घट्न थालेको सुनको मूल्य एकाएक बढ्यो

मूल्यमा कीर्तिमान, प्रतितोला १ लाख ८६ हजार रुपैयाँ

वैशाख १, २०८२

राजु चौधरी

The price of gold, which started to fall, suddenly increased

काठमाडौँ — नेपाल सुनचाँदी व्यवसायी महासंघले चैत २१ मा सुनको मूल्य निर्धारण गर्दा अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस मूल्य ३ हजार १ सय ४८ डलर थियो । यसअनुसार महासंघले स्थानीय बजारका लागि प्रतितोला १ लाख ८० हजार ३ सय रुपैयाँ तोक्यो । यो मूल्य इतिहासकै उच्च थियो ।

अन्तर्राष्ट्रिय बजारमा भइरहेको आर्थिक, राजनीतिक उथलपुथल र मूल्य उत्कर्षमा पुगेपछि सुनको मूल्य घट्न थाल्यो । चैत २६ मा अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुन ३ हजार डलर कायम भयो । महासंघले स्वदेशी बजारका लागि प्रतितोला १ लाख ७३ हजार ४ सय रुपैयाँ तोक्यो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले मूल्य थप घट्ने जनाए । तर चैत २७ देखि मूल्य फेरि लगातार बढ्न थालेको छ । 

‘बजारमा देखिएको अस्थिरताले मूल्य घटाउँदै थियो । मूल्य घटेर तोलाको १ लाख ६० हजारसम्म झर्ने अनुमान गरेका थियौं,’ सुन विश्लेषक तेजरत्न शाक्यले भने, ‘अहिले फेरि बढ्न थालेको छ । अन्तर्राष्ट्रिय बजारमा अस्थिरता उत्कर्षमा पुगेको छ । अब मूल्य घट्छ या बढिरहन्छ, केही अनुगमन गर्न सक्ने अवस्था छैन ।’ अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस ३ हजार डलरमा आइसकेको सुनको भाउ चैत २९ बिहानसम्म आइपुग्दा बढेर प्रतिऔंस ३ हजार २ सय १३ डलरमा कारोबार भएको थियो । महासंघले यस दिन नेपाली बजारका लागि प्रतितोला १ लाख ८५ हजार रुपैयाँ तोकेको थियो । यो मूल्य पनि इतिहासकै उच्च थियो । 

शुक्रबार राति अन्तर्राष्ट्रिय बजारमा कारोबार बन्द हुँदा प्रतिऔंस सुनको मूल्य ३ हजार २ सय ३८ डलर पुग्यो । त्यसलाई आधार मानेर महासंघले आइतबार स्थानीय बजारमा प्रतितोला १ लाख ८६ हजार रुपैयाँ तोक्यो । यो मूल्यले पनि कीर्तिमान बनाएको छ । ‘अन्तर्राष्ट्रियदेखि स्थानीय बजार सबैतिर मूल्य अकासिएको छ,’ शाक्यले भने । महासंघले आइतबार तोकेको मूल्यका आधारमा उपभोक्ता मूल्य प्रतितोला २ लाख रुपैयाँभन्दा बढी पर्छ । किनभने गहना व्यवसायीले गहना बिक्री गर्दा ज्याला–जर्तीको शुल्क छुट्टै जोड्छन् । उनीहरूले गहनाको डिजाइनअनुसार १२ देखि १८ प्रतिशत अतिरिक्त शुल्क जोडेर उपभोक्ता मूल्य तोक्छन् । 

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा अस्थिरता देखिनुका कारण के हुन् त ? जानकार भन्छन्, ‘पछिल्लो समयमा अमेरिकाले लिएको व्यापार नीति, रुस–युक्रेन युद्ध आदि कारण हुन् । अमेरिका र चीनबीच चर्किएको विवादका कारण पनि विश्वका लगानीकर्ताले सुनमा लगानी गर्न थालेको बताइन्छ । अन्तर्राष्ट्रिय बजारमा देखिएको व्यापारको उचारचढावको प्रभाव घरेलु बजारमा देखिएको शाक्यको भनाइ छ । ‘सुनमा देखिएको अस्थिरताको मुख्य कारण भूराजनीतिक तनाव नै हो । युक्रेन–रुस र इजरायल–हमास युद्ध एउटा कारण हो,’ शाक्यले भने, ‘दोस्रो प्रमुख कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर नीति हो ।’ 

ड्रम्पले चुनावी घोषणापत्रमा तीन कुरालाई प्राथमिकता दिएका थिए–डलरलाई रिजर्भ करेन्सीमा विकास गर्ने, आर्थिक क्षेत्र सुधार गर्ने र युद्धविराम गर्ने । घोषणापत्रका यिनै बुँदाका कारण सुनको मूल्यमा सामान्य गिरावट आउन थालेको थियो । ‘तर त्यसअनुसार हुन सकेन । ट्रम्पले कर नीतिमा फेरबदल गर्दा अन्तर्राष्ट्रिय बजारमा ठूलो हलचल मच्चियो,’ शाक्यले भने, ‘अमेरिकाले चीनमाथि भन्सार शुल्क थप्दा चीनले पनि अमेरिकालाई थप्यो । अब के हुन्छ, अझै अन्योल छ, आर्थिक क्षेत्रमा नराम्रो असर परेकाले सुनको मूल्यमा उताचढाव आयो ।’ 

डलर कमजोर हुँदा सर्वसाधारण सुरक्षित लगानीका लागि धमाधम सुनतर्फ लागेको पनि बताइएको छ । यसले पनि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेको शाक्यको तर्क छ । अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरताले नेपाली बजार पनि अस्तव्यस्त बनेको व्यवसायी बताउँछन् । मूल्यमा देखिएको उत्तारचढावले बजार सुस्त देखिएको उनीहरूको भनाइ छ । 

अहिले कोटा प्रणालीअनुसार वाणिज्य बैंकलाई सुन आयातको अनुमति छ । बैंकहरूले दिनको २० किलो सुन बिक्री गर्न पाउँछन् । त्यो सुन बिक्री गर्न सरकारले ‘सुन बिक्रीवितरण कार्यविधि/निर्देशिका २०६८’ समेत बनाएको छ । 

कार्यविधिअनुसार आयातकर्ता (बैंकहरू) ले ०.५ र व्यवसायीले ०.५ प्रतिशत (बैंक र व्यवसायी गरी १ प्रतिशत) मुनाफा लिन पाउँछन् । त्यसपछि मूल्यमा प्रिमियम चार्ज (फ्रेड चार्ज, बिमा) का रूपमा ०.२ देखि ०.५ प्रतिशत जोडिन्छ । त्यस्तै १० प्रतिशत भन्सार लाग्छ । 

अन्तर्राष्ट्रिय बजारको मूल्य र विनियम दरका आधारमा मूल्य निर्धारण गरिन्छ । तर महासंघले तोक्ने मूल्यमा सुन बिक्री नभएको उनीहरूको भनाइ छ । सुनको भाउ बढ्न थालेपछि सर्वसाधारण सुन बिक्री गर्न आउन थालेको व्यवसायीले जनाएका छन् । ‘अहिले बजार बर्बादीको अवस्थामा छ, व्यवसायीको सुन बिक्री भएको छैन । सर्वसाधारणले बेच्न आउने क्रम पनि बढेको छ,’ एक व्यवसायीले भने, ‘अहिले प्रतितोला १० हजार सस्तोमा पनि सर्वसाधारणको गहना किन्न सकिने अवस्था छैन । माग र आपूर्तिका आधारमा मूल्य तोक्ने गृहकार्य भइराखेको छ ।’

राजु चौधरी चौधरी कान्तिपुरमा उद्योग, वाणिज्य तथा आपूर्ति एवं उपभोक्ता, कृषि तथा आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully