सुर्खेत — डोल्पाको डोल्पोबुद्ध गाउॅपालिका–१ का ५३ वर्षीय कर्माभुप्टेन तामाङलाई सदरमुकाम दुनै पुग्न एकतर्फी ३ दिन लाग्छ । ‘भौगोलिक विकटताका कारण साघुँरो बाटोमा ज्यानको जोखिम मोलेर सदरमुकाम आउजाउ गर्नुपर्ने बाध्यता छ, सडक नहुँदा खच्चडमा सामान बोकाउनुको विकल्प छैन,’ उनले भने, ‘सदरमुकामदेखि गाउँसम्मको सडक खुले सामानको मूल्यभन्दा दोब्बर ढुवानी भाडा तिरेर खाद्यान्न ढुवानीको बाध्यता अन्त्य हुन्थ्यो ।’
उनले अत्यधिक चिसो र सिँचाइ सुविधा नहुँदा गाउँमा वर्षमा एक बाली उवा मात्र उत्पादन हुने बताए । उनका अनुसार त्यो उत्पादनले ३ महिना पनि खान नपुग्दा झण्डै ९ महिना बाहिरकै खाद्यान्न उपभोग गर्नुपर्ने बाध्यता छ ।
मुगुको मुगमकार्मारोङ गाउँपालिका–१ मुगुगाउँका टासी लामालाई पनि गाउँसम्म सडक जोडिए छोरानातिले सुख पाउथे कि भन्ने आशा छ । ‘हामीलाई त अझै पनि नुनचामलकै दुःख छ,’ उनले भने, ‘गाउँसम्म सडक आए पनि धेरै सुविस्ता हुन्थ्यो ।’
कर्णालीका ७९ मध्ये ६ स्थानीय तहका केन्द्रमा अझै सडक सुविधा छैन । कालीकोटको महावै, डोल्पाको काइके, डोल्पोबुद्ध, छार्काताङसोङ, शेफोक्सुण्डो र मुगुको मुगमकार्मारोङ गाउँपालिकाका केन्द्र अझै सडक सञ्जालमा जोडिन सकेका छैनन् । कर्णालीका ७ सय १८ वडामध्ये अझै ७३ वडा कार्यालयसम्म सडक सुविधा पुगेको छैन ।
जसका कारण स्थानीयलाई खाद्यान्न, दैनिक उपभोग्य सामग्री र कृषि उत्पादनको ढुवानीका लागि खच्चड र भरियाकै भर छ । सबैभन्दा धेरै समस्या उपल्लो डोल्पाका ३ स्थानीय तहलाई भएको डोल्पोबुद्ध गाउँपालिका उपाध्यक्ष पेम्माधोर्चे गुरुङले बताए । उनका अनुसार २०७५ सालमा सदरमुकाम दुनैमा सडक पुगेसँगै सरकारले चीनसँग सडक जोड्नेगरी भेरी करिडोर निर्माणको काम अघि सारेको थियो ।
‘अहिले पनि हामीलाई पालिकाको केन्द्र धोदेखि सदरमुकाम पुग्न ३ देखि ५ दिन हिँड्नुपर्छ,’ उनले भने, ‘ठेकेदारको बेवास्ताले हामीले सास्ती पायौं, करिडोरको जिम्मा सेनालाई नदिँदासम्म सडक निर्माणले गति लिने अवस्था छैन ।’ उनका अनुसार चीनतर्फ मरिम नाकाबाट तिन्जे हुदै धोसम्म ६५ किलोमिटर सडक निर्माण गरिए पनि दुनैदेखि तल्लो डोल्पासम्म सडक सञ्जाल नजोडिँदा सास्ती भोग्नुपरेको उनले गुनासो गरे ।
माथिल्लो डोल्पाका ३ वटा पालिकाले पनि झण्डै ४० किलोमिटर सडक निर्माण गरिसकेको उनले जानकारी दिए । डोल्पाको काइके गाउँपालिका अध्यक्ष अंगदकुमार रानाले भेरी करिडोरको निर्माणमा ढिलाइ हुँदा पालिका अझै पनि सडक सञ्जालमा नजोडिएको बताए । उनका अनुसार पालिकाको केन्द्रसहरतारा पुग्न दुनैबाट कम्तीमा ६ घण्टा हिँड्नुपर्ने बाध्यता छ । करिडोरअन्तर्गत डोल्पा सदरमुकाम दुनैदेखि काइके गाउँपालिकाको लसिक्यापसम्मको २५ किलोमिटर सडकमा सूर्य/श्रेया/शान्तिदेवी जेभीले ३ वर्षदेखि काम गरिरहे पनि ढिलाइ गरिरहेको छ ।
उसले १३ करोड बजेटमा २०७८ चैत १७ गते ठेक्का सम्झौता गरेको थियो । ठेकेदार कम्पनीलाई आगामी पुस १६ सम्मको म्याद दिइए पनि अहिलेसम्म कम्पनीले १५ प्रतिशत मात्र काम गरेको भेरी करिडोर आयोजना प्रमुख सुनिल रञ्जितकारले बताए । उनका अनुसार कडा चट्टान र भीर भएकाले लसीक्यापदेखि सिसौलसम्मको ३५ किलोमिटर खण्डमा नेपाली सेनालाई जिम्मा दिने सरकारको तयारी छ ।
