दक्षिण एसियाली मुलुकका ड्रोनविज्ञ नेपालमा

तीनदिने सम्मेलनमा दक्षिण एसियाली मुलुकका ४५ जना विज्ञले विश्वभर ड्रोनमा भएका नीतिगत व्यवस्था र प्रयोगको अनुभव साझा गरे

वैशाख १, २०८२

कान्तिपुर संवाददाता

South Asian drone expert in Nepal

काठमाडौँ — विकसित मुलुकमा मानव–पाइलटको उपस्थितिबिनै आकाशमा उड्ने यन्त्र ड्रोनको विस्तार तीव्र छ । तर दक्षिण एसियाली मुलुकले यो प्रविधिबाट अझै सामूहिक लाभ उठाउन नसकेको विज्ञले बताएका छन् ।

विश्व बैंक, कोरिया–वर्ल्ड बैंक पार्टनरसिप फेसिलिटी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले काठमाडौंमा बुधबारदेखि आयोजना गरेको तीनदिने ‘दक्षिण एसिया ड्रोन फोरम–२०२५’ मा सहभागी बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलंकाबाट सहभागी सरकारी अधिकारी, नागरिक उड्डयन क्षेत्रका प्रतिनिधि, उद्योगी, अनुसन्धानकर्ता, नवप्रवर्तकलगायतले एसियाली मुलुकले ड्रोनको महत्त्व अझै बुझिनसकेको दाबी गरे । एसियाली मुलुकमा ड्रोनको दर्ता प्रक्रिया, कानुनी झन्झट, तालिमलगायतका विषयमा अझै अन्योल रहेको उनीहरूको भनाइ छ । 

नेपालमा वन्यजन्तुको सिकार रोकथाम गर्ने उद्देश्यले सन् २०१२ देखि ड्रोनको प्रयोग गरिएको पर्यटन मन्त्रालयमा कार्यरत एरोनटिकल इन्जिनियर तनुजा पोखरेलले बताइन् । त्यसपछि सन् २०१५ को भूकम्पमा विदेशी मिडियाले ड्रोनको अत्यधिक प्रयोग गरेको उनले जनाइन् । नेपालमा ड्रोन सञ्चालनमा एकद्वार प्रणाली छैन । ड्रोन उडानमा स्थानीय सरकार, निकुञ्ज, प्रशासन, गृह मन्त्रालय, पर्यटन मन्त्रालय, प्रहरीलगायत थुप्रै निकायले चासो राख्छन् । 

‘नेपालमा ड्रोनको दर्ता प्रक्रिया अलि झन्झटिलो देखिन्छ,’ विश्व बैंकका विपद् तथा जोखिम व्यवस्थापनविज्ञ वसन्त पौडेलले भने, ‘यहाँ एउटा निकायबाट ड्रोनको अनुमति लिएपछि अर्कोमा अनि फेरि अर्कोमा घुमिरहनुपर्ने झन्झट छ ।’ नेपालमा ड्रोनबारे छुट्टै ऐन–कानुन नै छैन । ‘नेपालमा ड्रोन उडाउन मिल्ने तोकिएको कुनै क्षेत्र छैन । हाम्रो देश ड्रोन निषेधितजस्तै छ । अनुमति लिएपछि मात्रै ड्रोन उडाउन पाइन्छ,’ ड्रोन इकोसिस्टम नेपालका उपसंयोजकसमेत रहेका पौडेलले भने, ‘भारतमा रातो, हरियो र पहेंलो रङले क्षेत्र 

छुट्याइएको छ । रातोमा उडाउनै पाइँदैन । हरियोमा छुट पाइन्छ । नेपालमा कसैले ड्रोन विकास गरे कता उडाउने ? त्यस प्रविधिको जाँच कसले गर्ने ?’

विकसित मुलुकले पूर्वाधार निरीक्षण, पर्यावरण निगरानी, औषधि, खाना वा कार्गो सामान डेलिभरी सेवामा ड्रोनको प्रयोग गर्दै आएका छन् । सुरक्षा निकायले युद्ध निगरानी र सुराकीमा पनि ड्रोनको प्रयोग गरिरहेका छन् । चीनले ड्रोनबाट बालीहरूको निगरानी, मल–औषधि छर्किन र माटो जाँच्न कृषिमा ड्रोनको अत्यधिक प्रयोग गरिरहेको छ । प्राकृतिक विपद्मा सहयोग पुर्‍याउन, भूकम्प, बाढी, आगलागीजस्ता विपद्मा ड्रोनको प्रयोग गरेर फोटो खिच्न, उद्धार गर्न राहत सामग्री पुर्‍याउन पनि ड्रोनको प्रयोग बढ्दो छ । चलचित्र निर्माण, फोटोग्राफीमा पनि यो प्रयोगमा आउने गरेको छ । 

‘ड्रोनको प्रयोगका चुनौती छन् । यसको उपयोगिता पनि धेरै छ,’ विपद् तथा जोखिम व्यवस्थापनविज्ञ पौडेलले भने, ‘नेपालले आयोजना गरेको फोरममा एसियाली मुलुकका प्रतिनिधिले ड्रोन सञ्चालनसँग सम्बद्ध नीतिगत विषयमा अबका दिन एउटा मुलुकले अर्को मुलुकलाई नीतिगत र प्राविधिक विषयमा सघाउने समझदारी भएको छ ।’

सम्मेलनमा सहभागी दक्षिण एसियाली मुलुकका ४५ जना विज्ञले विश्वभर ड्रोनमा भएका नीतिगत व्यवस्था र प्रयोगको अनुभव नेपालका ड्रोन प्रयोगकर्तामाझ साझा गरे । विश्व बैंकको प्राविधिक सहयोगमा पर्यटन मन्त्रालयले ड्रोनसम्बन्धी कानुन बनाइरहेको छ । सम्मेलनको अन्तिम दिन शुक्रबार ललितपुरको गोदावरीमा नेपाली विद्यार्थी तथा उद्यमीले निर्माण गरेका ड्रोनको प्रदर्शनीसमेत गरियो ।

कान्तिपुर

Link copied successfully