प्राधिकरणका कार्यकारी निर्देशक शाक्यद्वारा आगलागी भएको ढल्केबर सबस्टेसन निरीक्षण

वैशाख ४, २०८२

कान्तिपुर संवाददाता

Inspection of Dhalkebar substation where fire occurred by Shakya, executive director of the authority

काठमाडौँ — पछिल्लो एक सातामा मात्रै नेपाल विद्युत् प्राधिकरणको मातातीर्थ सबस्टेसन र ढल्केबर सबस्टेसनमा आगलागी भएको छ । भूमिगत लाइन परीक्षणका क्रममा मातातीर्थ सबस्टेसन र प्रसारणलाइनमा आएको फल्टका कारण सबस्टेसनमा जडित करेन्ट ट्रान्सफर्मर (सिटी) पड्केर ढल्केबर सबस्टेसनको १३२/३३/११ केभी खण्डमा समस्या आएको थियो । प्रि–मनसुनका कारण अत्यधिक हावाहुरी चल्दा हुने प्रसारणलाइन ‘फल्ट’का कारण आगलागी हुने गरेको प्राधिकरणले जनाएको छ ।

प्रसारण लाइनमा ‘फल्ट’ आएकै कारण सबस्टेसनमा जडित करेन्ट ट्रान्सफर्मर पड्किँदा बुधबार धनुषाको जनकपुरधाम, यदुकुवा, धनुषाधाम, सखुवा, महोत्तरीको जलेश्वर, गौशाला, बर्दिबास, सिन्धुलीको भिमानलगायत क्षेत्रमा विद्युत् आपूर्तिमा समस्या आएको थियो । यद्यपि बुधबार नै वैकल्पिक व्यवस्थामार्फत प्रायः स्थानमा विद्युत् आपूर्ति गरिएको थियो ।

आगलागी भएको ढल्केबर सबस्टेसनको अध्ययन र निरीक्षण गर्न बिहीबार कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसहितको टोली ढल्केबर सबस्टेसन पुगेको छ । अचानक आएको प्राविधिक समस्या, त्यस क्षेत्रको विद्यमान लोड (माग र आपूर्ति) को अवस्था तथा यी समस्याको दिगो समाधान गर्ने उद्देश्यले टोली सबस्टेसन पुगेको प्राधिकरणले जनाएको छ । वर्षौंदेखि प्राधिकरणअन्तर्गतका प्रसारण तथा वितरण पूर्वाधार संरचना मर्मत–सम्भार (काम चलाउ) अवस्थामा सञ्चालन गरिँदै आएको प्राधिकरणले बताएको छ । 

Inspection of Dhalkebar substation where fire occurred by Shakya, executive director of the authority

दिगो र भरपर्दो विद्युत् आपूर्ति गर्न पूर्वाधार संरचनाको मर्मत–सम्भार, नयाँ जडानलगायत काम गर्ने र भविष्यमा यस्ता दुर्घटना घट्न नदिने गरी अगाडि बढ्ने योजनाका साथ यसको अध्ययन गरिने प्राधिकरणको भनाइ छ । ढल्केबर देशकै ठूलो सबस्टेसन हो । यहाँ ४०० केभीदेखि ११ केभी (४००/२२०/१३२/३३/११ केभी) सम्मका अलग–अलग सबस्टेसन छन् । सबस्टेसनको १३२/३३/११ केभी खण्डमा मात्रै बुधबार समस्या आएको ढल्केबर ग्रिड महाशाखाका प्रमुख विनोद लोहनीले जनाए ।

निरीक्षणका क्रममा कार्यकारी निर्देशक शाक्यले आगामी दिनमा यस्ता प्राविधिक समस्या दोहोरिन नदिन उच्च सतर्कतासाथ काम गर्न तथा अति संवेदनशील सबस्टेसनमा ‘ब्याकअप सप्लाई’ सहितको व्यवस्था गर्ने गरी कार्ययोजना अगाडि बढाउन निर्देशन दिए ।

सबस्टेसनमा जडित ६३ एमभीए क्षमताका दुई पावर ट्रान्सफर्मरमा २०८१ भदौ १८ मा पनि समस्या आएको थियो । दुई वटा ट्रान्सफर्मरबाट करिब ९० एमभीए विद्युत् भार (लोड) आपूर्ति भइरहेकामा करिब ३ सातासम्म ३० एमभीएको लोड काटिएको थियो । त्यति बेला प्रभावित क्षेत्रको आपूर्तिलाई नियमित गर्न भारतको सुरसन्डबाट ३३ केभी प्रसारण लाइनबाट विद्युत् आयात गरिएको थियो । ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत नेपालले हिउँदमा मागअनुसार आयात र बर्खामा विद्युत् निर्यात गर्दै आएको छ ।

चैत ३१ मा प्राधिकरणको मातातीर्थ सबस्टेसनअन्तर्गतको ११ केभी फिडर लाइनमा विद्युत् आपूर्ति नियन्त्रणका लागि प्रयोग हुने ब्रेकर प्यानलमा आगलागी हुँदा विद्युत् अवरुद्ध भएको थियो । भूमिगत लाइन परीक्षणको क्रममा आगलागी भएको हुँदा यसको सम्पूर्ण जिम्मेवारी निर्माण ठेकेदारले लिनुपर्ने प्राधिकरणले जनाएको छ । ब्रेकर प्यानलको स्विच सञ्चालन गर्ने क्रममा स्पार्क भई आगलागी भएको शाक्यले बताए ।

मातातीर्थ सबस्टेसनमा आगलागी भएको घटनाको अध्ययन गर्न प्राधिकरणले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिले आगामी बुधबार प्रतिवेदन पठाउने र घटनाको वास्तविक तथ्य बाहिर आउने शाक्यको भनाइ छ ।

कान्तिपुर

Link copied successfully