सेनालाई जिम्मा दिनेबारे मन्त्रिपरिषद् बैठकले निर्णय गर्न बाँकी रहेको उनले जानकारी दिए । सडक निर्माणका लागि नेपाली सेनाले प्रारम्भिक स्थलगत अध्ययन गरी प्रतिवेदन रक्षा मन्त्रालय हुँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाइसकेको छ । उक्त सडक बने डोल्पोबुद्ध गाउँपालिकाको सीमाबाट चीनको मरिम्ला जोडिन्छ भने सेफोक्सुन्डो गाउॅपालिकाको साल्दाङसॅग तिब्बतको क्याटो जोडिन्छ ।
कर्णालीमा जाजरकोटका ७८ वडामध्ये ७, सल्यानमा ८३ मध्ये ३, सुर्खेतमा ९९ मध्ये १, दैलेखको ९० वडामध्ये २ र रुकुम पश्चिममा ७३ मध्ये १ वडामा अझै सडक सुविधा पुगेको छैन । कालीकोटमा ८२ वडामध्ये १३ मा सडक सुविधा छैन । अझै पनि ३ वडा कार्यालयसम्म सडक नहुँदा कृषिजन्य सामग्रीले बजार पाउन नसकेको नरहरिनाथ गाउँपालिका उपाध्यक्ष कमलबहादुर शाहले बताए । हुम्लामा ४४ वडामध्ये १३ वटामा सडक सुविधा पुग्न नसकेको जिल्ला समन्वय समिति प्रमुख शिवराज शर्माले बताए । त्यस्तै डोल्पामा १५, जुम्लामा ४ र मुगुमा १४ वडा कार्यालयसम्म सडक पुग्न नसकेको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको तथ्यांक छ ।
मुगुलाई चीनसँग जोड्ने गमगढी–नाक्चेनाग्लाको काम पूरा नहुँदा मुगमकार्मारोङ गाउँपालिकाको एउटा वडा मात्र सडक सञ्जालमा जोडिएको अध्यक्ष छिरिङक्याप्ने लामाले बताए । उनका अनुसार गमगढीबाट ६८ किलोमिटर दूरीको यो सडक पूरा भए पालिकाका सबैजसो वडामा सडक जोडिन्छ । तर अहिलेसम्म १६ किलोमिटर वडा नं. ९ को छाइलसम्म मात्र सडकको ट्रयाक खोलिएको छ । २०६२ फागुनदेखि सडक निर्माणको काम सुरु गरिएको थियो ।
‘सडक बने ह्याजीमारबाट २/३ घण्टामै गाडीमा तिब्बतको ल्हासा जान सकिन्छ,’ उनले भने, ‘नाकासम्म मोटरबाटो खुले दुई देशबीच व्यापार बृद्धि हुने थियो ।’ ८० करोड रुपैयाँ लागत अनुमान गरिएको सडकमा अहिलेसम्म १२ करोड रुपैयाँ खर्च भएको छ । सडक सुविधा नहुँदा मुगमकार्मारोङको किम्री, कार्ति, ताखा, खारी, मुगु, डोल्फू, चितै, रिउस र पुवागाउँका स्थानीयलाई मोटर चढ्न पनि कम्तीमा २ दिन हिँड्नुपर्ने बाध्यता भएको किम्रीका धनारगोल्बु लामाले बताए ।
‘गाउँमा कहिले सडक पुग्ला र हाम्रो दुःख अन्त्य होला ?,’ उनले भने, ‘चिसो ठाउँ भएकाले पालिकाभरि एक बाली उवा मात्र फल्छ, त्यो अन्नले ३ महिना पनि पुग्दैन, बर्षेनि खाद्यान्न अभाव भोग्न बाध्य छौं, सडक पुगे कम्तीमा पेटभरि खान त पाइन्थ्यो ।’ उनका अनुसार खच्चड, घोडा र चौरीमा बोकाएर लगिएको एक बोरा चामल ६ हजार रुपैयाँमा खरिद गर्नुपर्ने बाध्यता छ । जबकी त्यही ३० किलोको एक बोरा चामल सदरमुकाम दुनैमा २ हजार २ सयदेखि २ हजार ५ सय रुपैयाँमा पाइन्छ । घोडाखच्चडले प्रतिकिलो १ सय रुपैयाँमा गाउँसम्म सामान ढुवानी गर्ने गरेको उनले गुनासो गरे ।
भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका अनुसार कर्णालीभरि ७ हजार ४ सय १ किलोमिटर कच्ची सडक छ । त्यसमध्ये १ हजार २ सय ६५ किलोमिटर कालोपत्रे र १ हजार २० किलोमिटर ग्राभेल गरिएको छ ।
