सिद्धार्थको अर्को होटल अब नारायणगढमा

वैशाख १, २०८२

रमेशकुमार पौडेल

Siddharth's next hotel now in Narayangadh

चितवन — सिद्धार्थ हस्पिटालिटीले चितवनको नारायणगढमा पनि आफ्नो सेवा विस्तार गरेको छ। नारायणगढको न्युरोडस्थित सेन्ट्रल पाम होटललाई नयाँ वर्षको अवसर पारेर सोमबारदेखि ‘सिद्धार्थ होटल, चितवन’ को नामबाट सञ्चालनमा ल्याइएको हो।

आफूलाई नेपालकै सबैभन्दा ठूलो हस्पिटालिटी चेन ब्राण्ड दाबी गर्ने सिद्धार्थले यसअघि चितवनको चुम्लिङटार र निकुञ्ज नजिकैको कुमरोजमा पनि होटल सञ्चालन गरिरहेको छ।

सिद्धार्थ बिजनेस ग्रुपका सीईओ कृष्ण न्यौपानेका अनुसार सेन्ट्रल पामका सञ्चालकबाट दीर्घकालीन लिजमा लिएर यो होटल सुरु गरिएको हो। सिद्धार्थ हस्पिटालिटीले पाँच तारेस्तरको सिद्धार्थ भिलासा, चार तारेस्तरको सिद्धार्थ बैभव र तीन तारेस्तरको सिद्धार्थ बाटिका अन्तर्गत देशका विभिन्न स्थानमा होटलहरू सञ्चालन गरिरहेको छ। ‘सिद्धार्थ होटल चितवन’ बैभवस्तरको होटल भएको न्यौपानेले जानकारी दिए।

२०७४ सालदेखि चुम्लिङटारमा सञ्चालित होटल बाटिकास्तरको हो। त्यसैगरी २०८० सालको असोजदेखि कुमरोजमा पर्यटकीय होटल सिद्धार्थ भिलासा वनबास सञ्चालनमा आएको छ। नारायणगढको होटल सञ्चालनमा आएसँगै सिद्धार्थ हस्पिटालिटीका तीनवटैस्तरका होटलहरूले चितवनमा सेवा सुरु गरेका छन्। नारायणगढको होटलमा हाल स्वीट, सुपर डिलक्स र डिलक्स गरी ४४ वटा कोठाहरू छन्।

सिद्धार्थ बिजनेस ग्रुपका अध्यक्ष लक्ष्मण न्यौपानेले निकट भविष्यमै कोठा संख्या थप गरी ६० पुर्‍याइने जानकारी दिए। साइरेन्स क्लब र सेन्ट्रल पाम हुँदै यो ठाउँमा २० वर्षअघि होटल सुरु भएको थियो। २५ रोपनी क्षेत्रफलमा फैलिएको होटल परिसरमा सुपारी, नरिवल, आँप, लिचीजस्ता रूखबिरुवा हुर्केको बगैंचा छ, जसले रिसोर्टको अनुभूति गराउँछ। नारायणगढको पुलचोकबाट नजिकै र नारायणी नदीको किनारमा यो होटल अवस्थित छ।

अध्यक्ष लक्ष्मण न्यौपानेले भने, ‘यो पुल्चोकबाट पाँच सय मिटर पश्चिममा छ। बजार नजिक भए पनि शान्त वातावरणमा बस्न चाहनेहरूका लागि यो होटल उत्तम विकल्प हुनेछ। यहाँ नदी किनारमा चराहरूको चिरबिर सुन्दै उठ्न पाउनुको आकर्षण छ।’ होटलको स्तरोन्नति गर्दा तीनवटा सभा हल तयार हुने, हालको सभा हलको क्षमता पनि बढाइने, स्वीमिङ पुलको स्तरोन्नति गर्ने, स्पासहितको हेल्थ क्लब र पुल साइड बार राखिने उनले बताए।

हाल यहाँ चार सयजना अट्ने सभा हल र ५० जना अट्ने मिटिङ रुम छ। सीईओ कृष्ण न्यौपानेले भने, ‘नारायणगढमा ठूला सभा, सम्मेलन, सेमिनारका साथै विवाहका लागि विदेशबाट, विशेष गरी भारतबाट डेस्टिनेशन म्यारिज सम्पन्न गर्ने केन्द्रको रूपमा यो होटललाई विकास गर्ने हाम्रो लक्ष्य हो।’ देशका अन्य भागमा रहेका होटलहरूमा डेस्टिनेसन म्यारिज सफलतापूर्वक सञ्चालन गरेको अनुभवका आधारमा यो सेवा यहाँ पनि सुरु गरिने उनले बताए।

सीईओ न्यौपानेले थपे, ‘यहाँ त विश्व प्रसिद्ध चितवन राष्ट्रिय निकुञ्ज घुम्न पाउने अवसरलाई जोडेर कार्यक्रमहरू गर्न सकिने प्रचुर सम्भावना छ।’ पुरानो सञ्चालकलाई बुझाउने भाडाबाहेक पनि होटलको स्तरोन्नतिका लागि थप १४ देखि १६ करोड रुपैयाँसम्म लगानी गर्ने योजना रहेको उनले बताए। हाललाई ६५ जनालाई रोजगारी दिएको सिद्धार्थ होटल चितवनले यो संख्या भविष्यमा अझ बढ्ने बताएको छ ।

रमेशकुमार पौडेल पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully