको थियो ।’ गत आर्थिक वर्षमा कम्पनीको विश्वव्यापी कुल आम्दानी १३० अर्ब डलर रहेको प्रतिवेदनमा उल्लेख छ । 

अमेरिकी सरकारले घोषणा गरेको अतिरिक्त भन्सार महसुल, चीनसँगको बढ्दो व्यापार युद्ध र एआई चिप निर्यातमा गरिएको कडाइलगायत कारणले एनभिडिया मात्रै होइन, समग्र अमेरिकी प्रविधि क्षेत्र अहिले निकै दबाबमा परेको छ । व्यवसायीले यससँग जुध्न विभिन्न पहलसमेत थालेका छन् । एप्पल, अमेजन जस्ता कम्पनीले आफ्नो आपूर्ति शृंखला र उत्पादन केन्द्रहरू चीनबाट भियतनाम, भारत र अमेरिका सार्दै लगेका छन् । ट्यारिफकै भयका कारण एप्पलले गत साता भारतबाट करिब १५ लाख आइफोन अमेरिका फिर्ता ल्याएको रोयर्टसले खुलासा गरेको थियो ।

सूचना प्रविधि क्षेत्रका कतिपय अर्बपतिले ट्रम्पका अस्थिर नीतिगत घोषणाहरूको आलोचना गरिरहेका छन् । जेपी मोर्गन चेजका प्रमुख जेमी डिमनले चीनसँगको व्यापार युद्ध र प्रतिबन्धले मुद्रास्फीति बढाउने र आर्थिक मन्दीको जोखिम निम्त्याउने टिप्पणी गरेका छन् । ट्रम्पका निकट इलन मस्कले समेत ट्यारिकका विषयमा ह्वाइट हाउसका व्यापार सल्लाहकार पिटर नभारोप्रति आफ्नो दिक्दारी प्रकट गरेका छन् । टेस्लाको बोर्ड सदस्यसमेत रहेका मस्कका भाइ किम्बल मस्कले पनि ट्यारिफको आलोचना गर्दै यसलाई ‘अमेरिकी उपभोक्तामाथिको संरचनागत, स्थायी कर’ भनेका छन् ।

सूचना प्रविधि उद्यमीहरू ट्रम्पको अघिपछि लागे जस्तो देखिए पनि उनका घोषणाले निकै दबाबमा परेका छन् । ट्रम्प सत्तामा आएयता बजारको उथलपुथल र नीतिगत अस्थिरताका कारण टेक अर्बपतिहरूले संयुक्त रूपमा ४ सय १५ अर्ब डलर गुमाइसकेको फोर्ब्सको विश्लेषण छ । 

यसमा मस्क एक्लैको कुल सम्पत्तिमा १०४ अर्ब डलरले गिरावट आएको छ । अमेजनका प्रमुख जेफ बेजस, गुगलका सर्गे ब्रिन र मेटाका मार्क जकरबर्गको कुल सम्पत्ति पनि उल्लेख्य घटेको ब्लुमबर्गको समाचारमा उल्लेख छ । ट्रम्पले भने सिलिकन भ्यालीले ट्यारिफको समर्थन गरेको दाबी गर्दै आएका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully