काठमाडौँ — नेपालमा लगानी गरेबापत विदेशी लगानीकर्ताले चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म ९ अर्ब ४९ करोड ९६ लाख ९५ हजार रुपैयाँ लाभांश फिर्ता लैजान गरी उद्योग विभागबाट स्वीकृति पाएको छ । विभागका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा ९ अर्ब १ करोड ८४ लाख ४७ हजार रुपैयाँ लाभांश फिर्ता गर्न स्वीकृत गरिएको थियो ।
विभागका अनुसार ९ महिनामा विदेशी लगानीकर्ताले १ अर्ब ४७ करोड २० लाख २२ हजार रुपैयाँ रोयल्टी फिर्ता लैजान स्वीकृति दिएको हो । रोयल्टीबापत ९३ लाख २४ हजार ७३० अमेरिकी डलर, ३८ करोड ३५ लाख ५४ हजार भारु र ६१ हजार ४३१ युरो समेत बाहिर लैजान स्वीकृत गरिएको विभागले जनाएको छ ।
गत आर्थिक वर्षको साउनदेखि चैतसम्म रोयल्टीबापत १ अर्ब ७० करोड १९ लाख ३६ हजार रुपैयाँ, १ करोड ५ लाख ४३ हजार ६३५ अमेरिकि डलर, ५५ करोड ४६ लाख १६ हजार ९७९ भारु र ६१ हजार ४३१ युरो स्वीकृत गरिएको थियो ।
चालु आर्थिक वर्षको चैतमा मात्र लाभांशबापत ४८ करोड १३ लाख ३९ हजार रुपैयाँ स्वीकृत गरिएको विभागको तथ्यांक छ । रोयल्टीबापत ४६ करोड ५२ हजार रुपैयाँ, ५४ हजार ५९१ अमेरिकी डलर र १ करोड ७३ लाख ४० हजार भारु फिर्ता लैजान स्वीकृत गरिएको छ ।
