भरतपुरमा रैथाने बजार

वैशाख ३, २०८२

कान्तिपुर संवाददाता

Raithane Market in Bharatpur

चितवन — रेश्मा महतो र सरिता बोटेले केराको थाम (बोट) को रेसादेखि जंगलमा पाइने थाकलको हरिया पात र बरुवाबाट हस्तकलाका विभिन्न सामग्री बनाउँछन् । रेसाबाट ब्याग, पेन होल्डरदेखि चप्पलसमेत उनीहरूले बनाउन थालेका छन् । घरमै तयार भएका यी वस्तु बेच्न भरतपुरमा ‘रैथाने बजार’ सुरु गरिएको छ । 

पटिहानी कमलपोखरी भरतपुर–२२ वडा कार्यालय परिसरमा रहेको घरेलु प्रदर्शनी केन्द्रमा नयाँ वर्षको दिन पारेर सोमबार रैथाने बजार सञ्चालनमा ल्याइएको हो । भरतपुर–२२ का वडाध्यक्ष विष्णुराज महतोले प्रदर्शनी केन्द्रमा रहेका २२ वटा स्टलमा स्थानीय उत्पादन बिक्री गर्न राखिने जानकारी दिए ।

यो बजार प्रत्येक शुक्रबार दिउँसो ३ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन हुनेछ । ‘हामीले बनाएका सामान यहाँ बिक्री हुनेछन् भन्ने आशा छ,’ रेश्मा महतोले भनिन् । रेश्मा र सरिता भरतपुर–२२ पटिहानी बोटे टोलका बासिन्दा हुन् । थारू र बोटे समुदाय चितवनका आदिवासी हुन् । उनीहरूले यसरी रेशा र थाकल, बरुवाबाट हस्तकलाका सामग्री बनाउने तालिम चार महिनाअघि पाएका थिए । 

राप्ती किनारमा ढुंगाहरू राखेर कलात्मक रूपमा बनाइएको ‘स्टोन पार्क’ घुम्न आउनेहरूलाई पनि उनीहरूले रैथाने नै सामग्री बेच्छन् । ‘लालीगुराँस उद्यमी महिला समूहमा हामीसहित २२ जना आबद्ध छौं । सबै जना थारू र बोटे समुदायका मात्रै छौं,’ सरिताले भनिन् ।

स्थानीयका हस्तकलाका साथै कृषि उत्पादन तरकारी, मह, फलफूल, बेसार, मस्यौरा, चिया, दुग्ध उत्पादन घिउ, मही, दही, खुवा, कुरानी, दाल, चामल, गेडागुडी र बेकरीसहित खानाका परिकार बनाएर बेच्नका लागि रैथाने बजार सुरु गरेको वडाध्यक्ष विष्णुराज महतोको भनाइ छ । २१ वर्षदेखि तरकारी खेती गर्दै आएका पटिहानी पदमपोखरीका विष्णु गुरुङ पनि करेला, काँक्रा लिएर रैथाने बजारमा आएका थिए । पदमपोखरीकै सहनशीला बुहारी समूहले धूलो 

बेसार, महलगायत बेच्न राखेको थियो । ‘बजारले स्थानीयलाई आर्जनको अवसर दिने, उत्पादनको बजारीकरणमा सहयोगी हुने, कृषक, उत्पादक र उपभोक्ता सबैको हित हुनेछ,’ भरतपुर महानगरकी मेयर रेनु दाहालले भनिन् । पर्यटकीय होटल कसरा रिसोर्टका महाप्रबन्धक सन्तोष कुँवर पर्यटक रैथाने उत्पादनप्रति आकर्षित हुने बताउँछन् । 

कान्तिपुर

Link copied successfully