५७ अर्ब ९७ करोड ५४ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता

चालु आर्थिक वर्षमा सबैभन्दा बढी फागुनमा १७ अर्ब ७९ करोड ८६ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता

वैशाख २, २०८२

कान्तिपुर संवाददाता

57 billion 97 billion 54 lakh foreign investment commitment

काठमाडौँ — चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म ५७ अर्ब ९७ करोड ५४ लाख ७३ हजार रुपैयाँ विदेशी लगानी (एफडीआई) प्रतिबद्धता आएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ३० अर्ब ११ करोड ८५ लाख १७ हजार रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको थियो ।

स्वचालित मार्ग (अटोमेटिक रुट) भन्दा अप्रुभल रुटबाट सबैभन्दा बढी विदेशी लगानी प्रतिबद्धता आएको उद्योग विभागको तथ्यांक छ । स्वचालित मार्ग (अटोमेटिक रुट) बाट २२४ उद्योगमा २ अर्ब ८९ करोड ७९ लाख रुपैयाँ र अप्रुभल रुटबाट २५६ उद्योगमा ५५ अर्ब ७ करोड ७४ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । 

गत वैशाखमा तेस्रो लगानी सम्मेलनबाट विभागले स्वचालित मार्गमार्फत विदेशी लगानी स्वीकृति हुने प्रणाली कार्यान्वयनमा ल्याएको थियो । वैदेशिक लगानी स्वीकृति पत्र इमेलमार्फत आवेदन दिनेबित्तिकै प्राप्त गर्न सकिने र त्यसका आधारमा कम्पनी दर्ता गर्न सकिने प्रणाली स्वचालित मार्ग हो । यस मार्गबाट कुल पुँजी ५० करोड रुपैयाँसम्म हुने उद्योग व्यवसायमा स्वदेशी तथा विदेशी लगानी गर्न सकिने विभागले बताएको छ । सूचना प्रविधिमा आधारित उद्योगमा भने न्यूनतम सीमा लागू हुँदैन ।

चैतमा मात्रै १३ अर्ब ३१ करोड ५१ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको विभागको भनाइ छ । चालु आर्थिक वर्षमा सबैभन्दा बढी फागुनमा १७ अर्ब ७९ करोड ८६ लाख रुपैयाँको विदेशी लगानी प्रतिबद्धता आएको थियो । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको फागुनसम्म ८ अर्ब ४९ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ५ अर्ब ६३ करोड रुपैयाँ भित्रिएको थियो ।

विदेशी लगानी प्रतिबद्धता बढे पनि भित्रने रकम न्यून रहेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । प्रतिबद्धता आएको सबै विदेशी लगानी सोही अवधिमा आउँछ वा आउनुपर्छ भन्ने नीतिगत व्यवस्था नरहेको सरोकारवाला बताउँछन् । गत आर्थिक वर्ष नेपालमा ५ अर्ब ९६ करोड १३ लाख रुपैयाँ मात्र एफडीआईबाट भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । उक्त अवधिमा कुल ७ अर्ब ७६ करोड ८६ लाख विदेशी लगानी भित्रिए पनि १ अर्ब ८० करोड ७३ लाख रुपैयाँ बराबर पुरानो लगानी बाहिरिएको थियो ।

आर्थिक वर्ष २०७८/७९ मा २९५ वटा उद्योगमा ५४ अर्ब १५ करोड रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको थियो । सरकारले विदेशी लगानी स्वीकृत गर्दा लगानीकर्तालाई चरणबद्ध रूपमा (किस्तामा) लगानी भित्र्याउने अनुमति दिने गरेको समेत सरोकारवालाको भनाइ छ । प्रतिबद्धता तथा स्वीकृत रकम एकै पटक नभित्रिनेसमेत सरकारी अधिकारी नै बताउँछन् ।

कान्तिपुर

Link copied successfully